मोहनविक्रमको विचारमा यसरी बन्न सक्छ शक्तिशाली कम्युनिष्ट पार्टी
मोहनविक्रम सिंह
आजको देशको राजनीतिक परिस्थिति र पार्टीको अवस्थाबारे हामी सबै स्पष्ट हुनुपर्ने आवश्याकता छ । सर्वप्रथम त पार्टीलाई कसरी शक्तिशाली बनाउने र कसरी क्रान्तिकारी बनाउने भन्ने विषयमा केही कुरा यहाँ स्पष्ट पार्ने प्रयत्न गरिएको छ । पार्टीलाई शक्तिशाली र क्रान्तिकारी बनाउनका लागि हामीले मुख्यतः चारओटा कुरामा ध्यान दिनुपर्दछ ।
विचारमा स्पष्टता
पार्टीलाई क्रान्तिकारी र शक्तिशाली बनाउने चारओटा कुरामध्ये पहिलो हो– विचारमा स्पष्टता ।
सिद्धान्त, राजनीति सबैमा स्पष्टता पहिलो निर्णयात्मक शर्त हो । विचारमा स्पष्टता भएन भने धेरै प्रकारका समस्या पैदा हुन्छन् । पार्टीमा भड्काव पैदा हुन्छन् । पार्टीमा फुट हुन्छन् । पार्टी कमजोर हुन्छ । त्यसैले विचारमा स्पष्टता सबभन्दा पहिलो कुरा हो ।
विचारमा स्पष्टताका लागि व्यापक अध्ययनको आवश्यकता पर्दछ । विशेष गरेर माक्र्सवादी–लेनिनवादी साहित्यको अध्ययन, समाजवाददेखि साम्राज्यवादसम्मको अध्ययन, पुँजीवाद, सामन्तवाददेखि नयाँ जनवादी क्रान्तिसम्मको अध्ययन, त्यसैगरेर तात्कालिक राजनीतिक प्रश्नबारे अध्ययन जस्ता विषयको व्यापक अध्ययनले नै हाम्रो विचारमा स्पष्टता आउन सक्दछ ।
वास्तवमा विचारमा अस्पष्ट भएका कारणले नै हामीमा धेरै भ्रम पैदा हुन्छन् । विचारमा स्पष्टता आएन भने हामी व्यवहारमा स्पष्ट हुँदैनौँ । राजनीतिमा स्पष्ट हुँदैनौँ । यसरी विचारमा स्पष्टता नभएको अवस्थामा राज्यको राजनीति के हो ? राजतन्त्र के हो ? गणतन्त्र के हो ? सबै कुरा एउटै जस्तो देखिन्छ ।
दक्षिणपन्थी के हो ? क्रान्तिकारी के हो ? दुवै एकै जस्तो देखिन्छ । जस्तो भनौँ, देशमा विभिन्न राजनीतिक पार्टी छन्, उनीहरूका आआफ्ना विचार र सोचाइ रहेका छन् । भनौँ कोही सामन्तवादपरस्त छन् । कोही साम्राज्यवादपरस्त छन् । कोही अमेरिकी साम्राज्यवादपरस्त छन् । यसका कारणले राजनीतिमा कैयौँ भुल र विकृति पैदा हुन्छन् । यसको विषयमा एक एक गरेर चिरेर लैजाने क्षमता हामीलाई केले दिन्छ ? त्यो विचारले दिन्छ । यसकारण पहिलो महत्त्वपूर्ण कुरा विचार नै हो ।
जस्तो तपाई जङ्गलमा जानुस् । सामान्य मान्छे वनतिर गयो भने उसलाई हरिया पात, विभिन्न बोटविरुवा सबै एकै प्रकारका लाग्छन् तर आयुर्वेदको ज्ञान भएको कुनै बैद्य त्यहाँ गयो भने ती सयौँ थरी बिरुवाबिचको अन्तर देख्न सक्छ । उसले कुन विरुवा राम्रो हो ? कुन नराम्रो हो ? कुन स्वास्थ्यका लागि उपयोगी बिरुवा हो, कुन होइन ? यी सब छुट्याउन सक्दछ ।
त्यसैगरी, एकै ठाउँमा जम्मा भएका विद्यार्थीलाई हामीले हेर्ने हो भने ४००÷५०० सबै विद्यार्थीहरू एकै प्रकारका देखिन्छन् । उनीहरूले एकै प्रकारका कपडा लगाएका हुन्छन् तर एउटा राम्रो शिक्षकले हे¥यो भने ती सबै विद्यार्थीका बिचमा अन्तर देख्न सक्छ । यिनीहरूमा कुन विद्यार्थीमा कस्तो क्षमता छ भन्ने कुरा छुट्याउन सक्छ । यसरी जहाँ पनि जुन कुराको अन्तर गर्ने काम हो । त्यो विचारको स्पष्टता वा सम्बन्धित विषयमा राम्रो ज्ञान प्राप्त गरेको मानिसले मात्र गर्न सक्दछ ।
त्यस्तै, हामीले धेरै प्रकारका विचार भएका राजनीतिक शक्तिका बिचमा काम गर्नुपर्छ । धेरै प्रकारका विचारका बिचमा हामीले काम गर्नुपर्छ । यिनीहरूकै बिचमा रहेर सङ्घर्ष गर्नुपर्छ । यो कसरी सम्भव छ ? यो विचारमा स्पष्ट भएपछि मात्रै सम्भव छ नत्र भने हामीलाई माक्र्सवाद पनि उस्तै लाग्छ, पुँजीवाद पनि उस्तै लाग्छ । गाउँका सामान्य तथा पिछडिएका किसानलाई सोध्ने हो भने कम्युनिस्ट पार्टी पनि उस्तै हो, काङ्ग्रेस पनि उस्तै हो भन्ने जवाफ प्राप्त हुन्छ । उनीहरूलाई कसको सिद्धान्त कस्तो हुन्छ भन्ने कुराको केही मतलब हुँदैन । उनिहरूले सजिलै राजतन्त्र पनि उस्तै हो, गणतन्त्र पनि उस्तै हो भनिदिन्छन् । यसरी पहिलो महत्त्ववपूर्ण कुरा हो, विचारको स्पष्टता ।
दृष्टिकोणको प्रश्न
पार्टीलाई क्रान्तिकारी र शक्तिशाली बनाउने दोस्रो महत्त्ववपुर्ण कुरा हो, दृष्टिकोणको प्रश्न ।
कुन मान्छे कस्तो छ भन्ने कुरा उसको दृष्टिकोणको आधारमा पत्ता लाग्दछ । जस्तो भनौँ, कुनै एउटा मान्छे छ । यदि पैसा नै मुख्य ठान्ने त्यो मान्छेको दृष्टिकोण छ भने उसले पैसाका लागि जे पनि गर्न सक्दछ । व्यापार गरेर, चोरी गरेर, जुवा खेलेर, तस्करी गरेर, डकैती गरेर या विदेशमा गएर उसले जसरी पनि पैसा कमाउनेबारे सोच्न सक्दछ ।
विचारमा स्पष्टता भएन भने राजनीतिमा लागेको व्यक्तिमा पनि यस्तै विकृति आउने गर्दछ । दृष्टिकोण सही नभएको व्यक्तिले व्यक्तिगत फाइदाको लागि जुन काम गरे पनि राम्रो थान्दछ । यसरी दृष्टिकोणको आधारमा मान्छेका बिचमा अन्तर देखा पर्छ । दृष्टिकोणले कसैलाई क्रान्तिकारी बनाइदिन्छ । कसैलाई अवसरवादी बनाइदिन्छ । कसैलाई राजावादी बनाइदिन्छ । कोही गणतन्त्रवादी हुन्छ । दृष्टिकोण सही भएन भने ऊ अमेरिकी साम्राज्यवादको पक्षतिर पनि लाग्दछ । भारतीीय साम्राज्यवादको पक्षतिर पनि लाग्दछ । प्रतिगमनको पक्षतिर पनि लाग्दछ । यसरी दृष्टिकोण सही भएन भने मानिस व्यक्तिगत फाइदाको लागि जता पनि लाग्न सक्दछ ।
यसरी को मान्छे कस्तो छ ? कुन पक्षमा छ ? यो कुरा उसको दृष्टिकोणमा भर पर्दछ । जस्तो भनौँ एउटा कम्युनिस्ट ऊ कति इमान्दार हुन्छ; कति सक्रिय हुन्छ; कति अनुशासनमा बस्छ भन्ने सबै कुरा उसको दृष्टिकोणको आधारमा स्पष्ट भइरहेको हुन्छ । एउटा कम्युनिस्टले आफ्नो सारा जीवन पार्टीका लागि, सङ्गठनका लागि, क्रान्तिका लागि समर्पण गर्न सक्छ । अर्काे मान्छे कहिलेकाहिँ यसो मौका पर्दा मात्रै मिटिङमा जाने, कहिलेकसो मात्रै कार्यक्रममा जाने, त्यही पनि गा¥हो मान्ने हुन सक्छ ।
मानिसहरूको बिचमा यति धेरै जुन अन्तर हुन्छ, यो मुख्य गरी दृष्टिकोणकै कारणले हुने गर्दछ† जस्तै ः सामान्य बाह्य रूपमा हेर्दा डा. केशरजङ्ग रायमाझी पनि उस्तै र माक्र्स पनि उस्तै हुन् । दुवै कम्युनिस्ट नेता । सामान्य रूपमा हेर्दा उनीहरू सबै कम्युनिस्ट हुन् तर उनीहरूको बिचमा अन्तर दृष्टिकोणले ल्याइदिएको छ । माक्र्सले आफ्नो क्रान्तिकारी उदेश्यका लागि सारा जीवन समर्पण गरे । त्यसका लागि लडे । बाचुन्जेल त्यसका लागि मिहिनेत गरे तर केशरजङ्ग रायमाझीले त्यसो गरेनन् । उनले एउटा खलनायकको रूपमा काम गरे । उनले लगातार वर्गसङ्घर्षको विरोध गरे । उनले आफ्नो व्यक्तिगत फाइदाका लागि राजावादी विचार अपनाए । अन्तमा गएर पार्टीलाई विघटन गरे । उनी राजपरिषद् स्थायी समितिको सभापति भए । के कुरा गर्दा फाइदा हुन्छ भन्ने उनको सोचाइ रहेका कारण पार्टी, क्रान्ति र गणतन्त्रतर्फ उनको ध्यान जान सकेन ।
