“समयको एक क्षण”

जसरी बर्षाका लागि बादल , फूलका लागि सुगन्ध , जीवनका लागि चेतना र प्रकाशका लागि सूर्यको जुन महत्व छ सोही महत्व मानव जीवनमा समयको छ। “समय ” निरन्तर बहिरहने अमूर्त गति हो । यो द्रुतगामी छ। समय अतीतबाट वर्तमान हुँदै भविष्यतिर प्रवाहमान भइरहेको छ। यसले मौका वा अवसरलाई बुझाउँछ। समय , सेकेन्ड, मिनेट , घण्टा, दिन , रात र बर्ष हुँदै कुदिरहेको छ। यो अनन्तदेखि अनन्ततातिर अखण्ड रुपमा अविभाज्य छ। यही अनन्तता भित्रको बिन्दुमा प्राणीहरू अस्तित्ववान् हुन्छन् र विलीन् हुन्छन्। समय निकै मूल्यवान र महत्वपूर्ण हुन्छ । समयको महत्व भन्नाले समयको सदुपयोग वा जीवनलाई समयको गतिसँगै हिँडाउन सक्नु हो।

जसले समयको मूल्य र महत्वलाई बुझ्न सक्छ त्यही मानिस नै अस्तित्ववान् हुन्छ। उसले नै सुन्दर भविष्यको निर्माण गर्न सक्छ र आफ्नो जीवनलाई सार्थक तुल्याउन सक्छ। अन्यथा समयको अँगालोमा अस्तित्व विहीन बन्न पुग्दछ। समय गतिवान् हुन्छ। भनिन्छ, समय आँउछ पर्खन्न , खोला बग्छ फर्कन्न । हुन पनि हो, यसलाई न रोक्न न फर्काउन नै सकिन्छ। तिनीहरुले मात्र समयको गतिलाई पक्रन सक्छन् , जसले समयको गतिमा आफूलाई हिँडाउन सक्छन् । समय निकै महत्वपूर्ण हुन्छ। समयको महत्व बुझ्नेले उत्कृष्ट कलाको सृजना गर्न सक्छ , वैज्ञानिक आविष्कारक बन्न सक्छ , देश र जनताको लागि जीवन समर्पण गरेर युगौँयुगसम्म बाँच्न सक्छ।

पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको समयलाई बुझेर राष्ट्रनिर्माता भने , भानुभक्तले नेपाली भाषाको उत्थानको समयलाई बुझेर भानु बनी उदाए , मोतीराम मोतीबनी चम्के , देवकोटा महाकवि बनी चम्किला किरण बर्साए तर समयको महत्व नबुझ्ने धर्तीको भार भई समयको चक्रभित्र विलिन पुग्छन् । बुद्धिमान् मानिस समयको महत्वलाई बुझि काव्यकला र सिर्जनामा समय बिताउँछ भने मूर्ख मानिस जुवातास खेलेर झगडा र निद्रामा समय व्यतीत गर्दछ । समाजमा समय कसरी काट्ने भनेर हल्लिदै हिँड्नेहरु पनि प्रशस्त छन्। उनीहरू हल्लिएर गएको समयलाई फुर्तीसाथ समय बिताएको ठान्दछन् तर समयको मुखमा कसरी निलिँदै गइएको छ भन्ने के थाहा! यो बुझ्नु जरुरी छ कि हामीले समयलाई होइन, समयले हामीलाई बिताइरहेको हुन्छ। आज समय बिताउनेहरूले नै राष्ट्र र समाजलाई भ्रष्ट बनाएका हुन्।

जीवन बहुमूल्य छ । यो समय बिताउनका लागि होइन , यो त समयसँग हिँड्न हो । धार्मिक दृष्टिले पनि मानव जीवनबाट मुक्ति पाउनका लागि यस जीवनको महत्वको समयलाई बुझ्न सक्नु हो र परोपकार र सत्मार्गमा जीवनलाई हिँडाउनु हो। समय अति बलवान् हुन्छ। यो प्राचीनताबाट आधुनिकतातिर लम्किरहेको हुन्छ। पुरानो पुस्ताले नयाँ पुस्ताको समयलाई बुझ्न सक्नु पर्छ। व्यक्ति ,समाज र राष्ट्रले नै समयको गतिलाई पक्डन सक्नुपर्छ। हामीलाई भैरव अर्यालले भनझैँ भोलिवादी प्रवृत्तिले गाँजेको छ । आज हुने कामलाई भोलिभोलि भनी पर सार्छौ ।

राजाको काम कहिले जाला घाम भन्ने प्रवृत्ति उच्च ओहोदामा बसेकाहरुको छ अनि कसरी देश र देशवासीको उन्नति र प्रगति हुन्छ! आज अमेरिका , जापान , चीन आदि राष्ट्रहरुले समयको गतिलाई पछ्याए र विकासका शिखरतिर बढिरहेका छन् ; तर हामी नेपालीहरुले समयको गतिलाई पछ्याउन सकेनौँ र पछि परिरहेका छौँ। त्यसैले हामी अहिलेको २१ औँ शताब्दीमा पनि ३०० वर्ष पछि छौँ र १७ औँ शताब्दीतिर घस्रिरहेका छौँ। यो नै हाम्रो दुर्भाग्य हो। जबसम्म देशमा समयको गतिलाई च्याप्प समात्न सक्ने चेतना आउँदैन तबसम्म हामी र हाम्रो देश उँभो लाग्ने छैन। यस क्षेत्रमा समयक्रान्तिको खाँचो छ। समयको एक क्षण पनि निकै महत्वपूर्ण हुन्छ ।

एक क्षणको ढिलासुस्ती र लापर्वाहीले यात्रीको यात्रा छुटन सक्छ, रोगीको ज्यान जान सक्छ, परीक्षार्थीको जाँच जुटन सक्छ , परिश्रमीको मौका गुम्न सक्छ, कृषकको खेत बाँझो रहन सक्छ , उद्यमीको सारा काम चौपट हुन सक्छ र लाखौँलाख धनमालको क्षति हुन सक्छ। समय परिवर्तनशील छ । यो जीवन र प्राकृतिको प्रवाहमय परिवर्तित गति हो। समयको महत्वलाई बुझ्न सकिएन भने हरेक उपलब्धिहरु फुत्किने छन्। बुद्धिमान् मानिसहरू भूमिबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिँएका हुन्छन्।

समयको महत्वलाई बुझेर अगाडि बढनु नै बुद्धिमानी हो । त्यसैले समय प्रतिको सचेतता नै सफलताको भ-याङ हो, जीवनको सार हो र कर्तव्यको पथ हो समयको महत्वलाई बुझ्नु भनेको यथार्थवादी एवम् वस्तुवादी बन्नु हो र समयको सदुपयोग गर्नु हो। त्यसैले हरेक काम योजना बद्ध तरीकाले समयको सदुपयोग र सही प्रयोग गर्दै अगाडि बढ्न प्रयत्न गरिन्छ त्यो व्यक्ति, समाज र राष्ट्रले समयमै आशातित प्रगति गर्न सक्छ।

झिम्रुक ३-प्युठान