महंगीले जनता मारमा, सरकार र राजनीतिक दलहरु मौन

   बुटवल, असार २६ गते । आगमी आर्थिक वर्षका लागि सरकारले बजेट ल्याएसंगै महङी अचाक्ली बढेको छ । आर्थिक वर्ष २०८० । ०८१ का लागि अर्थमन्त्रीले बजेट भाषण गरेको अर्को दिनदेखि महङी बढेको हो । बजेट ल्याएर सरकारले जनतालाई राहत दिने बेला उल्टै दैनिक उपभोग्य वस्तुमा महङी बढेको छ ।

नयां आर्थिक बर्ष साउन १ गतेबाट शुरु हुने भएपनि सरकारले गत जेठ १५ गते बजेट भाषण गरको अर्को दिन १६ गतेबाटै महङी आकाशिएको हो । बजेट भाषण गर्नु अघि प्रतिकिलो ४० रुपैयांमा पाइने प्याजको मुल्य अहिले ७० बढी पुगेको छ । प्रतिकिलो ६० रुपैंयादेखि ७० रुपैयांमा पाइने टमाटर अहिले १ सय २० पुगेको छ । त्यस्तै बजेट भाषण गर्नु अघि २० देखि २५ रुपैयां किलो पाइने आलु अहिले ४० देखि ४५ भएको छ । अहिले दैनिक उपभोग्य वस्तुदेखि हरेक समानको मुल्यवृद्वि हुंदा नागरिक महङीको मारमा परेका हुन् ।

आलु, प्याज, फलफुल, तरकारी, चामलदेखि सबै वस्तुमा मुल्यवृद्वि हुंदापनि सरकार जनताप्रति उत्तरदायी बन्न सकेको छैन ।दैनिक उपभोग्य वस्तुमा व्यवसायीले मनोमानी चर्को मूल्यवृद्धि गरेका छन् । जनताको अभिभावक सरकार महङी तथा मुल्यवृद्विको विषयमा मौन रहंदा मनोमानी बढेपछि मध्यम र निम्न वर्गका नागरिकलाई सांझ बिहानको छाक टार्न समस्या भैसकेको छ ।

दैनिक उपभोग्य वस्तु खाद्यान्नमा सबै भन्दा बढी मुल्यवृद्वि भएको छ । खाद्य तथा खाद्यजन्य पदार्थमा १३.०६ प्रतिशतले मूल्य बढेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेपनि तीनै तहका सरकार मौन छन् । महङीले सीमा नाघ्दै लाग्दा पनि राजनीतिक दलहरु पनि जनताप्रति उत्तरदायी बन्न सकेका छैनन् ।
सत्ता जोगाउने खेलमा लागेका दलहरुलाई मङगी बढेकोप्रति कुनै चासो देखाएका छैनन् ।

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले दैनिक रुपमा किचनमा प्रयोग हुने खाद्यान्नजन्य वस्तुमा अत्याधिक मुल्यवृद्वि आमजनता मारमा परेको बताए । उनले महंगी नियन्त्रणका लागि तीनै तहका सरकारलाई आग्रह गरे ।

महंगी, भ्रष्टार, अराजकता तथा बेथितिले सीमा नाघ्दा पनि सरकार, राजनीतिक दल र सरोकारवाला निकायहरु मौन हुंदा आमजनता समस्यामा परेको बताउछन् पत्रकार दामोदर खनाल ।