सुरक्षाका लागि मैले पेस्तोल लिएर हिँड्थे

मोहनविक्रम सिंह

भूमिगत कालमा म कैयौँ पल्ट गिरफ्तार हुँदाहँुदै उम्केको छु । त्यस प्रकारका केही घटनाको मैले यहाँ उल्लेख गर्दै छु । त्यस सिलसिलामा मैले यस अङ्कमा खालि प्युठानसित सम्बन्धित घटनाको चर्चा गर्नेसम्ममा सीमित रहने छु । प्युठानमा पहिले प्रतिमान चन्द बडाहाकिम हुनुहुन्थ्यो । उहाँलाई कम्युनिस्ट भएको आरोप लगाएर उहाँको विरुद्ध केन्द्रमा कैयौँ उजुरी परेको थियो । त्यस प्रकारको आरोपमा केही सत्यता अवश्य पनि थियो ।

प्रथमतः उहाँसित हाम्रो पारिवारिक नाता पर्दथ्यो । उहाँसित बुबा खिमविक्रमको धेरै पहिलेदेखि नै घनिष्टता थियो । प्युठानको रातामाटामा हाम्रो तीन महिने शिविर चल्दा उहाँले त्यसका विरुद्ध कुनै कारबाही गर्नुभएको थिएन । २०१० सालमा नारिकोटमा भएको किसान आन्दोलनको बेलामा हामीले जालीफटाहा विरुद्ध कैयौँ कारबाही गरेका थियौँ । त्यसबारे उजुरी पर्दा पनि प्रतिमानले कुनै कारबाही गर्नुभएको थिएन । त्यसकारण उहाँको विरुद्ध कम्युनिस्टसँग मिलेको भनेर आरोप लगाउनुको पछाडि केही न केही सत्यता अवश्य थियो । त्यस प्रकारको उजुरी परेपछि सरकारले उहाँलाई प्युठानको बडाहाकिमबाट हटाएर काठमाडौँ–७ मा पठाएर प्युठानमा नयाँ बडाहाकिम पठायो ।

प्युठानमा आउनेबित्तिकै नयाँ बडाहाकिमले जिल्लाव्यापी रूपमा भ्रष्टाचारको नाममा दमन अभियान नै चलाए । त्यसका विरुद्ध हाम्रो पार्टी र नेपाली काङ्ग्रेसले संयुक्त भएर आन्दोलन सुरु गर्ने निर्णय गरियो । त्यसका लागि ओखरकोटको मच्छीमा हाम्रो पार्टी र नेपाली काङ्ग्रेसको एउटा संयुक्त भेला सम्पन्न भयो । त्यो भेलाले एउटा संयुक्त सङ्घर्ष समिति गठन ग¥यो । भेलाले पिता खिमविक्रमलाई सभापति, नेकाका सभापति अनिरुद्र शर्मालाई उपसभापति र मलाई सेक्रेटरी चुनेको थियो । मच्छीको भेलापछि जिल्ला प्रशासनले बुबा र मेरो विरुद्ध वारेन्ट काटेको थियो ।

सरकारले वारेन्ट काटेको भए पनि म प्युठान जिल्लामा प्रायशः हिँडिरहन्थेँ । म दिउँसो पनि हिँड्ने गर्दथेँ । धेरैजसो एक्लै पनि हिँड्ने गर्दथेँ । बुबा धेरैजसो कौछेको घरैमा बस्नुहुन्थ्यो तर उहाँको डरले पुलिसहरू कहिल्यै पनि घरमा जाने हिम्मत गर्दैनथे ।

एक दिन म बेलुकीपख आफ्नो गाउँबाट अर्गलीको बाटो हुँदै बाग्दुलातिर जाँदै थिएँ । म अर्गली काटेर चिसाबाङको खेतको बाटो हुँदै कुटेचौरतिर जाँदै थिएँ । त्यही बेला बन्दुक बोकेर आएका दसबाह्र जना पुलिसको एउटा हुलसित मेरो जम्काभेट भयो । उनीहरूलाई देखेपछि म तर्सिएँ तर अब भाग्ने उपाय थिएन । म यताउता लागेको भएपनि उनीहरूले मलाई सजिलै समात्न सक्दथे । त्यसैले मैले केही नभए जस्तो गरेर पुलिसको छेउबाट नै दायाबाया नहेरिकन बाटो काटेर गएँ । त्यो बेला मैले सोचेको थिएँ ः उनीहरूले मलाई अवश्य पनि पक्रने छन् तर उनीहरूले मलाई केही गरेनन् र म सरासर अगाडि गएँ ।