यसरी आज हामी यहाँ यति धेरै भेला भएका छौँ । देशमा लाखौँ मानिसले आफूलाई कम्युनिस्ट भनिरहेका छन् तर यी सबैमा को कस्तो छ भन्ने कुरा उसको दृष्टिकोण कस्तो छ ? त्यसैले निश्चित हुने गर्दछ । त्यसैले हाम्रो पार्टीले सही दृष्टिकोणको आधारमा अगाडि बढ्ने कुरामा सधैँ जोड दिने गर्दछ ।
अनुशासनको प्रश्न
पार्टीलाई क्रान्तिकारी र शक्तिशाली बनाउने तेस्रो कुरा हो– अनुशासनको प्रश्न ।
हामीलाई र अवसरवादीलाई छुट्याउने एउटा कसी भनेको अनुशासनसम्बन्धी हाम्रो सोचाइ हो । हामीले कुनै पनि पार्टीको काम गर्दा अनुशासनको आधारमा काम गर्नुपर्दछ भनेर लेनिनले भनेका छन् । माक्र्सको पालामा अनुशासनको कुरा आएन । उनले दर्शनको कुरा लेखे; अर्थशास्त्रको कुरा लेखे; राजनीतिको कुरा लेखे तर सङ्गठन र अनुशासनको सम्बन्धमा उनको ध्यान जान सकेन तर अनुशासनको कुरालाई लेनिनले भने स्पष्ट रूपमा अगाडि सारे ।
जनवादी केन्द्रीयताको आधारमा अनुशासनलाई अगाडि बढाउने, छलफलको स्वतन्त्रता र कामको एकताको सिद्धान्तको आधारमा अनुशासनलाई अगाडि बढाउनुपर्दछ । लेनिनभन्दा पहिले अर्थात् माक्र्सको पालामा सोसलिस्ट र कम्युनिस्टको पार्टी चलाउने तरिका एउटै थियो । कम्युनिस्ट सङ्गठनको अनुशासन अहिलेको नेपाली काङ्ग्रेस पार्टीको जस्तै थियो तर जब लेनिनको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो, यसले एक प्रकारको क्रान्तिकारी दर्शन, क्रान्तिकारी राजनीति, क्रान्तिकारी सङ्गठनात्मक प्रणाली विकास ग¥यो । यो एउटा विरासत भयो । यो एउटा हाँगो भयो ।
अर्काेतिर सोसलिस्टको अर्काे प्रकारको हाँगो सुरु भयो, जसबाट संसारभरका सोसलिस्ट पैदा भए; जस्तै ः भारतको काङ्ग्रेस, नेपालको काङ्ग्रेस, इन्डियाका सोसलिस्ट आदि त्यही प्रकारले अगाडि आए । यिनी र हामीमा कैयौँ प्रकारका भिन्नता छन् । यी भिन्नतमध्यमा अनुशासनको प्रश्नमा भएको भिन्नता एक हो । उनीहरूले प्रायः व्यक्तिगत स्वतन्त्रता भन्दछन् । व्यक्तिगत स्वतन्त्रता भन्नुको मतलब काङ्ग्रेस पार्टीले भन्ने गरेको स्वतन्त्रता जस्तो हो; जसअन्तर्गत आफ्ना विचार बाहिर लैजान पाउने, जुनसुकै ठाउँमा भएपनि पार्टीको आलोचना गर्न पाउने, पार्टीले निर्णय गरेका कुराहरूलाई पालना नगरे पनि हुने यी सबै कार्य गर्न व्यक्ति स्वतन्त्र हुने कार्य काङ्ग्रेस पार्टीभित्र हुने गर्दछ । यो काङ्ग्रेसभित्रको प्रचलन हो । हामी देख्छौँ त्यहाँ गिरिजाप्रसादको आलोचना अर्काे कुनै नेताले गर्न सक्दछ । शेरबहादुर छन् भने शेखर कोइरालाले आलोचना गर्ने गर्दछन् । गगन थापाले आलोचना गर्दछन् ।
त्यसैगरी, काङ्ग्रेसभित्रको अर्काे स्वतन्त्रता भनेको ग्रुप बनाउने स्वतन्त्रता रहेको छ । त्यहाँ हामीले शेरबहादुरको एउटा ग्रुप, शेखरको एउटा ग्रुप–त्यहाँ थुप्रै ग्रुप देख्न सक्दछौँ । त्यो उनीहरूको प्रचलन हो । कम्युनिस्ट पार्टीको प्रचलन यस्तो हुँदैन ।
लेनिनको नेतृत्वमा जुन पार्टी वा क्रान्तिकारी आन्दोलनको विकास भयो; सङ्गठनको विकास भयो; माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणालीको विकास भयो; हामीले पनि जनवादी केन्द्रीयताको आधारमा पार्टी अनुशासन कायम गर्नुपर्दछ ।
हामीले स्वतन्त्रता मान्दछौँ । हामीलाई प्रत्येक कमिटीमा, महाधिवेशनमा छलफल गर्ने अधिकार हुन्छ तर यसको साथसाथै छलफल गरेर निर्णय भएपछि यसमा निर्णय कार्यान्वयन गर्न सबै एकढिक्का हुनुपर्ने हुन्छ ।
त्यसैगरी, पार्टीका अन्य जनवर्गीय सङ्गठनको विषयमा पनि काङ्ग्रेस र हाम्रो बिचमा फरक छ । काङ्ग्रेसका जनवर्गीय सङ्गठन विद्यार्थीहरू हुन् या अन्य सङ्गठन हुन्, उनीहरूले काङ्ग्रेसका नीति, कार्यक्रमको सहजै विरोध गर्न सक्दछन् तर हाम्रो पार्टीमा त्यस्तो हुँदैन ।
पार्टी र जनवर्गीय सङ्गठनको बिचको सम्बन्ध कस्तो हुन्छ ? पार्टी र मोर्चाबिचको सम्बन्ध कस्तो हुन्छ ? भन्ने विषयमा हामी स्पष्ट हुनुपर्दछ । यसका लागि हाम्रो अगाडि लेनिनवादी सङ्गठनात्मक नियम रहेको छ । पार्टीले आफ्नो कार्यलाई अगाडि बढाउनका लागि कैयौँ किसिमको जनवर्गीय सङ्गठन र मोर्चा बनाउने गर्दछ । विद्यार्थी, महिला, जनजाति, किसान, मजदुर जस्ता धेरै सङ्गठन बनाउछ तर काङ्ग्रेसमा यी सङ्गठन छाडा प्रकारका हुन्छन् ।
जहाँ जसले जे पनि गर्न पाउँछ । पार्टीको, नीतिको विरोध गर्न पाउदछ तर कम्युनिस्ट पार्टीभित्र यस्तो गर्ने छुट हुँदैन । कम्युनिस्ट पार्टीका जनवर्गीय सङ्गठनले जनवादी केन्द्रीयताको सिद्धान्त मान्नुपर्दछ । जनवादी केन्द्रीयताले के भन्दछ भने बहुमतको निर्णय सबैले मान्नुपर्दछ । काङ्ग्रेस वा अरू बुर्जवा पार्टीले यो कुरा नमाने पनि हुन्छ । बहुमतले एउटा निर्णय गरेता पनि अर्काेले अर्काे निर्णय गरिदिन्छ ।
जस्तो अहिले हामीले देख्यौँ, गठबन्धनलाई जिताउनुपर्दछ भन्ने सम्बन्धमा काङ्ग्रेसको केन्द्रीय समितिले एउटा निर्णय ग¥यो तर शेखर कोइरालाको ग्रुपले यसलाई मान्न तयार भएन बरु यिनीहरूले गठबन्धनलाई हराउनुपर्दछ भन्नेतिर लागे । जस्तै प्युठानकै कुरा गरौँ । उनीहरूले गठबन्धनका उम्मेदवारलाई हराउने कोसिस गरे । त्यसैगरी बागलुङमा पनि जुन शेखर कोइरालाको पक्ष थियो, त्यसले का. चित्रबहादुर केसीलाई हराउने प्रयास गरे । त्यति मात्रै होइन, उनीहरूले आफ्नै पार्टीका उम्मेदवारलाई समेत हराउने प्रयत्न गरे । यो उनीहरूको छाडापनकै परिणाम थियो ।
यसरी पार्टीको निर्णय विपरीत गए पनि यसलाई काङ्ग्रेसले कारबाही गर्दैन तर हामीले पार्टी निर्णय विपरीत जानेलाई अनुशासनको विषय बनाउने गर्दछौँ र कारबाही पनि गर्ने गर्दछौँ । जस्तै पार्टीको निर्णय नमानेका कारण सांसददेखि लिएर कयौँ कार्यकर्तालाई हाम्रो पार्टीले कारबाही गर्ने गरेको छ अर्थात् हाम्रो पार्टीले गरेको निर्णयलाई हामीले दृढतापूर्वक पालना गर्ने गर्दछौँ । यस प्रकारको कारबाही हाम्रो पार्टीले लेनिनवादी सङ्गठनात्मक पद्धतिअनुरूप नै गर्ने गरेको छ ।
यसरी जब लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्त बनाए; सङ्गठनात्मक प्रणालीको नियम बनाए; छलफलको स्वतन्त्रता र कामको एकरूपताको जुन नीति बनाए; यसलाई लागु गर्न सहज छैन ।
