सपुतको सकम्बरी एक समीक्षा

मीनबहादुर राना
… पारिजात कृत शिरिषको फूल कृतिको सकम्बरी पात्र गीतमा प्रयोग गरिएको रहेछ । सकम्बरी नेपाली साहित्यकै मानक पात्र हो जसको चेतना सौन्दर्यलाई हुर्मत लिनेगरी आधुनिक सकम्बरी नाम दिएर पात्रको धज्जी नै उडाएछन् । अर्को तिर पुँजिवादको जगमा टेकेर मार्क्सवादलाई दुत्कार्ने दुस्प्रयास गरे जस्तो देखिन्छ । गीतको विषय वस्तु पनि हिन्दी नेपाली सिनेमाकै धेरैपटक दोहोरिएको पट्यार लाग्दो कथा छ …
शेखर विकल्प

बजारीया स्वरूपको विकृत उदाहरण हो । यो महिलाहरू माथिको वस्तुकरण हो … यो पिडा माथिको “रोमान्टिसिजम“ हो । स्टेजमा यथार्थका नाममा आँसु बटुलेर मान्छेका दुः ख पिडालाई“ रोमान्टिसाइज“ गर्ने लेखक कविहरूले यस्ता गम्भीर मुद्दालाई कहाँ बुझ्छन् त ? यो गीत राजनीति गर्ने युवा महिलाहरू माथिको गम्भीर प्रहार हो …
हेमन्त शिशिर

गीतले … श्रमिक महिलाहरू माथि अन्याय र आरोपित गरेको लाग्यो । श्रम र सङ्घर्ष हुँदै धेरथोर सफलता प्राप्त गरेका तमाम नारी पात्रहरू समाजका सामु उदाहरण छन् । जो उद्यममा विश्वास गर्छन् । ती नारीहरू यस गीतमा उपहासका पात्र बनेका छन् । आफ्नै कर्मको कुटो चलाएर रातो स्कुटी किन्न सक्ने आर्थिक हैसियत बनाएका महिलाहरूलाई यसले नराम्रोसँग गिज्याएको छ

…विसंगत समाजमाथि बोल्दा सर्जक झन् बढी जिम्मेवार हुनुपर्छ । यौनलाई व्यवसायिक मान्यता दिदै आएको विश्व परिवेश सामु झन् यो गीतको सान्दर्भिकता समाप्त भएको छ । आफूलाई लगाउनुपर्ने पहिरन आफै किन्न हुन्न र महिलाले ? के महिला त्यति निरीह छन् । आफ्नै दुलाहाको कमाईमा आवश्यकता वा रहर पूरा गरेका नारीहरू यो समाजका त्याज्य पात्र हुन् ? सोसियो पोलोटिक दृष्टिकोणले हेर्दा यो गीतको भावार्थ समभाव , समता र समावेशीकरणको सिद्धान्त विपरीत छ । गीतका पङ्तिलाई सच्चाई, भिडियो समेत इडिट गर्नुपर्ने सुझाव दिन्छु ।
यज्ञ प्रसाद न्यौपाने

प्रकाश सपुतले आफ्नो गीत ‘भाइरल’ वा ‘हिट’ बनाउन नेपाली छोरीहरुको जबरजस्त ‘कुरुप बिम्ब’ निर्माण गरेर किन बेचिरहेका छन् ? के उनी दुनियाँलाई भन्न चहान्छन्, ‘की नेपाली छोरीहरु श्रम होइन शरीर बेच्छन् ।’ –ममता अधिकारी

प्रकाश सपुतको “सकम्बरी“ युट्युबमा हेरियो उफ नारि माथि यो भन्दा ठूलो हमला के हुन सक्छ ? वास्तबिकता नबुझी मीठो साङ्गीतिक धुनमा मस्कियर टिकटक बनाउने सबैले यो भिडियो हेरेका होलान कि नाइ ! मेरो समाज कता जाँदै छ? लोकदोहोरी प्रतिष्ठान कता छ ? यसले नेपाली समाजका कलिला नानिबाबुको मनसपटलमा कस्तो प्रभाब पार्ला? मुल्याङ्कन गर्नु पर्दैन ? प्रकाश सपुतले अक्षम्य अपराध गरेका छन केवल चर्चित हुने नाउमा , नियमनकारी निकाय कहाँ छ ? अबिलम्ब त्यो गीत ÷ म्युजिक भिडियो हटाइयोस ।
भुमिराज आचार्य

सबैथरीको हमला आखिर महिला माथि नै किन त?? दोस कस्को??
पियारी थापा

शेखरजी सकम्बरी मात्र नाम हो । राम जस्तो आदर्श पात्रको नाम हामीजस्ता हजारौँ दामकोपछि लागेर भाग्नेहरूले रामे भनेर राख्दा केही फरक परेको छ र ? ऋषि नाम धारी पुरुषको काजुको रियल कथाको चर्चा सजिलै बिर्सने ? नाम केही होइन । हामीले नाममा होइन काममा ध्यान दिउँ । विधामा होइन बिषयमा ध्यान दिउँ ।