मलाई अहिलेसम्म पनि आश्चर्य लागिरहेको छ, त्यो बेला उनीहरूले मलाई किन पक्रेनन् ?रातामाटामा पुलिस ब्यारेकको नजिकै हामीले तीन महिनासम्म शिविर चलाएका थियौँ । त्यसकारण उनीहरूले मलाई नचिन्ने कुरै थिएन । सायद मैले पनि उनीहरूमध्ये कैयौँ जनालाई चिनेको थिएँ हुँला तर त्यो बेला मैले कसैको मुखमा नहेरिकन सरासर गएको थिएँ । त्यसैले मैले पनि कसैलाई चिनिनँ । अहिले मैले सोच्दछु, सायद दुईओटा कारणले उनले मलाई पक्रेका थिएनन् । एउटा, उनीहरूको अफिसर प्युठानमा सायद नयाँ आएका थिए र उनले मलाई चिन्दैनथे । त्यसैले म उनको नजिकैबाट गएको भए पनि मलाई पक्रने आदेश दिन सकेनन् । अर्को कुरा, आफ्नो अफिसरले केही नभनेको हुनाले अरू पुलिसले पनि मलाई पक्रन खोजेका थिएनन् । त्यसबाहेक कतिपय पुलिसले हामीप्रति सहानुभूतिसमेत राख्ने भएको हुनाले पनि तुरुन्तै पक्रिने काम नगरेको हुन सक्दछ । त्यो बेलाका ती दुई घटनाबाहेक अरू कुनै कारणले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

त्यो बेला मेरो खल्तीमा पेस्तोल पनि थियो । यताउता हिँड्दा मैले सुरक्षाका लागि पेस्तोल लिएर हिँड्ने गर्दथेँ तर त्यति धेरै पुलिसको माझमा मेरो एउटा पेस्तोलले कुनै पनि काम गर्न सक्दैनथ्यो । मलाई पक्रिँदा मेरो साथमा पेस्तोल भेटिएपछि ममाथि झन् ठुलो मुद्दा लाग्न सक्दथ्यो । जे होस्, त्यो बेला म गिरफ्तार भइनँ ।

म बाटोमा पछाडि फर्केर नहेरिकन सरासर अगाडि गएँ । मैले पछाडि फर्केर हेर्दा पुलिसहरूलाई शंका लाग्न सक्दथ्यो तर मलाई के शंका थियो भने पुलिसहरूलाई मेरोबारेमा थाहा भएपछि उनीहरू पक्कै पनि पक्रन आउन सक्नेछन् । त्यही बेला विपरीत दिशाबाट अर्गलीतिर जान आएका एक जना मान्छेसँग भेट भयो । मैले सोधेपछि पुलिसहरू फर्केर आउन थालेको कुरा थाहा भयो । उनीहरूमध्ये केही दगुर्दै आइरहेका थिए । त्यो कुरा सुनेपछि मलाई यो कुरा बुझ्न गा¥हो परेन कि उनीहरू मलाई नै पक्रिन आइरहेका थिए तर अझै पनि उनीहरू मभन्दा केही टाढा नै थिए । त्यसैले म बढी आत्तिनुपर्ने आवश्यकता थिएन ।

त्यति बेला म खेत काटेर घुम्नेठाँटी नजिकको एउटा ठाडो खोलाको खोल्सामा झरेको थिएँ । त्यहाँबाट सरासर अगाडि बाटैबाटो जानुको सट्टा म दायातिर लागेँ । झिमरुक तरेर खोलापारिको एउटा अर्को खोल्सामा पसेँ । त्यसैले पुलिसहरूले मलाई देख्न सकेनन् । खोल्सैखोल्सा केही माथि पुगेपछि मैले खेतमा निस्केर एउटा रुखको आडबाट पारिका पुलिसहरूलाई हेर्न थालेँ । मलाई नभेट्याएपछि उनीहरूले म गाउँतिर लागेको अनुमान गरेका थिए होलान् । त्यसैले उनीहरू गाउँका प्रत्येक घरमा मलाई खोजतलास गर्दै हिँडिरहेका देखिन्थे ।

अब साँझ परिसकेको थियो । यो समयमा फर्केर पहिलाकै बाटो जानु वा कुटेचौरतिर लाग्नु खतराभन्दा खाली थिएन । त्यसैले म माथिको जङ्गलतिर लागेँ तर त्यहाँ कुनै बाटो थिएन । म त्यो जङ्गलमा नै तीनचार घण्टासम्म यताउता घुमिरहेँ । त्यसरी घुम्दाघुम्दै रातको करिब १२ बजिसकेको थियो । अब भोक र निद्राले पनि मलाई धेरै नै सताउन लागिसकेको थियो । कुनै कुनै बेला म जङ्गलमा नै पल्टेर निदाउने कोसिस गर्दथेँ तर धेरै बेर सुत्न पनि सक्दिनथेँ किनभने त्यहाँ जङ्गली जनावर वा सर्पको डर हुन सक्दथ्यो तर संयोगले त्यो बेला त्यहाँ त्यस्तो समस्या देखा परेन ।