लेनिनले आफ्नो जीवन कालभरि नै यसका लागि ठुलो सङ्घर्ष गर्नुप¥यो । सङ्घर्षको क्रममा वैचारिक तथा साङ्गठनिक रूपमा उनको पार्टीमा फुट भयो ।
मेन्सेभिकहरूले लेनिनको अनुशासनको कुरालाई कडा रूपमा विरोध गरे । रोजा लक्जम्बर्गको कुरा हामीले सुन्ने गरेकै छौँ । उनी एक महान् क्रान्तिकारी महिला थिइन् । उनलाई प्रतिक्रियावादीले हत्या गरेका थिए । उनले पनि लेनिनको अनुशासनको विषयलाई विरोध गरेकी थिइन् । यसरी अनुशासन कायम गर्ने कुरामा लेनिनले ठुलो सङ्घर्ष गरेका छन् । यस विषयमा उनले कैयौँ किताब लेखे । लेख लेखे । अनुशासन किन चाहिन्छ; जनवादी केन्द्रीयता किन चाहिन्छ; बुर्जुवाको भन्दा हाम्रो बेग्लै पद्धति के हो भन्ने कुरामा लेनिनले विशेष जोड दिएका छन् । यसरी लेनिनले कम्युनिस्ट पार्टीमा सही पद्धतिका लागि गरेको सङ्घर्ष विशेष उल्लेखनीय रहेको छ ।
आज हामीले काङ्ग्रेसको जस्तो छाडा प्रवृत्ति, बुर्जुवाको जस्तो व्यक्तिगत स्वार्थको नाममा सबै पार्टीको अनुशासन नमान्नुपर्ने, यस्ता सबै प्रकारका अराजकताको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ ।
आज नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखा परेको अराजकतावादी सोचाइ छाडापन र व्यक्तिवादी सोचाइ हो । यसले आन्दोलनलाई ठुलो क्षति पु¥याइरहेको छ ।
लेनिनको पालामा भनौँ; स्तालिनको पालामा भनौँ; माओको पालामा भनौँ या संसारभरिका कम्युनिस्ट पार्टिमा अराजकतावाद वा अनुशासनविहीनताको प्रवृत्ति निरन्तर देखा पर्दै गइरहेको छ र यसको विरुद्धमा निरन्तर सङ्घर्ष हुँदै गइरहेको छ । हाम्रो पार्टीको इतिहास हेर्ने हो भने यहाँ पनि अराजकतावाद वा अनुशासनविहीन प्रवृत्ति बारम्बार देखा पर्दै आइरहको छ ।
वास्तवमा महाधिवेशनको निर्णय सबैले मान्नुपर्दछ । यो जनवादी केन्द्रीयताभित्रको कुरा हो तर हाम्रो पार्टीबाट फुटेर जानेहरूले महाधिवेशनको निर्णयलाई मानेनन् । आठौँ महाधिवेशनपछि यस्तै भएको छ । यो प्रवृत्ति डा. केशरजङ्ग रायमाझीदेखि पैदा भएको हो । द्वितीय महाधिवेशनमा डा. केशरजङ्ग रायमाझी पार्टीको महामन्त्री बने । पार्टीको बहुमतले गणतन्त्रको सिद्धान्त पारित ग¥यो तर उनले लगातार गणतन्त्रको विरोध गरिरहे । यसले पार्टीमा फुट ल्यायो । यसरी डा. केशरजङ्ग राइमाझीको कालमा जुन प्रवृत्तिको जन्म भयो, त्यो अहिले पनि कायम रहेको छ ।
त्योभन्दा पहिले पार्टीमा अत्यन्तै कडा अनुशासन रहेको थियो । तुलसिलाल पार्टीको एक शीर्षस्थ नेता हुनुहुन्थ्यो । त्यसै बेला कमलराज रेग्मी किसानका एक जुझारु कार्यकर्ता हुनुहुन्थ्यो । प्रथम महाधिवेशनमा कमलराज रेग्मीलाई नल्याइएको भनेर तुलसिलालले केन्द्रीय कमिटिभन्दा बाहिर असम्बन्धित ठाउँमा कुरा गरेकाले उनीमाथि कारबाही गरिएको थियो ।
त्यसबेला पार्टीमा ब्याक वाइटिङ गर्ने, लुजटक गर्ने, गुटबन्दी गर्ने आदि कार्यमा अत्यन्तै कडा नियन्त्रण गरिन्थ्यो तर डा. रायमाझीको पालादेखि महाधिवेशनको निर्णयलाई नमान्ने कुराको थालनी भयो । तृतीय महाधिवेशन, चौथो महाधिवेशन, पाँचौँ महाधिवेशन सबैमा यो प्रवृत्ति बारम्बार देखा पर्ने गरेको छ । छैटौँ महाधिवेशनपछि जब हामीले एकताकेन्द्रसँग एकता ग¥यौँ, यसपछि पार्टीमा अनुशासनविहीनताको अवस्था झन् चरम रूपमा देखा प¥यो । यसैगरी सातौँ महाधिवेशन कालमा पनि अनुशासनविहीन प्रवृत्ति देखा प¥यो । आठौँ महाधिवेशनमा आएर आठौँ महाधिवेशनको निर्णय विपरीत अनुशासनविहीन तत्त्ववले पार्टीलाई दक्षिणपन्थीको आरोप लगाए । उनीहरूले यस प्रकारको विचार असम्बन्धित ठाउँमा प्रकट गर्दै हिँड्न थाले । यही अनुशासनविहीन तत्त्ववकै कारण पार्टीमा फुट आयो ।
लेनिनको पालामा रुसको कम्युनिस्ट पार्टीमा दुईओटा धारा देखा प¥यो ः एउटा कम्युनिस्टहरूको धारा, माक्र्सवादी–लेनिनवादीको धारा र अर्काे पक्ष हो– कङ्ग्रेस पक्षको धारा अर्थात् सोसलिस्टको धारा । त्यो सङ्घर्ष लेनिनको पालामा टुङ्गिएन । लेनिनले त्यसका लागि जीवनभरि सङ्घर्ष गर्नुप¥यो र त्यस विषयमा अहिलेसम्म पनि लगातार सङ्घर्ष गरिरहनु परेको छ । यसकारण पार्टी अनुशासनको प्रश्न अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो ।
वास्तवमा जुन सङ्गठनमा एकता हुँदैन, त्यसले केही काम गर्न सक्दैन । जस्तै हामीले हे¥यौँ नि, नेपाली काङ्ग्रेसका कैयौँ नेताले हारे । किन हारे त ? आफ्नै पार्टीका मानिसले उनलाई हराउन कोसिस गरे । यसकारण यस प्रकारको फुटले जहाँतहिँ नोक्सान पु¥याउँछ । पार्टीमा मात्रै होइन, परिवारमा पनि एकता भएन भने त्यहाँ सारा घरबार बिग्रिन्छ । परिवारका सबै सदस्यले मिलेर, अनुशासनमा रहेर काम गर्ने हो भने त्यो परिवारको चाहे व्यापार होस् वा अन्य कुनै पनि काम सप्रिन्छ । कारखानामा पनि त्यही हुन्छ । विद्यालयमा पनि त्यही हुन्छ । जुन विद्यालयमा राम्रो अनुशासन कायम रहेको हुन्छ, ती विद्यालयका विद्यार्थीले राम्रो परिणाम हासिल गरेका हुन्छन् । मिलिटरीमा हेर्नुस्, जुन मिलिटरीमा राम्रो अनुशासन कायम रहेको हुन्छ, त्यसले राम्रो लडाइँ लड्न सक्छ । यस्तो फलामे अनुशासन भएको मिलिटरीमा आफ्नोभित्रको कुरा जहाँ पायो, त्यही बताउँदै हिँड्दैनन् । बाहिर भन्दै हिँड्ने गर्दैनन् । यसरी एकता सबै क्षेत्रमा कायम रहन्छ । यो एकता अनुशासनको आधारमा कायम रहन्छ ।
अनुशासन केको आधारमा हुन्छ ? विचारको आधारमा । यसकारण सबैभन्दा महत्त्ववपूर्ण कुरा विचार हो । त्यसैले विचारमा स्पष्टता हुनुपर्दछ ।
विचारमाा स्पष्टता भएन भने कैयौँ भ्रम पैदा हुन्छन्; जस्तै ः २०४८ सालमा हामीले चुनावमा बहिस्कार गर्ने वा उपयोग गर्ने भन्ने विषयमा कामरेड चित्रबहादुर केसी र हाम्रोबिचमा मतभेद थियो । हामीले बहिष्कार गर्नुपर्छ भन्यौँ । का. केसीले उपयोग गर्नुपर्छ भन्नुभयो । पार्टीले बहिष्कारको नीति पास ग¥यो तर का. केसीले पार्टीले लिएको बहिष्कारको नीतिलाई मानेर जानुभयो । उहाँले निरन्तर बहिष्कारको पक्षमा उभिएर आन्दोलनलाई सफल बनाउनेतर्फ लागिरहनुभयो । उहाँको मत उपयोग गर्ने रहेको भएता पनि उहाँले इमान्दारिताका साथ पार्टीको निर्णयमा अडिग रहेर बहिष्कारको पक्षमा लागिरहनुभयो । यदि त्यस बेला उहाँले अहिलेका फुटपरस्तले जस्तो गरेको भए अर्थात् यो पार्टीको नीति गलत भयो भन्दै उहाँले उपयोगको पक्षमा प्रचार गर्ने र बहिष्कारको विरोध गरेको भए त्यसको परिणाम के हुन्थ्यो ? यो तरिकाले त पार्टीको काम हुन सक्दैनथ्यो । त्यसैले हामीले जहिले पनि आफ्ना मतभेदका बाबजुद पनि बहुमतका निर्णयलाई मानेर जाने संस्कार सिक्नुपर्दछ ।
