श्रमशिविरमा ठगी गर्ने र रुँदै गरेकी महिला

संस्मरण शृङ्खलाको –१३ औ भाग

मोहनविक्रम सिंह
पहिले हाम्रो पार्टीले आर्थिक संकलनको लागि पार्टीका सदस्यहरूलाई श्रमदान गर्न लगाउने गर्दथ्यो । पार्टीको नेतृत्वदेखि पार्टीका सामान्य सदस्यसम्मले श्रमदानमा भाग लिने गर्दथे । त्यस प्रकारका श्रमदान बेग्लाबेग्ले प्रकारका हुने गर्दथे† जस्तै कि बाटो खन्ने, कसैको खेतिपाती गरिदिने, मौसमी चन्दा उठाउने आदि । त्यही प्रकारको एउटा टोलीमा मैले पनि भाग लिएको थिएँ ।

म भैरहवाको—अहिलेको रुपन्देही जिल्लाको नाम त्यो बेला भैरहवा थियो—एउटा श्रमदान टोलीमा सामेल भएको थिएँ । त्यो टोलीको काम बालुवा चाल्ने थियो । हामीले करिब १५ दिनसम्म नदीको तिरमा बालुवा चाल्ने काम गरेका थियौँ । हामीले चालेको बालुवा ट्रकमा हालेर कतै लग्ने गरिन्थ्यो । त्यो टोलीमा मेरो साथमा भएका अन्य सहभागीहरूमा दुर्गा पौडेल, तारा गिरी, भक्ति पाण्डे, सरस्वती थापा, तिलक सुवेदी आदि हुनुहुन्थ्यो । ती सबैमध्ये दुर्गा र म पूरै समय बसेका थियौँ भने अन्य साथीहरू बिच बिचमा केही दिन बसेर आउनेजाने गर्नुहुन्थ्यो । अहिले सबै जनाको नाम याद आएन ।

हाम्रो टोलीले चाल्ने बालुवाको ठेक्का भैरहवाको जिल्ला पार्टी समितिको एक जना सदस्यले लिनुभएको थियो । हामीले त्यो चालेको पारिश्रमिक जम्मा कति रुपैयाँ भएको थियो ? त्यो कुरा हामीलाई थाहा हुन सकेन । त्यो बालुवाको पैसा त्यो साथीले धेरै पल्ट ताकेता गर्दा पनि पार्टीलाई बुझाउनुभएन ।

त्यसरी उहाँले एक प्रकारले हामी सबैको शोषण वा भ्रष्टाचार गर्नुभयो । निश्चय नै हामीले त्यहाँ काम गर्दा हाम्रो चियानास्ता र खानाको व्यवस्था भने उहाँले नै गर्नुभएको थियो ।

त्यो साथी पछि हाम्रो पार्टी छोडेर माओवादीमा जानुभयो । हामीले उहाँलाई त्यही भ्रष्टाचारका लागि कारबाही गरेको हुनाले उहाँ माओवादीमा जानुभएको थियो वा कसरी जानुभएको थियो ? मलाई अहिले त्यो कुराको सम्झना छैन । अहिले उहाँको नाम मात्र सम्झनामा छ तर अब उहाँको निधन भइसकेको छ । त्यसैले मैले अब उहाँको नाम बताएर उहाँलाई बदनाम गर्न चाहन्न ।

—ख—

२०११ सालमा जनकपुरमा अखिल नेपाल किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि खगुलाल गुरुङ, सिद्धिमान जिसी, लङ्कबहादुर थापा, रुमबहादुर पाण्डेसहित हामी बढनीको बाटो भएर नेपालतिर फर्कदै थियौँ । हामी कृष्णनगरबाट बहादुरगञ्जतिर आउदै थियौँ ।