हेमन्त शिशिरजी बजारको योभन्दा धेरै विकृत रुप देखेको छु । देखेजति लेख्न असमर्थ छु । यो गीत सभ्रान्त वर्गको हो । सभ्रान्त सपनाको संघर्षको सामान्य कथा हो । प्रकाशले यो गीतमा आफ्नो वरिपरि देखेको घटनाको सामान्य रुप प्रस्तुत गरेका हुन् । उनको यो गीतमा चर्चा गर्नुपर्ने, मन छुने वा घृणा गर्नुपर्ने शब्द वा दृश्य खास्सै देख्दिनँ । नारी पुरुषको इन्द्रिय सुखका प्रसङ्ग युगौँदेखि चल्दै आएको कुरा हो । यसमा त्यही इन्द्रिय सुखका सस्ता दृश्य यहाँ आएका छन् । यद्यपि नारी सहरमा बिक्छन मात्र भन्नू पनि गलत हुन्छ ।

यज्ञजी
प्रकाश एक सभ्रान्त वर्गको प्रतिनिधि कलकार हुन् । उनीबाट हाम्रो दृष्टिकोणसित मेलखाने खाले रचना आएमा संयोग हुने छ । उनको जीवन दर्शन नै फरक हो । भलै उनीमा यो विकृत समाजप्रति वितृष्णा होला । कुनै नारीले जीवन बचाउनको लागि गरेको सङ्घर्षलाई सभ्रान्त नजरले मात्र देखे । बाँच्नको लागि गरिने यावत संघर्षलाई स्क्रिन संघर्षमा लगेर जोडे । यो गीत उपभोक्तावादी समाजको सस्तो गीत हो । यसमा नयाँ केही छैन । समाज योभन्दा विकृत छ ।

ममताजी तपाईको विचार ठिक हो । उनी बजारमा चर्चाको खेती गर्छन् । प्रकाशले कुनै गीतमा बिद्रुप बिम्ब बनाउँदैमा त्यही मानक हुन्छ भन्नु गलत हुन्छ । यस्ता गीत र फ्लिमका दृश्यहरू धेरै बनेका छन् । विद्रुप पक्ष पनि समाजको एक पाटो हो । प्रकाशलाई गाली गर्नुभन्दा पनि हामीले समग्र मनोरन्जनको क्षेत्रमा काम गर्ने नारीले बाँचेको जीवनबारे र मनोरन्जनको क्षेत्रको रोजगारलाई कसरी मर्यादित र व्यवसायिक बनाउने भन्ने कुरामा चिन्तन गरुम कि ? म अलिकता त्यो क्षेत्रसित परिचित छु । पिडित कलकारका कति कथा भन्न सक्छु तर प्रकाशनमा आउनेगरि लेख्न सक्दिनँ । मनोरन्जनको क्षेत्रमा काम गरेर जिवीविका चलाउनेहरूको समस्या बुझ्न गारो छ । बरु हामीले समाजको राम्रो पाटोलाई समेटेर रचना गर्न सुरु गर्ने वा गरिरहेकालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्ने हो कि ? असल कलकारले यहाँ जीवन संकटमा पर्दा पनि गुहार नपाएर पिडित हुनुपर्ने अवस्था छ । प्रकाश जस्ताकै हाइ हाइ किन गर्ने ?

भुमिराजजी युट्युवबाट हटाउनै पर्ने धेरै खाले सामग्री छन् । यौनको क्रयविक्रय धेरै पुरानो रोग हो । यसमा नौलो मान्नुपर्ने कुरा केही छैन । सबै बुर्जुवा कलकारले गर्दै आएको कुरा उनले गरेका हुन । प्रकाशजीबाट हामीले आशा गरेका जस्ता सिर्जना आएमा पनि त्यो दोस रहित हुने छैन या त नियोजित हुने छ । सामाजिक सन्जालमा व्यक्तिलाई मन नपरेका सामग्रीहरू धेरै छन् । आमाले देखे नि नो टेन्शन, बाबाले देखे नि नो प्रोबेलेम, अरुको कुरा मतलव छैन जाउँन ककनी भन्ने खाले गीत पनि युट्युवमा छन् । हाम्रा बच्चालाई यस्ता गीतले भन्दा पनि गेमले बिगारेको छ । यस्ता गेमहरू लत नबस्नेगरि खेल्न दिएमा खास्सै हानीकारक पनिहुँदैन्न । समाजमा चलेका बिकृति बिसङ्गतीबारे कसैले नसिकाए पनि बिस्तारै जानकारी पाउँदै जान्छ । त्यसैले हटाइहाल्नुपर्ने केही छैन । सपुतले उनको विचार अनुसार अति राम्रो गरेका छन् । यसको बिरुद्धमा हामीले हाम्रा कलकारहरूलाई शसक्त रूपमा उतार्नुपर्छ र उत्रिनुपर्छ । प्रगतिशील नामक गीत पनि सधै नारा र जुलुसभन्दा बाहिर निस्कन सकेन । यस्ता बिकृतिको व्यापारलाई बढाउने र विभेद गर्ने खालका सिर्जना बिरुद्ध सत्कृति र समानताको आवाज बुलन्द गर्ने खालका सिर्जना गर्नुपर्छ ।