जनआधार
पार्टीलाई क्रान्तिकारी र शक्तिशाली बनाउने चौथो कुरा हो– जनआधार ।
पार्टीको नीति जति राम्रो भए पनि यदि हाम्रो जनआधार राम्रो छैन भने हामीले केही पनि गर्न सक्दैनौँ । मुट्ठिभर कार्यकर्ताबाट मात्र क्रान्ति सफल हुन सक्दैन । आन्दोलन सफल हुन सक्दैन । चुनाव जित्न सकिँदैन । बहिष्कार गर्न सकिँदैन ।
अहिले हे¥यौँ भने हाम्रो जनआधार अत्यन्तै कमजोर भएर गएको छ । चुनावमै हाम्रो मत परिणामले पनि यो कुरा प्रष्ट देखाइरहेको छ । देशभरि हामीले जम्मा दुई ठाउँमा मात्र उम्मेदवार खडा गर्न सक्यौँ । हामीले सीमित ठाउँमा मात्रै बल्लबल्ल मत परिणाम हात पार्न सफल भएका छौँ । कसैसँग नमिलेर एक्लै चुनाव लड्ने अवस्थामा हामीले सहजै जित्न सक्ने आधार कहिँ पनि बाँकी रहेको छैन । देशको नक्सा लिएर हेरौँ त, धेरै ठाउँमा हाम्रो सङ्गठन नै छैन । जहाँ सङ्गठन छ, त्यहाँ कमजोर छ । कतिपय प्रदेशमा वा स्थानीय तहमा हामिले जित्न सकेका छैनौँ । यसले हाम्रो सङ्गठनको कमजोर अवस्थालाई देखाउँछ । यस्तो अवस्थामा हामीले काङ्ग्रेससँग प्रतिस्पर्धा गर्नु छ । एमालेसँग प्रतिस्पर्धा गर्नु छ । माओवादीसँग प्रतिस्पर्धा गर्नुछ । अरू पार्टीहरूसँग प्रतिस्पर्दा गर्नुछ ।
हाम्रो राजनीति सही छ; क्रान्तिकारी छ र विचारमा पनि स्पष्टता छ तर विचारमा स्पष्टता भए पनि हाम्रो जनआधार कमजोर छ । देशका धेरै ठाउँमा हाम्रो सङ्गठन छैन । केही साथीहरू अलि अलि होलान् तर बलियो सङ्गठन छैन । तसर्थ अब हाम्रो पार्टीलाई बलियो बनाउनका लागि ध्यान दिनुपर्ने कुरा जनआधार निर्माण पनि महत्त्ववपूर्ण हो ।
पार्टीको समस्या र पार्टीमा देखा परेको विचार
सबैभन्दा पहिले पार्टी र मोर्चाको सम्बन्धबारे स्पष्ट पानुपर्ने अवस्था छ । पार्टी एक्लैले केही काम गर्न सक्दैन । पार्टीले आफ्ना कार्यक्रमलाई लागु गर्नका लागि कैयौँ जनवर्गीय सङ्गठन बनाएको हुन्छ; जस्तै ः विद्यार्थी, मजदुर, किसान, जनजाति, महिला, युवा विद्यार्थी, दलित आदि । यदि लेनिनवादी सङ्गठनात्मक अनुशासन कमजोर भयो भने यी जनवर्गीय सङ्गठनले सही तरिकाले काम गर्न सक्दैनन् ।
अनुशासनलाई दुई प्रकारले हेर्नुपर्ने हुन्छ ः एउटा– पार्टीको अनुशासन र अर्काे– जनवर्गीय सङ्गठनको अनुशासन ।
पार्टीमा केन्द्रीय समिति हुन्छ । क्षेत्रीय ब्युरो हुन्छन् । जिल्ला कमिटी हुन्छन् । सेल हुन्छन् । समर्थक ग्रुप हुन्छन् । यी सबै समितिमा पार्टीको आफ्नै अनुशासन लागु भइरहेको हुन्छ भने अर्काे पार्टीले जनवर्गीय सङ्गठन बनाएको हुन्छ, जसमा पार्टीसदस्य भएका पनि हुन्छन् र कतिपय पार्टीसदस्य नभएका पनि हुन्छन् । यसमा के बुझ्नुपर्दछ भने पार्टीसदस्य भएका साथीहरूले पार्टीभित्रको कडा अनुशासनलाई पालना गर्नुपर्ने हुन्छ अर्थात् पार्टीसदस्य भएका साथीहरूले महाधिवेसनको निर्णयलाई सबैले मान्नुपर्दछ । केन्द्रीय समितिको निर्णयलाई सबैले मान्नुपर्दछ । बहुमतको निर्णयलाई सबैले मान्नुपर्दछ । उच्च कमिटीको निर्णय सबैले मान्नुपर्दछ ।
त्यसैगरी, लेनिनवादी सङ्गठनात्क सिद्धान्तको अर्काे । महत्त्वपूर्ण कुरा छलफलमा स्वतन्त्रता र काममा एकरूपता हो । छलफलको स्वतन्त्रता भन्नुको अर्थ हामीले आफू रहेको कुनै पनि कमिटीमा छलफल चलाउन सक्दछौँ । यसरी हाम्रो छलफललाई कि त बहुमत र अल्पमतको पद्धतिअनुसार टुङ्गो लगाउने गरिन्छ, कि त सहमतिको आधारमा टुङ्गो लगाउने गरिन्छ । जसरी टुङ्गो लागेको भएता पनि त्यो टुङ्गो लागेको कुरालाई हामीले इमान्दारितापूर्वक पालना गर्नुपर्दछ । त्यसमा मतभेद देखाउन पाइन्न । विचारको भिन्नता देखाउन पाइन्न । हामीले एकमत भएर काम गर्नुपर्ने हुन्छ, जस्तै ः चुनावकै कुरा गरौँ । चुनावलाई उपयोग गर्ने टुङ्गो लाग्यो भने हामी सबैले एक भएर चुनावलाई उपयोग गर्ने नीति अपनाउँछौँ । त्यसैगरी, चुनावलाई बहिष्कार गर्ने टुङ्गो लाग्यो भने हामी सबैले एक भएर चुनावलाई बहिष्कार गर्ने नीति अपनाउँछौँ । सङ्घर्ष गर्ने निर्णय भयो भने एकमत भएर सङ्घर्ष गर्दछौँ । विरोध गर्ने निर्णय भयो भने हामी एकमत भएर विरोध गर्दछौँ । यसरी निर्णय गरियो भने यसलाई सबैले इमान्दारिपूर्वक लागु गर्नुपर्दछ ।
त्यति मात्रै होइन, हाम्रा पार्टीको तर्फबाट कैयौँ गाउँपालिका वा नगरपालिकामा जनप्रतिनिधि हुन्छन् । सांसद हुन्छन् । कतिपय लाभका पदमा पार्टीको तर्फबाट कैयौँ व्यक्तिलाई राजनीतिक नियुक्ति गर्ने गरिन्छ । यी सबैले पार्टीका निर्णयलाई पालना गर्नुपर्दछ । त्यसैगरी, हाम्रा जनवर्गीय सङ्गठन तथा मोर्चाहरू; जस्तै ः राष्ट्रिय जनमोर्चा, किसान, युवा, विद्यार्थी आदि सबैले पार्टीको लाइनलाई लागु गर्ने प्रयत्न गर्नुपर्दछ । सबै जनवर्गीय सङ्गठन तथा मोर्चाले पार्टीको मूल नीतिलाई सधैँ समर्थन गरेर काम गर्नुपर्दछ ।
जनवर्गीय सङ्गठन निर्माण गर्दा वा भेला–सम्मेलन गर्दा त्यहाँ दुई प्रकारका मान्छेको उपस्थिति रहेको हुन्छ । एकथरी हुन्छन् पार्टीका सदस्य, उम्मेदवार सदस्य वा समर्थक । यस प्रकारको जनवर्गीय सङ्गठनमा यसरी पार्टीसदस्य मात्र सहभागी हुनुपर्दछ भन्ने केही छैन । यसमा पार्टीभन्दा बाहिरका शुभेच्छुक समर्थक पनि आउन सक्छन् । यसकारण हामीले जनवर्गीय सङ्गठन निर्माण गर्दा बढीभन्दा बढी बाहिरका मानिस राख्ने प्रयत्न गर्नुपर्दछ तर अहिले हाम्रो मुख्य कमजोरी के छ भने हाम्रा जनवर्गीय सङ्गठन निर्माण गर्दा बढीभन्दा बढी पार्टीसदस्य मात्र राख्ने गरेका छौँ । यसले गर्दा हाम्रा जनवर्गीय सङ्गठन कमजोर हुँदै गइरहेका छन् । त्यसैले हामीले जनवर्गीय सङ्गठन निर्माण गर्दा यो विषयमा पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता हुन्छ ।
यसो गर्न सक्यौँ भने सङ्गठनका सम्मेलन वा महाधिवेशनमा चल्ने छलफलमा सहभागीले दुई प्रकारका विचार प्रकट गर्न पाउँछन् ।
जुन पार्टीसदस्य छन्, उनीहरूले स्पष्ट रूपमा पार्टीले दिएको लाइनमा रहेर नै आफ्ना विचार प्रकट गर्नुपर्ने हुन्छ । पार्टीलाइन विरुद्ध जान पाइँदैन तर कैयौँ पटक पार्टीसदस्यले जनवर्गीय सङ्गठनका कार्यक्रममा गएर पार्टीलाइन विपरीत आफ्ना विचार प्रवाह गर्ने कमजोरी पनि देखा पर्ने गरेको छ ।