बहादुरगञ्ज आइपुग्नुभन्दा केही पहिले बाटामा बढनीतिर जान थालेका एक जना पुरुष र एक जना महिलालाई भेटायौँ । ती महिला रोइरहेकी थिइन् । हामीले उनीहरूलाई ‘के भएको हो ? किन रुनुभएको हो ?’ भनेर सोध्यौँ । उनीहरूले आफ्नो सबै कुरा हामीलाई बताए ।

ती लोग्नेमान्छेले भारतमा कतै नोकरी गर्दा रहेछन् । उनी छुट्टीमा घरमा आएका रहेछन् । अहिले आफ्नी पत्नीसमेतलाई लगेर भारततिर जान थालेका रहेछन् । बहादुरगञ्जको पुलिसचौकीले ती महिलालाई भगाएर भारतमा बेच्न लैजान थालेको भनेर पक्रेछ र एक दिनसम्म थुनामा राखेछ । एक दिनपछि उनीहरूसित जे जति गहना र पैसा थिए, त्यो सबै लिएर छाडिदिएछ । बाटा खर्चका लागि भने केही पैसा छाडिदिएछ ।

हामीले उनीहरूको कुरा सुनेपछि एउटा योजना बनायौँ । त्यो योजनामा खतरा थियो तैपनि हामीले त्यो योजनालाई कार्यान्वयन गर्ने निश्चय ग¥यौँ । हामीले ती दुवै जनालाई साथै लगेर चौकीतिर आयौँ ।

हामीले आफूलाई दौडाहाटोली बताउने सल्लाह गरेका थियौँ । त्यसअनुसार मलाई दौडाह टोलीको हाकिम, सिद्धिमानलाई कर्मचारी, खगुलाललाई मेरो गार्ड र बाँकी दुई जना साथीहरू सिपाही बताउने सल्लाह भएको थियो ।

चौकीमा पुग्नेबित्तिकै खगुलाल ठुलो स्वरले गर्जिन थाल्नुभयो । उहाँले ‘चौकीमा को को छौ ? हवल्दार को हो ?’ भन्दै हल्ला गर्न थाल्नुभयो । उहाँको स्वर सुनेर नै पुलिसहरू तर्सेर डराए । सबै पुलिसहरू अगाडि आएपछि खगुलालले भन्नुभयो– “तिमीहरू सबैलाई हामीले गिरफ्तार गर्दछौँ । कोही पनि चल्न पाउन्नौँ ।’

पुलिसले सोध्न थाले– ‘हाम्रो के कसुर छ ?’

त्यही बेला रुमबहादुरहरू बाटामा हामीले भेटाएका दुई जना पतिपत्नीलाई ल्याएर आइपुग्नुभयो । ती दुई जनालाई देख्नेबित्तिकै पुलिसहरूले कुरा बुझे र झन् आत्तिए ।

सिद्धिमानले पुलिसहरूलाई हाम्रो परिचय दिँदै भन्नुभयो ः ‘हामी दौडाह हौँ ।’

उहाँले मतर्फ देखाउँदै भन्नुभयो– ‘उहाँ हाम्रो हाकिम हुनुहुन्छ । देशमा भ्रष्टाचार बढेको हुनाले छड्केजाच गर्न सरकारले दौडाह पठाएको हो । अड्डा–अदालतमा काम गर्ने कर्मचारी भ्रष्ट हुन्छन भनेर सरकारले नयाँ युवकलाई हाकिम बनाएर पठाएको छ ।’

त्यो बेला विभिन्न जिल्लामा अन्याय, जालझेल वा भ्रष्टाचारको छानबिन गर्न कैयौँ दौडाह बनाएर पठाइएको थियो । सबैतिर दौडाहको चर्चा थियो । त्यसैले दौडाहको कुरा सुनेपछि पुलिसहरूले सजिलैसित त्यसमाथि विश्वास गरेका थिए ।

सिद्धिमानले हाकिमका लागि आराम गर्न खाट र तन्नाको व्यवस्था गर्न भन्नुभयो र पुलिसहरूले त्यसको व्यवस्था गरे । उनीहरूले चिया र खानाको पनि व्यवस्था गरे ।