अब धेरै बेर त्यसरी जङ्गलमा बस्नु उचित नठानेर म जंगलैजंल तलतिर झर्न थालेँ । करिब २ बजे राति म लुङको दोभाईमा देविबहादुर केसीको घर पुगेँ । उहाँ हाम्रो नातेदार हुनुहुन्थ्यो । म पुग्नेबित्तिकै उहाँका जहानले मलाई खाना पकाएर खान दिनुभयो । त्यो राती म त्यहीँ सुतेँ ।

अर्को दिन बिहान खाना खाएर म पाङबाङको झोलुङ्गे पुल तरेर दम्तीको बाटो हुँदै गेजबाङ पुगेँ । त्यहाँ श्यामबहादुर, लङ्कबहादुर र रामचन्द्रहरूसित बसेर आन्दोलनसम्बन्धी केही सल्लाह गरेँ । साँझ परेपछि बागदुलातिर लागेँ ।

गेजबाङबाट बागदुला जाने मूल बाटो खेतैखेत जान्थ्यो तर साथीहरूले मलाई त्यो बाटो नगएर दायातिरको छेउको बाटो जाने सल्लाह दिनुभयो । त्यो बाटोमा अहिले मोटरबाटो चल्दछ तर त्यो बेला सानो गोरेटो मात्र थियो । त्यो बाटो बागदुला हुँदै पुर्णेखोला पुगेर म अनिरुद्र शर्माको घरमा बसेँ । म त्यहाँ पुगेको करिब एक घण्टाजति भएको थियो, त्यही बेला पुर्णेखोलाका एक जना साथी दगुर्दै अनिरुद्रको घरमा आइपुग्नुभयो । उहाँले पुलिसहरू मलाई पक्रिन यतै आउन थालेको बताउनुभयो ।

अनिरुद्र शर्मा पनि सङ्घर्ष समितिको उपसभापति हुनुहुन्थ्यो तर उहाँको नाममा वारेन्ट काटिएको थिएन । त्यो बेला सरकारले नयाँ बडाहाकिमलाई सायद कम्युनिस्टहरूलाई मात्रै दमन गर्ने निर्देशन दिएको थियो । त्यसैले उहाँको नाममा कुनै वारेन्ट काटिएको थिएन । म भने आन्दोलनको कार्यक्रमबारे सल्लाह गर्न उहाँको घरमा गएको थिएँ ।

मेरा लागि खाना पाक्दै थियो, यो सूचना पाएपछि अब खाना खाने समय बाँकी थिएन । मलाई समाचार दिन आउने साथी र म तुरुन्तै बाहिर निस्कियौँ । त्यही बेला केही परको बाटोमा पुलिसहरू आएको आवाज आयो । मैले सँगै आएको साथीलाई टर्च बाल्दै काल्लाहरूतिर फुङ्गाल्दै तलतिर जान भनेँ । त्यसो गरेपछि पुलिसहरू म तलतिर भागेको सोचेर उतैतिर दौडिँदै छन् भनेर मैले सोचेको थिएँ ।

त्यो बेला मध्यरात थियो । म एउटा कुनामा आड लागेर लुकेँ । सँगैको साथीले मैले भने जस्तै गर्नुभयो । पुलिसहरू टर्च बालेर डौडिँदै गएका ती साथीका पछाडि दौडिँदै गए । केही तल पुगेपछि हाम्रा साथीले टर्चलाइट निभाउनुभयो र एकातिर लाग्नुभयो ।

म अनिरुद्रको घरबाट निस्केर जङ्गलतिर लागेँ र केही माथि उहाँका भाइ भीमार्जुन शर्माको घरमा गएर बसेँ । अर्को दिन पनि बागदुला वा पुर्णेखोलातिर जानु खतरा हुन्थ्यो । त्यसैले म दिनभरि भीमार्जुनको घरभन्दा केही माथिको जङ्गलमा बसेँ । भीमार्जुनको परिवारले मेरा लागि खानापानी र दिउँसो नास्ता पनि ल्याइदिनुभयो ।

त्यो घटनाको केही दिनपछि जुलुस लगेर बागदुलामा राति बास बसेको बेलामा पुलिस र सेनाले घेरा हालेर हामी छ जनालाई गिरफ्तार गरेको थियो । त्यो बेला हामी उम्कन पनि सक्दथ्यौँ । बुबा खिमविक्रमलाई हामीले त्यहाँबाट भागेर जान भन्यौँ तर खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रूपबहादुर पाण्डे, सिद्धिमान र म तथा नेपाली काङ्ग्रेसका हेमराज पण्डितसमेतले गिरफ्तारी दिएका थियौँ भन्नेसमेतको चर्चा मैले यसभन्दा पहिलेको एउटा संस्मरणमा गरिसकेको छु ।

२०८० असार २३ गते शनिबार