त्यसैले पार्टीसदस्यले के बुझ्न जरुरी छ भने पार्टीनीति वा लाइनको बारेमा आफ्नो आलोचना, विरोध आदि गर्नुछ भने सम्बन्धित पार्टीका बैठक, भेला–सम्मेलन वा महाधिवेशनमा नै गर्नुपर्दछ । ती ठाउँमा गएर नै पार्टीका नीति बदल्नेबारेमा प्रस्ताव राख्न सकिन्छ तर कुनै जनवर्गीय सङ्गठनको भेला, बैठक वा सम्मेलनमा गएर पार्टीसदस्यले पार्टीको नीति गलत छ भनेर पार्टीको आलोचना गर्ने काम भयो भने त्यो सही हुँदैन अर्थात् त्यो गलत ठाउँमा आफ्नो विचार राखेको ठहर हुन्छ । एउटा पार्टीसदस्यले जुनसुकै ठाउँमा पनि पार्टी नीतिको रक्षा गर्नुमा नै विशेष ध्यान दिनुपर्दछ । पार्टीनीतिलाई नै लागु गर्ने कुरामा ध्यान दिनुपर्दछ । यो लेनिनको समयदेखि नै अपनाउँदै आएको पद्धति हो ।
एमाले माओवादी जस्ता पार्टीले यो पद्धति सबै छाडिसकेका छन् । त्यसकारण ती कम्युनिस्ट पार्टी होइनन् । अनुशासनसम्बन्धी काङ्ग्रेसको कुनै त्यस्तो छुट्टै नियम देखिँदैन । उसले व्यक्तिगत स्वतन्त्रता भन्दछ । त्यसैले काङ्ग्रेसको कुनै सदस्यले कुनै पनि ठाउँमा आफ्नो स्वतन्त्र विचार प्रकट गर्न छुट छ । उसले केन्द्रीय समितिको निर्णय मान्न कुनै जरुरी ठान्दैन । बहुमतको निर्णय मान्न जरुरी ठान्दैन । उनीहरू पूरै खुला हुन्छन् । यो उनीहरूको सिद्धान्तभित्रकै कुरा हो । यस प्रकारको काङ्ग्रेसको जस्तो तरिका कैयौँपटक हाम्रो पार्टीमा पनि देखा पर्ने गर्दछ । यसलाई हामीले हटाउने कुरामा ध्यान दिनुपर्दछ ।
कुनै पनि जनवर्गीय मोर्चा वा सङ्गठनका भेला, सम्मेलन वा बैठकमा पार्टीका नीतिलाई कार्यान्वयन गर्न के गर्ने भन्नेबारेमा पार्टीसदस्य रहेका साथीहरूले छलफल गर्न सक्छन् तर ती ठाउँमा पार्टीका नीति, कार्यक्रम वा योजना गलत छन्, बदल्नुपर्छ भन्न सकिने ठाउँ हुन सक्दैनन् । यी ठाउँ भनेका पार्टीसदस्यले पार्टीको नीति, कार्यक्रम वा योजनाको पक्षमा इमानदारितापूर्वक दृढ रहने ठाउँ नै हुन ।
अर्काे कुरा, यस्ता ठाउँमा पार्टीसदस्य नरहेका पार्टीबाहिरका साथीको पनि सहभागिता रहने गर्दछ तर ती साथीलाई भने आफ्ना स्वतन्त्र विचार प्रकट गर्ने, पार्टीका राजनीतिक वा कार्यक्रमको आलोचना गर्ने जस्ता कुरामा पूर्ण अधिकार रहन्छ । यस्तो अवस्थामा पार्टीसदस्य अर्थात् पार्टीका साथीको काम के हुन्छ भने पार्टीसदस्य नरहेका साथीले राखेका त्यस प्रकारका भिन्न विचारलाई लागु हुन नदिन अर्थात पार्टीको नीति र निर्णयकै पक्षमा विचार प्रकट गर्नुपर्ने हुन्छ । पार्टीको लाइनमा दृढ रहनुपर्दछ । यदि विचारमा मतदानको अवस्था सिर्जना भयो भने पनि पार्टीको विचारमा मतदान गरेर बहुमतले पार्टीलाइनलाई पारित गराउन प्रयत्न गनुपर्दछ ।
पार्टीसदस्यले आफ्ना भिन्नमत राख्ने आफ्नै ठाउँ रहेका हुन्छन् । ऊ बसेको कमिटी हुन्छ । पार्टीको सम्मेलन हुन्छ । पार्टीको महाधिवेशन हुन्छ । यी ठाउँमा आफ्ना कुरा राख्ने पूरा अधिकार हुन्छ तर पार्टीसदस्यलाई जनवर्गीय मोर्चामा आफ्ना स्वतन्त्र विचार राख्ने कुनै अधिकार हुँदैन । यस विषयमा हामी सबैको ध्यान आकर्षित हुन जरुरी छ । कहिलेकाहिँ हाम्रा कुनै मोर्चामा, कुनै मोर्चाका सम्मेलनमा या कुनै जनवर्गीय सङ्गठनमा यस्ता कमजोरी देखा पर्ने गर्दछ । त्यसैले बैठक, भेला, सम्मेलनमा हामीले पार्टीको लाइन के हो र के होइन भन्ने कुरा बुझ्नुपर्दछ र पार्टीको लाइनअनुसार अगाडि बढ्नुपर्दछ ।
तात्कालिक राजनीतिमा उठेको केही विषय
अर्काे कुरा, आज देशको राजनीतिमा कैयौँ प्रश्न उठ्ने गरेका छन् । विरोधीले हाम्रा नीतिको बारेमा कैयौँ प्रश्न उठाउने गरेका छन् ।
आज देशमा उठेको सबैभन्दा महत्त्ववपूर्ण प्रश्न भनेको प्रतिगमनको प्रश्न हो । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण देशमा प्रतिगमनको खतरा बढेको छ भन्ने रहेको छ । प्रतिगमन भन्नुको अर्थ नेपालमा करिब सय वर्षदेखि प्रतिगमनको विरुद्ध आन्दोलन चलिरहेको छ । प्रतिगमन विरुद्ध हामीले सङ्घर्ष गरिरहेका छौँ । नेपालको अहिलेको परिप्रेक्ष्यमा प्रतिगमन विरुद्ध सङ्घर्ष भनेको निरङ्कुशता र राजतन्त्र विरुद्धको सङ्घर्ष हो । यो सङ्घर्ष अहिले पनि चल्दै आइरहेको छ । यो सङ्घर्ष सिद्धिएको छैन ।
फ्रान्समा धेरै लामो समयसम्म प्रतिगमन विरुद्ध सङ्घर्ष चल्यो, अहिले सिद्धियो । बेलायतमा चल्यो, सिद्धियो । अरू देशमा सिद्धियो । ती देशमा प्रतिगामी शक्ति, राजावादी शक्ति पूरै खत्तम भएर गए । अब ती देशमा प्रतिगमन विरुद्ध सङ्घर्षको आवश्यकता छैन । इन्डियामा पनि प्रतिगमनको विरुद्ध सङ्घर्ष छैन । अब त्यहाँ कुनै पनि शक्तिले गणतन्त्र खत्तम पार्नुपर्छ भन्ने आवाज उठाइरहेको छैन तर नेपालको स्थिति त्यो होइन ।
आज हाम्रो देशमा राजतन्त्र कायम गर्नका लागि प्रयत्न भइरहेको छ । देशको गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रलाई स्थापना गर्ने राजनीति बढेर गएको छ । धर्म निरपेक्षतालाई खत्तम गर्नका लागि जनमत सिर्जना गर्ने प्रयत्न भइरहेको छ । यसरी देशमा प्रतिगमनको खतरा सिद्धिएको छैन । यो समस्या झन् झन् अगाडि बढेर गइरहेको छ ।
२००७ सालमा राजनीतिक परिवर्तन भयो । यो परिर्वनले स्थापना भएको व्यवस्था फाल्नका लागि राणा पक्षले सक्रिय भएर काम गरे । राणाको नेतृत्वमा गोरखा परिषद् कायम भयो । विपी गृहमन्त्री भएको बेलामा उनीहरूले विपीमाथि हमला गर्ने प्रयास गरे । विपीलाई खुकुरीले काट्ने प्रयास गरे । २०१७ सालपछि राजा फेरि सत्तामा आए । २०४६ सालमा राजनीतिक परिवर्तन भयो । राजावादीले निरङ्कुश शासन कायम गर्ने प्रयत्न गरे । २०५९ सालमा ज्ञानेन्द्रको निरङ्कुश शासनसत्ता कायम भयो ।
अहिले देशमा गणतन्त्र कायम छ । धर्म निरपेक्षता कायम छ । के अब गणतन्त्र संस्थागत भइसक्यो ? राजावादीले धर्म निरपेक्षता फाल्न वा गणतन्त्र फाल्न कोसिस गरिरहेका छैनन् ? हामीले देखिरहेका छौँ । आज यही विषयमा ठुलो मतभेद भइरहेको छ ।
कैयौँ मानिसले भन्ने गर्दछन्, अब देशमा गणतन्त्र स्थापित भइसक्यो; अब कसैले यसलाई फाल्न सक्दैन तर हामीले देशको संसद्मै देखिरहेका छौँ, जहाँ राप्रपाका मान्छेले भनिरहेका छन्, गणतन्त्रलाई फाल्नुपर्छ; राजतन्त्र ल्याउनुपर्छ । ठिक त्यसैगरी यो विषयको बारेमा दुईतीन वर्षअगाडिदेखि नै “राजा आऊ, देश बचाऊ”, “हिन्दु राज्य कायम गर” जस्ता नारा बेला बेलामा उठाउँदै आएका छन् । अहिले पनि गणतन्त्रको विरोधमा र राजतन्त्रको समर्थनमा जुलुस तथा सभाका कार्यक्रम गर्ने गरेको देख्दै आएका छौँ । पहिला एउटा मात्रै सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज ठुलो सङ्ख्या लिएर संसद्मा उपस्थित भएको छ ।