सिद्धिमानले सँगै आएका पुरुष र महिलालाई देखाउँदै भन्नुभयो– ‘यी मान्छेहरूको तिमीहरूले के के लुटेका हौ ? यो ठुलो भ्रष्टाचार हो । त्यसका लागि तिमीहरूमाथि कडा सजाय हुन्छ । तिमीहरूको जागिर पनि जान्छ र तिमीहरू जेलमा पनि बस्नुपर्छ ।’

हवल्दारले हात जोड्दै भने ः ‘हामीले कुनै कसुर गरेका छैनौँ । कसुर ठहरिएमा जुन सजाय पनि भोग्न तयार छौँ । हामीलाई हाम्रो थाना तौलिहवामा लैजानुस् । त्यही हामीले आफ्नो बयान दिने छौँ । जे कारबाही गरे पनि त्यहीँ हुने छ ।’

तौलिहवाको थानामा जाने कुरा खतरनाक थियो । त्यहाँ जानेबित्तिकै हाम्रो भण्डाफोर हुन्थ्यो र उल्टो हामी नै जेलमा जानुपथ्र्याे । हवलदारको भनाइको के जवाफ दिने ? म केही अलमलमा परेको थिएँ ।

त्यति बेला खगुलालले ठुलो स्वरले भन्नुभयो– ‘हामी उल्टो बाटो तौलिहवा जान्नौँ । अहिले हामीहरू दाङ जाँदै छौँ । दौडाहको कुनै थानामा जान्न । हामीले लिएको कुनै मुद्दा सिधै बडाहाकिमकहाँ बुझाइदिन्छौँ । तिमीहरूलाई जेलमा हालेर मुद्दा चलाउने भनेर ठाडो आदेश लिएर तिमीहरूलाई बडाहाकिमलाई बुझाइदिन्छौँ ।’

खगुलालको कुरा सुनेर पुलिसहरूको सातोपुत्लो उड्यो । हामीले उनीहरूलाई दाङमा लैजाने वा बडाहाकिमकहाँ बुझाउने जस्तो कुनै काम गर्न सक्दैनथ्यौँ । त्यो समस्याको समाधानका लागि हामीले कुनै उपाय निकाल्नुपर्दथ्यो । मैले सिद्धिमानलाई एक्लै बोलाएर केही कुरा गरेँ र उहाँलाई हवल्दारलाई एकान्तमा लगेर केही कुरा गर्ने सल्लाह दिएँ ।

उहाँले एकान्तमा लगेर हवल्दारलाई भन्नुभयो– ‘हाकिम एकदम कडा हुनुहुन्छ । उहाँले दिएको ठाडो आदेशलाई अड्डा–अदालत वा बडाहाकिमले पनि काट्न सक्दैनन् ।’

उहाँको कुरा सुनेपछि हवल्दारले भनेछन् ः ‘हामीले गल्ती ग¥यौँ । हामीलाई जसरी भए पनि बचाइदिनुप¥यो ।’

त्यसपछि सिद्धिमानले भन्नुभएछ – ‘त्यसको एउटै उपाय छ । तिमीहरूले ती मान्छेहरूबाट जे जति गहना वा पैसा लिएका छौँ, त्यो सबै फर्काइदिनुपर्छ । त्यसो भएमा मैले हाकिम साहेबसित तिमीहरूलाई माफबिन्ती चढाउने छु ।’

त्यसपछि हवल्दारले भारततिर जान लागेका पतिपत्नीबाट लिएका सबै गहना र पैसा फर्काइदिए । त्यसपछि उनीहरू बढ्नीतर्फ लागे । हामीलाई डर थियो, हामी गएपछि पुलिसहरूले उनीहरूका पछि गएर पुनः पक्रने त होइनन् ? त्यसैले उनीहरू गएपछि दुई घण्टासम्म हामी त्यहीँ बस्यौँ र त्यसपछि दाङतिर लाग्यौँ ।