पियारी थापाजी महिलामाथि योभन्दा खतरा हमलाहरू भएका छन् । सुन्दरी प्रतियोगिताका नाममा सिधै नारी अस्मितालाई खैलौना करण गरिएका पनि छन् । हरेक चलचित्रमा बिद्रुप नारी पात्र नभएको भलै नहोला । प्रकाशजी कस्ता चिन्तन भएका मान्छे हुन ? जानकार हुनुहुन्छ नै । तपाईं सचेत कलकार हुनुहुन्छ । उनको आलोचना शब्दमा होइन सिर्जनामा आओस् । हाम्रो अभियान सिर्जनाको बिरुद्ध सिर्जना भएमा अवश्य पनि शब्दले भन्दा ठुलो प्रहार हुने छ ।

कसैले सपुतजीलाई नारी चेतना शून्य भएको पनि भनेका छन् । उनी चेतना शून्य मान्छे होइनन् । उनले बजार बुझेका छन् । लगानी कर्ता चिनेका छन् ।
जब गीत बलियो छैन भने गायकले नाटक र गफको साहारा लिन्छ । प्राकाश होस वा अरु कोही रचना नाप्ने नापो यही हो । सिर्जना त्यसमा पनि गीत नबुझ्ने मान्छे कोही हुँदैन । गीत गाउनुभन्दा पहिले त्यसको महिमा गाउने, यथार्थ कुरालाई लिएर रचना गरिएको हो भन्ने वा आफैले आफ्नो रचनाको बढाइचढाइ गर्नु किन ? प्रकाश सपूत वा अरु कुनै गायकले गाउने बित्तिकै राम्रो राम्रो चर्चा गरिदिनुपर्ने ? कमजोरी कोट्याउन नहुने ? अनि लोक गायकले गाउने बित्तिकै लोक गीत भन्दिनुपर्ने ? लोकमा (समाजमा) प्रचलित भएका वा हुनसक्ने, जनजिब्रोले ट्याप्प टिप्ने, समुहमा बसेर गाउन मिल्ने, भिरपाखा कन्दरामा घन्किने गीत पो लोक गीत त । लोकगीतले समग्र चराचर जगतका सदस्यमाध्य एकको मर्म, वेदना, हर्ष, विस्मात वा यशोगान गरेको हुन्छ । घृणा र तिरस्कारको खेतिगर्ने गीत गीत हुनसक्दैन । लोकगीतमा अति सभ्य तरिकाले मानव यौनका भावनालाई व्यक्त गरेको हुन्छ । सिधै भन्न नमिल्ने कुरालाई विम्वात्मब, प्रतिकात्मक वा वक्रोक्तिमा भनिएको हुन्छ ।

सहरका रोदिघरमा जाँड खाएर मातेका मनुश्यहरूलाई सङ्गै गाउने र नाच्ने नारी पात्रलाई गिज्याउन गाइएको गीत कसरी लोक गीत हुन्छ ? त्यसो त सहर पनि हाम्रै लोक हो । मान्छे रमाइलो गर्दा अलिकता छिल्लिन्छ । अलिकता सीमा नाघ्छ । तर सीमा नाघ्छ भन्दैमा कसैलाई पल्लो भित्तामा पुराएर रमाउने संस्कार सहरले पाल्नु हुँदैन । स्रष्टा त्यो मानेमा सचेत हुनुपर्छ । लोक दोहोरी क्षणिक मनोरञ्जनमात्र होइन लोकको सजीव अभिलेख हो भनेर सबै कलकारले बुझ्नुपर्छ ।

प्रकाशजीकोे यो असफल गीती नाटक हो भनुँ वा सिर्जनामा प्रकाशजीले गलत सपना देख्छन् भनौँ । उनले सिर्जनालाई बजारमा ल्याउन हतार भने अवश्य गर्छन् । त्यसैले पनि राम्ररी बियाँ टिप्न भ्याउँदैनन् । रचना निफन्न भ्याउँदैनन् । गीत गीत हो । कथा कथा हो । गीतको भाव अनुसार भिडियो बनाउन धेरै गारो हुन्छ । अलिकता गृहकार्य नपुगेमा भद्दा र हास्यास्पद भिडियो बन्छ । प्रकाशजी जस्तो पाको र अनुभवी कलकारले यसरी हतार नगरेको भए हुन्थ्यो ।