यसरी आज प्रतिगमनको समस्या गम्भीर रूपमा देखा पर्दै गइरहेको छ । यही विषयमा बैद्य, विप्लवका पार्टीसँग हाम्रो मतभेद हुँदै आएको छ ।
उनीहरूले प्रतिगमनको कुनै खतरा छैन भन्ने तर्क गर्दै आइरहेका छन् तर हामीले भन्छौँ– प्रतिगमनको खतरा अहिले पनि छ । बैद्यहरूको यो भनाइ आजको मात्रै होइन । २०४६ साललगतै हामीले निरन्तर भन्दै आएका छौँ– देशमा प्रतिगमनको खतरा छ । यसको विरुद्धमा हामीले निरन्तर सङ्घर्ष गर्नुपर्दछ । हामीले निरन्तर राजा आउने खतरा छ भनेका छौँ तर बैद्यहरूले राजाको कुनै खतरा छैन भनेका छन् । विगतमा प्रतिगमनको खतरालाई कमजोर आँकलन गर्दै भनेका थिए– ‘राजा त सात कोश टाढा फलामको पिँजडामा थुनिएको छ’ तर पछि २०५९ सालमा त्यही राजा अगाडि आयो । त्यस बेला पनि हामीले बैद्यको प्रतिगमनसम्बन्धी गलत सोचाइकोे खण्डन गरेका थियौँ ।
अहिले पनि देशमा प्रतिगमन छ कि छैन भन्ने विषयमा मतभेद रहँदै आएको छ । हामीले भन्छौँ, प्रतिगमनको खतरा अहिले पनि कायम छ । यस विषयमा हामी सतर्क हुनुपर्दछ ।
प्रतिगमन विरुद्ध सङ्घर्षमा अहिले पनि हामीले जोड दिनुपर्दछ । यसका लागि हामीले के गर्नुपर्दछ ? यसका लागि हामीले प्रतिगमन विरोधी शक्तिसँग एकता गर्नुपर्दछ । त्यस्तो एकता हामीले २०४६ सालमा गरेका थियौँ । त्यतिखेर प्रतिगमन विरुद्धको सङ्घर्षमा एकता गरेर नै हामी अगाडि बढेका छौँ ।
यो एकता हामीले २०६२–६३ सालमा पनि गरेका थियौँ । त्यो समयमा काङ्ग्रेस, माओवादी, एमाले, मधेसवादीसँग एकता गरेर नै हामीले राजतन्त्रलाई फाल्न सकेका थियौँ । त्यो एकताको आवश्यकता अहिले पनि रहेको छ ।
यो जुन प्रतिगमनको खतरा हो, पहिले २०१७ सालमा गोरखा परिषद्द्वारा देखा परेको थियो । पछि गोर्खा परिषद् हटेर गयो । पछि राजा महेन्द्रले ३० वर्ष शासन गरे । २०५९ सालमा राजा निरङ्कुश रूपमा अगाडि आयो । २०६२–६३ सालमा गणतन्त्र कायम भयो । आज फेरि प्रतिगमनको खतरा गम्भीर रूपमा अगाडि आएको छ ।
आज त्यो खतरा २०१७ सालको वा २०५९ सालको भन्दा बढी खतरा छ । किन यो त्यस बेलाको भन्दा खतरा र गम्भिर छ ? किनभने त्यो बेला प्रतिगमनको लागि मुख्य गरी राजावादीे शक्तिको मात्रै बढी जोड थियो तर आज त्यो छैन । आज ओली जस्ता शक्ति त्यसमा सामेल भएका छन् ।
इन्डियामा पहिले भारतिय काङ्ग्रेसको सरकार थियो । भारतीय काङ्ग्रेस गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा थियो । अब भाजपाको सरकार आएको छ । उनीहरू धर्म निरपेक्षताको विरुद्धमा छन् । गणतन्त्रको विरुद्धमा छन् । यी परिवेशलाई हेर्दा देशमा प्रतिगमनको खतरा पहिलाको भन्दा धेरै बढेर गएको छ ।
एउटा कुरा देशका प्रतिगमनको खतरा छ कि छैन भन्ने कुरामा मतभेद छ भने अर्काे कुरा ओली प्रतिगमनको दिशामा गएका छन कि छैनन् भन्ने विषयमा मतभेद छ ।
एमालेलाई हामीले प्रतिक्रियावादी शक्ति भनेका छैनौँ । प्रतिगामी शक्ति भनेका छैनौँ तर उसले प्रतिगामी दिशा समातेको छ । राजावादीसँग साठगाँठ गरिरहेको छ । धर्म निरपेक्षताको विरोध गरेको छ ।
वास्तवमा ओली पहिलेदेखि नै गणतन्त्रको पक्षमा थिएनन् । जब नेपालमा गणतन्त्रको पक्षमा आवाज उठ्न थालेको थियो, त्यसबेला ओलीले भनेका थिए– ‘बयलगाडा चढेर बेलायत पुग्न सकिन्न’ । त्यसकारण गणतन्त्र कायम हुन सक्दैन भन्ने ओलीको भनाइ रहेको थियो । यसरी ओलीको प्रवृत्ति सुरुदेखि नै गणतन्त्रको विरुद्धमा थियो । उनी धर्म निरपेक्षताको विरुद्धमा छन् । सुन चढाएर पशुपतिनाथको पुजा गरे । चितवनमा गएर राममन्दिर बनाएर त्यसको पूजा गरे ।
त्यसैगरी, २०७९ मङ्सिर ४ गतेको चुनावमा हे¥यौँ भने उनको गठबन्धन पूरै राजावादीसँग भयो† जस्तै ः राष्ट्रिय प्रजातन्त्र पार्टी, परिवार दल जस्ता राजावादीसँग उनीहरूको गठबन्धन भयो । यसरी ओलीको नेतृत्व पूरै प्रतिगामी दिशामा गएको छ । त्यसकारण यो विषयमा मतभेद जन्मिरहेको छ ।
हामीले ओलीलाई प्रतिगामी शक्ति भनेका छैनौँ । प्रतिगामी शक्ति भन्नु र प्रतिगामी दिशा लिनु भन्नु बेग्लै हो । हामीले ओलीलाई प्रतिगामी दिशा समातेको भनेका छौँ । यो विषमा देखा परेको मतभेदको सन्दर्भमा हाम्रा कैयौँ साथीहरूमा पनि अस्पष्टता देखा पर्ने गरेको छ ।
कैयौँ साथीहरूले नेपाली काङ्ग्रेससँग गठबन्धनको विषयलाई गलत भएको तर्क दिइरहेका छन् । नेपाली काङ्ग्रेस हाम्रो दुस्मनशक्ति हो । यसले विगतमा हामीमाथि कैयौँ दमनकारी नीति अपनाएको थियो । यस्तो पार्टीसँग गठबन्धन गर्नु सही हुँदैन भन्ने तर्क धेरै ठाउँँबाट उठ्ने गरको छ । अहिलेको परिस्थितिमा यस प्रकारको सोचाइ राख्नु सही हुँदैन ।
वास्तवमा कम्युनिस्ट पार्टीको नीति दुस्मनशक्तिसँग सधैँ लडाइ मात्र हुन्छ भन्ने हुँदैन । कतिपय परिस्थितिमा दुस्मनशक्तिसँग मिल्ने नीति पनि हुने गर्दछ, जसलाई हामीले संयुक्तमोर्चाको नीति भन्ने गर्दछौँ ।
हामीले संसारमा कैयौँ कम्युनिस्टले दुस्मनशक्तिसँग मिल्ने नीति लिएको पनि देखेका छौँ । हिटलरको विरुद्ध लड्का लागि स्टालिनले अमेरिकी साम्राज्यवाद, ब्रिटिस साम्राज्यवाद जस्ता शक्तिसँग संयुक्तमोर्चाको नीति अपनाएका थिए । यदि स्तालिनले यस प्रकारको नीति नअपनाएको भए हिटलरले रुस कब्जा गर्ने थियो र हिटलरको फासिवाद वा साम्राज्य संसारमै शक्तिशाली भएर अगाडि बढ्ने थियो । त्यसैगरी, माओले पनि चीनमा च्याङकाइसेकसँग एकता गर्नुभयो ।
२०४६ सालमा हामीले काङ्ग्रेससँग मिलेर नगएको भए पञ्चायत फाल्न सम्भव हुने थिएन । ठिक त्यसैगरी २०६२–६३ सालमा हामीले काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादीसँग एकता गरेर सङ्घर्ष नगरेको भए राजतन्त्र फालेर गणतन्त्र ल्याउन सम्भव हुने थिएन । ठिक यसै गरेर जब ओलीले प्रतिगमनको बाटो समाते, त्यस बेलामा काङ्ग्रेस, माओवादी—यी सबैसँग मिलेर हामीले सङ्घर्ष नगरेको भए हामीले ओलीको प्रतिगमनकारी कदमलाई रोक्न सफल हुने थिएनौँ । यस विषयमा हाम्रा साथीहरूमा भ्रम छ । विशेष गरी नेपाली काङ्ग्रेससँगको गठबन्धन किन गरेको भन्ने कुरामा भ्रम छ ।
