नेसन्स कपमा ईटालीद्धारा नेदरल्याण्ड्स पराजित, यस्तो छ आठ खेलको नतिजा

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा ईटालीले पहिलो जित निकालेको छ । ईटालीले नेदरल्याण्ड्समाथि कठिन जित निकालेको हो ।

सोमबार राति भएको खेलमा ईटालीले घरेलु टोली नेदरल्याण्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।

ईटालीको जितमा पहिलो हाफमा निकोलो बरेलाले हेडमार्फत एकमात्र गोल गरेका थिए ।

यसअघि पहिलो खेलमा इटालीले बोस्निया एन्ड हर्जगोविनासंग १–१ गोलको बराबरी खेलेको थियो ।

यो जितपछि ईटाली शीर्ष स्थानमा पुगेको छ । सोही समूहको अर्को खेलमा पोल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लियो । उसले बोस्नियामाथि २–१ गोल अन्तरको जित निकाल्यो ।

वेस्टह्यामका विङ्गर कामिल ग्रास्की र कामिल ग्लिकले पोल्याण्डका लागि गोल गरेका थिए । हारिस हाजराडोविकले पेनाल्टीमा घरेलु टोली बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो खेलपछि ईटालीको २ खेलबाट ४ अंक भएको छ । दोस्रो स्थानको पोल्याण्ड र नेदरल्याण्ड्सको समान ३ अंक छ । पुछारको बोस्नियाको १ अंक छ ।

सोमबार राति भएका अन्य खेलको नतिजा–
अष्ट्रिया २–३ रोमानिया
नर्दन आयरल्याण्ड १–५ नर्वे
चेक गणतन्त्र १–२ स्कटल्याण्ड
इजरायल १–१ स्लोभाकिया
काजखस्तान १–२ बेलारुस
अल्बानिया ०–१ लिथुआनिया