मल्लारानी फुड फेस्टिवलले विकासमा सहयोग पुग्छ

मल्लरानी ,खलंगा र फूड फेस्टिबल

 ज्ञामुराम न्यौपाने
प्यूठान, बैशाख २ गते । प्यूठानको राजनैतिक इतिहासमा मल्लराजा नभएपनि मल्लरानी कसरी हुन पुग्यो? यो प्रस्न हाम्रो आगाडि आउं छ । प्यूठानको महत्वूर्ण पर्यटकीय केन्द्र मानिएको मल्लरानीको नामाकरणबारे विचार गर्दा, प्यूठानमा कुनै मल्लराजा भएको इतिहांस पाइदैन ।
अर्घा, गुल्मीमा भने मल्लराजाहरु थिए । प्यूठानमा उनीहरूको नाता रहेको, वा घुमफिर र अध्ययनको सिलसिलामा मल्लकी रानी त्यो डांडामा आएको हुनसक्ने अनुमान मात्र गर्न सकिन्छ ।


मल्लकी रानी बसेको कारण मल्लरानी नाम रहन गएको १६५५ मीटर उचाइमा रहेको यो भूभाग अत्यन्त मनमोहक लाग्दछ । मल्लरानी धुरीसंगै अगाडी रहेका बुकेनी, कुखुरेगौडा, लुक्का सम्म हामीले यात्रा गर्यौं भने उत्तर तीर सेताम्य हिमश्रृङखला र दक्षीणतर्फ मधेशसम्मको मनोरम दृष्य देख्न सकिन्छ । मल्लारानी डांडा सामरिक हिसाबले पनि महत्वूर्ण रहेको इतिहास पाइन्छ ।

खलंगा खासगरी नेपाल एकीकरणको समयमा पश्चिम तर्फको मुख्य सामरिक केन्द्रकोे रूपमा रहेको थियो। यहां नागरीक बसोवास निषेधित थियो। खलंगा केन्द्रबाट हात–हतियार निर्माण, युद्धको तयारी, सैनिक खटनपटन हूने गर्दथ्यो । हातहतियार निर्माणमा कुशल मानिएका जंग बाहदुर राणाका जिजुबाजे राम कृष्ण कुवर युद्धको समयमा खलंगामा बिरामी परी मरेको भनिन्छ। उनको सम्मानमा जंग बाहदुरका बाजे (कृष्णा कुँवरका छोरा) रणजीत कुंवरले राज्यको लगानीमा शिवालय निर्माण गरिएको बताइन्छ। दैवी शक्तिको उपासना गर्ने उद्देश्यले एकीकरणमा हिँडेका राज्यका मिलिसियाले बिसं १८८२ आसपास भीमसेन मन्दिर, सरस्वती मन्दीर, गणेश मन्दिर, र ब्यारेक भित्र निशान भगवती स्थापन गरेको बिश्वास गरिन्छ ।

भीमसेनको पुजा गर्न सैनिक मिलिसिया मध्येका एक भक्तपुरका नेवार जवानलाई स्थाई पुजारी खटाए पछि खलंगामा नेवारहरूको बसाई सुरु भएको मानिन्छ।
माथी नै उल्लेख गरियो १८९८ पूर्व खलंगामा गैह्र सैनिकलाई घर बनाउने र बसोबास गर्ने अनुमति थिएन। पश्चिम नेपाल एकीकरणको युद्ध सकिएपछि बल्ल १८९८ मा केही र १९०१ मा आम नागरिकलाई खलंगामा बसोबासको अधिकार प्रदान गरिएको रहेछ ।

बसोवास अनुमति पाएपछी खलंगामा व्यवसायीक उद्देश्यले भक्तपुर, पाटन, धुलिखेलबाट नेवारहरु आयको कुरा प्रौढहरुबाट सुन्न पाइन्छ ।
नेवारहरुको आगमन संगै नेवारी संस्कृति अन्तर्गत विस्केट जात्रा, गाठेमंगल, चौमासा भजन, घन्टाकर्ण, लाखेनाच, गाईजात्रा, भदौरे जात्रा, कृष्णजन्माष्टमी, श्रीपञ्चमी आदी सस्कृति भित्रिएका थिए ।

खलंगा र मल्लरानी डाँडा आसपासमा आदिवासी मगरहरु ,नेवारको अलावा बाहुन, क्षेत्री,दमाई, कामीको बाक्लो जातिय उपस्थिति रहेको छ ।
खलंगा नजिकैको गुठकसेरीमा चन्द्र सम्शेर जबराको ससुराली गाउं थियो । उनले ससुरा प्रताप शाहीलाई कर्णेल दर्जा र मैजा दिई दरबार समेत बनाई दिएका थिए। आफ्नो ससुराली गाउँ नजिक १९७५ मा चन्द्र सम्शेरले खलंगामा स्थापना गरेको भाषा पाठशाला प्यूठानको पहिलो शिक्षालय मानिन्छ। आर्य समाजका केही सदस्यहरू राणा शासन उल्टाउने उदेश्यले खलंगामा गुप्तरुपमा राजनैतिक चेतना फैलाउन प्रचारमा आएको कुरा पनि सुन्नमा पाइन्छ। २००७ सालमा खलंगामा महेन्द्र माविको स्थापन गरीएको थियो ।

प्यूठानको सदरमुकाम खलंगामा विद्युत,सडक,बजार , बिद्यालय, क्याम्पस,घना बस्ती र साथमा ठूलो लगानि भयपनी आजकल यो ठाउं सुनसान लाग्छ ।
राज्यको पुनर्संरचनाको नीति अनुरुप गाउंपालिका, नगरपालिकाहरुको स्थापना भयपछी सदरमुकाम खलंगा समस्यामा परेको छ। खलंगालाई कूनै शैक्षिक केन्द्र, तालिम, प्रशिक्षण केन्द्रको रूपमा विकासगर्नु अवस्यक रहेको छ।मल्लरानी र खलंगालाई जोडेर ग्रामीण पर्यटनको पनि उत्तिकै सम्भावना रहेकोछ । नयां वर्ष २०८० को सन्दर्भमा आयोजित प्रथम मल्लारानी फुड फेस्टिवलले खलंगा र मल्लरानीको विकासमा महत्वपूर्ण सहयोग पुराउने आशा गर्न सकिन्छ ।