कैयौँ साथीहरूले यस विषयमा अगाडि आएको राजनीतिलाई देख्दैनन् । देशको अवस्था के छ ? त्यो हेर्दैनन् । केवल नेपाली काङ्ग्रेस हाम्रो दुस्मनशक्ति हो भन्ने कुरालाई मात्र देख्दछन् । कैयौँ साथीहरूले हाम्रो आठौँ महाधिवेसनको नीतिको बारेमा कुरा गर्दछन् । आठौँ महाधिवेसनले नेपाली काङ्ग्रेसलाई प्रतिक्रियावादी भनेको छ र दुस्मनशक्ति भनेको छ । यसको साथसाथै आठौँ महाधिवेसनले के पनि भनेको छ भने आवश्यकता प¥यो भने नेपाली काङ्ग्रेसँग पनि कार्यगत एकता र सहकार्य गरेर जानुपर्दछ तर यस विषयमा धेरै भ्रम पैदा भएको छ; जस्तै ः गण्डकीमा भ्रम पैदा भयो । त्यहाँ हामीले एमालेको सरकार विरुद्धको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेका थियौँ । त्यहाँका एक जना सांसदले समर्र्थन नै गर्नुभएन । वास्तवमा त्यहाँ हाम्रा साथीहरूले समर्थन नगरेको भए एमालेको सरकार फाल्न सम्भव हुने थिएन । त्यसकारण गण्डकीमा एक जना सांसदलाई हामीले कारबाही गर्नुप¥यो । सांसद्बाट हटाउनुप¥यो ।
नेपाली काङ्ग्रेस हाम्रो दुस्मनशक्ति हो । यो कुरा हामीलाई थाहा छ तर पनि नेपाली काङ्ग्रेसलाई हामीले कार्यनीतिक दृष्टिकोणले पनि हेर्नुपर्दछ । आजको देशको राजनीतिक आवश्यकताको आधारमा हेर्नुपर्दछ । आवश्यकता परेको बेलामा दुस्मनशक्तिसँग पनि एकता गर्नुपर्दछ भन्ने माक्र्सवादी–लेनिनवादी सिद्धान्त छ । त्यसको आधारमा हामीले काम गर्नुपर्दछ ।
अर्काे एउट गम्भीर प्रश्न रहेको छ । त्यो हो– अमेरीकी साम्राज्यवादको प्रश्न । यसमा कतिथ राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा कुरा उठ्ने गरेको छ । यो पार्टी अमेरिकापरस्त हो कि होइन ? यो अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित पार्टी हो कि होइन ? सिआइएद्वारा सञ्चालित हो कि होइन ? हामीले यो कुरा बुझ्न जरुरी छ ।
वास्तवमा अहिले संसारमा अमेरिकाले कैयौँ देशमा आफ्नो पार्टी बनाउँदै हिडेको छ । उसको एउटा नीति रहेको छ ः घुसपैठ गर्ने, जस्तै ः नेपाली काङ्ग्रेसमा उसले थुप्रै आफ्ना मान्छे घुसाएको छ । त्यसैगरी देशको राजनीतिमा असर पार्ने गरी उसले कयौँ मान्छे लगाइरहेको छ । हामीले हे¥यौँ, अमेरिकामा गएका नेपालीले घन्टीको समर्थन गर्ने गरेका छन् । विदेशमा गएका धेरैले घन्टीको पक्षमा प्रचार गरे ।
जब नेपालमा हामीले एमसिसीको विरोध गर्दै थियौँ, त्यस बेला अमेरिकामा एमसिसीको पक्षमा कार्यक्रम भए । त्यसमा नेपालीलाई व्यापक सहभागी बनाइयो । अमेरिकाले आफ्नो राजनीति क्रिस्चियन धर्मको माध्यमबाट पनि अगाडि सार्ने गरेको छ । अमेरिकाको भ्वाइस अफ अमेरिका भन्ने सञ्चार माध्यमबाट नेपालको राजनीतिमा प्रभाव पार्ने गरी लगातार राजनीतिक प्रचार गर्ने गरेको छ ।
कुनै जमानामा क्रिस्चियन धर्मले सामन्ती व्यवस्था वा त्यसका अधिनायकत्वको विरुद्धमा ठुलो भूमिका खेलेको थियो । पछि विस्तारै क्रिस्चियन धर्म साम्राज्यवादी शक्तिको स्वार्थपूर्ति गर्ने एउटा माध्यम बनेको छ । उनको साम्राज्य विस्तार गर्ने साधन बनेको छ क्रिस्चियन धर्म ।
हामीले सबै क्रिस्चियन त्यस्ता हुन्छन् भनेर भन्न सक्दैनौँ । यो एउटा धार्मिक विषय हो । कैयौँले हिन्दु धर्म मान्दछन् । त्यस्तै, कसैले क्रिस्चियन त कसैले मुस्लिम धर्म मान्दछन् । यो धर्म आस्था र विश्वासको कुरा हो । यसरी धार्मिक आस्था र विश्वासको आधारमा कसैले कुनै धर्म मान्ने कुराको हामीले विरोध गर्दैनौँ तर कुरा त्यति मात्रै होइन ।
जस्तै ः हिन्दु धर्मको कुरा गरौँ । हिन्दु धर्मको माध्यमबाट राजावादीले राजतन्त्रको पुनःस्थापना गर्ने प्रयत्न गरिरहेका छन् तर हिन्दु धर्म मान्ने सबैले राजतन्त्र पुनः स्थापना गर्नुपर्छ भन्दैनन् । वास्तवमा नेपालमा गणतन्त्र ल्याउनका लागि, राजतन्त्र फाल्नका लागि सबभन्दा ठुलो भूमिका कसको रहेको छ ? हिन्दुकै रहेको छ । देशका बहुसङ्ख्यक जनता हिन्दु नै छन् । उनीहरूले राजाको विरुद्धमा ठुलो सङ्घर्ष गरेका छन् । वास्तवमा हामी कम्युनिस्ट मुट्ठिभर नै हौला । मुसलमान अल्पसङ्ख्यक छन् । बौद्धमार्गी अल्पसङ्ख्यक छन् । त्यसैले नेपालमा राजतन्त्र फाल्ने सबभन्दा ठुलो भूमिका हिन्दुकै रहेको छ । देशभरि किसान मजदुर छन् । महिला छन् । युवक छन् । विद्यार्थी छन् । यीमध्ये धेरैजसो त हिन्दु नै छन् तर उनीहरू सबै सङ्घर्षमा उत्रिए । त्यसकारण हिन्दु सबै राजावादी हुन् भनेर हामीले भन्दैनौँ ।
यसरी नै क्रिस्चियन हँुदैमा सबै साम्राज्यवादी हुन सक्दैनन् तर कुरा यति मात्रै हो कि अहिले साम्राज्यवादले ठुलो सङ्ख्यामा क्रिस्चियनलाई आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्ने कार्यमा उपयोग गर्ने प्रयास गर्दै आएको छ । त्यसकारण अमेरिकाले धर्मको नाममा यो देशमा आफ्नो साम्राज्य विस्तार गर्ने वा प्रभाव कायम गर्ने प्रयत्न गर्दै आएको छ ।
अर्काे कुरा, अमेरीकाको रणनीति के हो ? अमेरिकाको विश्वव्यापी रणनीति रहेको छ, कम्युनिस्टलाई खत्तम पार्ने । चाहे रुस हो्स, चाहे चीन होस्, चाहे युरोप होस्, चाहे इन्डिया होस्, जहाँ होस्, जताततै त्यहाँका कम्युनिस्टलाई समाप्त पार्न अमेरिकाले सयकडौँ प्रकारका षड्यन्त्र गरिरहेको छ ।
इन्डियामा गरिरहेको छ । अरू देशमा गरिरहेको छ । त्यसैगरी, उसले नेपाललाई पनि छाडेको छैन । नेपालमा पनि धर्मको माध्यमद्वारा उसले आफ्नो प्रभुत्व कायम गर्न धेरै प्रयत्न गर्दै आएको छ ।
नेपालमा जब राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट चुनावमा राजनैतिक पार्टी देखा प¥यो, त्योभन्दा पहिले नेपालमा क्रिस्चियन धर्मको राजनीतिक चरित्र स्पष्ट रूपमा देखा परेको थिएन तर यो चुनावमा सारा क्रिस्चियनले स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्न थाले । सबैले गरेनन् होला, कतिपय क्रिस्चियनले हामीलाई पनि सहयोग गरे होलान् । कैयौँले माओवादी, काङ्ग्रेसलाई पनि सहयोग गरेका होलान् । कैयौँले एमालेलाई गर्न सक्छन तर बहुसङ्ख्यक क्रिस्चियनले स्वतन्त्र पार्टीका उम्मेदवारलाई घोषित रूपले नै सहयोग गरेको पाइयो । जहाँ अरू पार्टीका उम्मेदवार छन्, त्यहाँ उम्मेदवारलाई सहयोग गरे, जहाँ उम्मेदवार छैनन्, त्यहाँ स्वतन्त्र पार्टीलाई भोट हाले ।
नेपालमा मात्रै होइन, संसारभरिका साम्राज्यवादी शक्तिले नेपालको स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टीमा भोट हाल्ने वातावरण बनाउन थाले अर्थात् नेपाली जहाँ जहाँ छन्, चाहे अमेरिकामा होउन्, चाहे युरोपमा होउन्, जापानमा होउन् या खाडी देशमा होउन्—सबैले नेपालमा रहेका आफ्ना इष्टमित्र तथा नाता पर्नेहरूलाई घन्टीमा भोट हाल्नलाई खबर पठाउन थाले । यो अमेरिकी साम्राज्यावादी जालोको असर हो ।