उनको पीरको पनि निकै आलोचना भयो । अहिले सकम्बरीको पनि चाल उस्तै छ । यसमा विरोध गर्नुपर्ने कुनै कारण छैन । यो गीत एकाध नारीको हो । एउटा गीतबाट आम नारीको मर्म र भावना खोज्नु हुँदैन । केही नारीले बाँचेको जीवनलाई मजाक बनाउनु प्रकाशजीको भुल हो । सकम्बरीको जीवन बाँचेका नारीको सपना भन्दा सहरमा बाध्यता के के होलान् त्यो कसले कोट्याइदिने ?

सिर्जनामा मान्छे आफू बाँचेको जीवन पोख्छ । प्राय गाउँबाट सहर छिरेका चेलीलाई ग्ल्यामर क्षेत्रमा खडा गरिएको र त्यहीँबाट देह व्यापारमा लागेको वा इन्द्रिय सुख आदानप्रदान गरेर धन कमाएको देखाइन्छ । यो गीतमा प्रकाशजीले बाँचेको र देखेको जीवन परेको छ । सहरको रहरमा सहर छिरेर इटाभट्टी, होटेल, फेन्सी पसलहरूमा नाममात्रको पारिश्रमिकमा काम गरिरहेका, लाखौँ खर्च गरेर स्टाफ नर्स पढेर चाउचाउ सिस्टरको रुपमा काम गरेका चेलीहरूको पीडा, निजामति कर्मचारी वा स्थ्यायी शिक्षकमा नाम निकालेर नियुक्तिको पर्खाइमा बसेका वा सरुवा मिलाउन नसकेर हाकिम, नेता र स्थानीय व्यवस्थापनले लगाएको चक्कर जस्ता पीडा गीतमा किन आउन सक्दैन ? किन भने उनीहरू प्रायले आफ्नो जीवन लेख्दैनन् । सहरको रहरले गाउँले चेलीलाई कतिसम्म चिलबिल पारिरहेको छ ? वास्तविक कथा त कहिल्यै आउँदैन ।

घगडान तयारीका साथ सहर पसेर पुगिसरी भएका नारीहरूको लागि यो गीत बिद्रुप बिम्ब हुन सक्छ । अपमान भयो भन्दै हुनुहुन्छ । जीवन जिउनलाई जे पनि गर्नुपर्ने बाध्यता परेको नारीको पिडा यस गीतमा आएको छ । उनीहरूको लागि त यो पनि कम हो । यहाँ सक्षम नारीहरू समेत क्षमता हुँदाहुँदै, नियमले दिँदादिँदै पनि नभएर घुस खुलाउनुपर्ने, मोटो रकम घुस दिँदा नभएर र बैँस समेत दाउमा लगाउन पर्ने स्थिति आएपछि रुँदै आफ्नो कार्यक्षेत्रबाट हात घोएर हिँड्नुपर्ने सक्षम नारीको पीडा अझ दर्दनाक छन् । यो पनि एकाधको पिडा हो आम होइन । यस्ता एकाध पीडा कसैले बाहिर ल्याउँदा समग्रमा जोडेर गाली गरिरहनुको खास्सै तुक हुँदैन । तसर्थ प्रकाशजीको सकम्बरी एकाध चेलीको पीडा हो । एउटा गीतले जतिसमेट्न सक्यो त्यति आयो । यसमा हामीले आफुलाई पाएनौँ भन्दैमा गालीको वर्षा उचित होइन । प्रकाशजीबाट यसरी जवानी बेचेकी चेलीको खिल्लि उडाउने गीत आउनु स्वभाविकै हो । उहाँको चेतनाले यहाँसम्म मात्र भेट्यो यत्ति नै आयो । उहाँको स्तरले सक्ने नै यत्ति हो । चेलीलाई कसरी सक्षम र सबल बनाउन सकिन्छ, कसरी चेलीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर गीत लेख्ने त समग्र आलोचकले हो । आजैबाट सुरु गरुम कि ?

प्रकाश मात्र आलोचनाका भागि छैनन् बरु यस्तो कुरुप समाजलाई ढाकछोप गर्न खोज्ने हामी जो कोही पनि आलोच्य छौँ । प्रकाशलाई स्यावास भन्नुपर्ने केही छैन र प्रकाशजी र उहाँका समर्थक आलोचनाबाट आत्तिनुपर्ने पनि केही छैन ।
मीनबहादुर राना, हाल प्लम्स्टिड लण्डन