विश्वमा आफ्नो अनुकूलका पार्टी बनाउने अमेरिकाको रणनीतिअनुसार नेपालमा उसले स्वतन्त्र पार्टी बनाउने नीति अपनायो । यसका लागि उसले पैसाद्वारा मदत गर्दछ । इसाई धर्मको माध्यमद्वारा मदत गर्दछ ।
अर्काे कुरा, अमेरिकाले राजनीतिक पार्टीमा पनि कम्युनिस्ट विरोधी वातावरण तयार पार्न बारम्बार प्रयत्न गर्दैै आएको छ ।
हामीले नेपालमा एमालेलाई कम्युनिस्ट मान्दैनौँ । माओवादीलाई कम्युनिस्ट मान्दैनौ तर उनीहरूको दृष्टिकोणमा यी सबै कम्युनिस्ट भन्ने रहेको छ । कीर्तिनिधि विष्ट जस्ता मान्छेलाई पनि उनीहरूले कम्युनिस्ट नै मानेका थिए । अहिलेको चुनावमा पनि सकेसम्म कम्युनिस्टलाई हराउन पूरै प्रयत्न गरेका थिए ।
काङ्ग्रेसभित्रको एउटा पक्ष अमेरिकी साम्राज्यवादी नीतिअनुरूप बढी कार्य गरिरहेको छ† जस्तो ः शेखर कोइरेला पक्ष यो भूमिकामा देखा परेको छ ।
शेखर कोइराला, गोविन्द पोखरेल, गगन थापालगायतले अमेरिकी साम्राज्यवादी शक्तिको पक्षमा काम गरिरहेको अवस्था छ । जहाँ जहाँ कम्युनिस्ट पक्षधर उम्मेदवार छन्, त्यहाँ त्यहाँ शेखर कोइराला पक्षले कम्युनिस्टलाई हराउन पूरै प्रयत्न गरे† जस्तै ः बागलुङमा कामरेड चित्रबहादुर केसीले जित्नुभयो । यदि त्यहाँ शेरबहादुर पक्ष इमान्दार नभएको भए उहाँले जित्ने सम्भावना थिएन तर प्युठानमा हे¥यौँ भने त्यहाँ शेखर कोइराला पक्षले हाम्रो उम्मेदवारलाई पूरै हराउने प्रयत्न गरे । जस्तै अमर थापाकै कुरा गरौँ । त्यहाँ शेखर कोइराला पक्षको बाहुल्यता हुन्थ्यो भने अमर थापालाई जिल्ला समन्वय समितिको प्रमुखमा यति सहजै समर्थन गर्न सक्दैनथे । प्युठानमा शेखर कोइराला र गोविन्द पोख्रेलको पक्ष बलियो अवस्थामा भएकाले उनले हामीलाई पूरै हराउने प्रयत्न गरे । त्यसैगरी अन्त पनि उनीहरूले यहि तरिका अपनाए ।
चुनावका बेला शेखर कोइराला र कथित स्वतन्त्र पार्टीको बिचमा गठबन्धन भएको थियो† जस्तै भनौँ चितवनको चुनावमा, जहाँ कथित स्वतन्त्र पार्टीका उम्मेदवार थिए । यसरी कथित स्वतन्त्र पार्टीको उम्मेदवार बनेको ठाउँमा शेखर, गगन थापाहरू गएर स्वतन्त्र पार्टीको प्रचार गरिदिए । त्यसैगरी, गगन थापाको उम्मेदवार रहेको ठाउँमा कथित स्वतन्त्र पार्टीका उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिने काम गरे । यसरी शेखर कोइराला पक्ष र कथित स्वतन्त्र पार्टीले मिलेर चुनावमा काम गरे ।
अर्काे कुरा, सरकारमा पनि अमेरिकी पक्षलाई लैजाने उनीहरूको दाउ थियो । शेखर कोइराला पक्षले सकेसम्म शेरबहादुर पक्षलाई कमजोर बनाउने कुरामा नै जोड दिने गरे । चुनावको बेला गगन थापालाई प्रधानमन्त्रीको ताबेदारीको रूपमा व्यापक रूपमा प्रचार गरे । शेखर कोइराला पक्षले शेरबहादुर पक्षका उम्मेदवार सबैलाई हराउनका लागि पूरा कोसिस गरे तैपनि उनीहरूको बहुमत हुन सकेन । यसरी अमेरिकी पक्षलाई सत्तामा लैजाने कुरा असफल भयो ।
पछि उनीहरूको अर्काे जोड रह्यो । त्यो के भने राष्ट्रपतिको चुनावमा काङ्ग्रेसभित्रको शेखर कोइराला पक्षले राष्ट्रपति शेरबहादुरलाई बनाउनुपर्छ भन्ने कुरामा जोड दियो । यसको पछाडि उनीहरूको षड्यन्त्र लुकेको थियो । यदि पाँच वर्षका लागि शेरबहादुर राष्ट्रपति भएको खण्डमा यसबाट शेखर कोइरालाई फाइदा हुन पुग्दथ्यो अर्थात् काङ्ग्रेसको पालो आएको खण्डमा शेखर कोइराला पक्षले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्न सक्दथ्यो । शेखर कोइरालाको पक्षले प्रधानमन्त्री हुनुको सिधा अर्थ नेपालमा सरकारको नेतृत्व सिधै अमेरिकी पक्षको हुन जान्थ्यो । यसरी कैयौँ तरिकाले अमेरिकी साम्राज्यवादले नेपालमा षड्यन्त्रको जालो बुनिरहेको छ । एकपटक कान्तिपुरमा युवराज घिमिरेको एउटा अन्तर्वार्ता आएको थियो । उनले के भनेका थिए भने पहिले अमेरिकाले भारतको माध्यमबाट नेपालमा आफ्नो प्रभाव कायम गर्ने कोसिस गर्दथ्यो, अब नेपालमा अमेरिका सिधै आउन थालेको छ । उनी एक वरिष्ठ पत्रकार हुन् ।
वास्तवमा यो कुरा हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । पहिले अमेरिकाले भारतमार्फत् नेपालमा आफ्नो राजनीति लैजाने प्रयत्न गर्दथ्यो । आफ्ना साम्राज्यवादी नीतिलाई लैजाने प्रयत्न गर्दथ्यो । अब ऊ सिधै आउन थालेको छ र ऊ आफ्नै पार्टी बनाएर आउन थालेको छ भनेका थियौँ । अमेरिकाको अहिलेको मुख्य समस्या इन्डो–प्यासिफिक रणनीति हो । यो कुरा सबैलाई थाहा भएकै कुरा हो कि अहिले चीनसँग अमेरिकाको प्रतिस्पर्धा निकै नै बढेर गएको छ, सैनिक रूपले पनि, राजनीतिक रूपले पनि र आर्थिक रूपले पनि । त्यो प्रतिस्पर्धा भएकाले अमेरिकाले चीनको विरुद्ध पूरै नाकाबन्दी गर्ने कोसिस गरिरहेको छ ।
हामीलाई थाहा छ, रुसमाथि नाकाबन्दी गर्न साम्राज्यवादीहरूले नाटो बनाएका थिए । त्यो अहिले पनि छ । अहिले अमेरिकाले चीनलाई घेर्नका लागि इन्डो–प्यासिफिकअन्तर्गत यस क्षेत्रका सबै देशमा आफ्नो प्रभुत्व कायम गर्ने, त्यहाँ आफ्नो सैनिक सङ्गठन कायम गर्ने गरिरहेको छ । यसका लागि अमेरिकाले नेपाललाई पनि महत्त्वपूर्ण क्षेत्रको रूपमा हेरिरहेको छ किनकि नेपाललाई तिब्बतसँग जोड्नुपर्दछ । तिब्बतमा आफ्नो प्रभाव जमाउन अमेरिकाले धेरै प्रयत्न गर्दै आएको छ । तिब्बतबाट दलाई लामासहितका खम्पालाई नेपालमा ल्याएर राखेको थियो । पछि यहाँको सरकारले उनीहरूलाई यहाँबाट हटाइदियो । पछि उनीहरू भारतको देहरादुनतर्फ लागे ।
आज नेपालको तटस्त नीतिले अमेरिकाको रणनीतिलाई धेरै असर पु¥याइरहेको छ । यस प्रकारको नेपालको तटस्त नीतिलाई समाप्त गर्ने र नेपाललाई इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत सामेल गर्ने एमसिसीको मुख्य उद्देश्य हो । एमसिसी पास गर्नका लागि अमेरिकाले काङ्ग्रेस, माओवादी सबैलाई हातमा लिने काम ग¥यो ।
अमेरिकाले सबै माध्यम प्रयोग गरेर नेपालमा आफ्नो प्रभाव कायम गर्ने कोसिस गरिरहेको छ । उसले प्रचण्ड जस्ता, माधव नेपाल जस्ता, नेपाली काङ्ग्रेस जस्ता सबैलाई तर्साएर, फकाएर वा अनेक उपाय अपनाएर उपयोग गर्ने कोसिस गर्दै आइरहेको छ । यसरी अमेरीकी साम्राज्यवाद हाम्रो देशको लागि खतरा बनेर देखा परेको छ । यही सिलसिलामा हामीले नेपालका सम्पूर्ण पार्टीलाई हेर्नु पर्दछ ।