भ्रमको खेती गर्न उचित हुँदैन

बद्रे आलम
मिति २०८०÷०३÷२४ गतेका दिन हाँक टुडेमा “ एम.बी. समुहको भ्रम र ध्रुविकरणको प्रश्न“ भन्ने लेख बाबुरामजी ले निकै मिहिनेत गरेर लेखे जस्तो देखिएपनि उक्त लेख ’लाहुरेको दौड भैरहवासम्म’ भन्ने उखानलाई चरितार्थ गर्दछ । उक्त लेखमा भ्रम भन्दा अरु केही छैन । एम.बी. समुह एम.बी. समुह भनि लेख भरी उल्लेख गरि गाली गलौज र अवमूल्यन बाहेक केहि देखिदैन।मित्र शक्तिबाटै दुई–दुई पटक प्रतिगमन गरेको शक्तिको बचावटमा निकै कसरत गरेको देखियो। जे होस कमरेडलाई प्रतिगमनको अलिकति भएपनि चिन्ता भएको देखियो तर प्रतिगमनकारी शक्तिका बिरूद्ध उभिने शक्तिको बिरोध गर्दा जान व अन्जानमा प्रतिगमनकारी शक्तिलाई नै मद्दत पुग्दै आएको पृष्टभूमिमा, प्रतिगमन भए एम. बी. समुहकै थाप्लोमा नै हाल्ने जुन मनसाय देखिएको छ त्यो कतैबाट पनि न्यायिक देखिँदैन,त्यो लाजको पसारो मात्र हो।

एकातिर प्रतिगमन गर्ने शक्तिको जोडदार बचाउमा उभिन पछि न पर्ने, अर्कोतर्फ प्रतिगमनको पनि खतराको डर महसुस गर्ने, यस प्रकारको दोहोरो चरित्र प्रदर्शन गर्न खोजिएको छ। जहाँसम्म राजमोले नेपाली काँग्रेस लगायत अन्य पार्टीको समर्थन गरेको छ । त्यो प्रतिगमनको बिरूद्ध उभिएका शक्तिहरू हुन् । यद्दपि कुनै कुनै शक्ति रणनैतिक रूपमा दुस्मन शक्ति भएपनि कार्यनीतिक सवालमा तात्कालिन विषय, प्रतिगमन लाई रोक्न गरेको सहकार्य हो। अहिले पनि प्रतिगमनको खतरा टरेको छैन।
जहाँसम्म सरकारलाई समर्थन गर्ने बिषय हो, त्यो गुण र दोषको आधारमा नै हो । समर्थनको अर्थ सर्वस्वीकार भनेर बुझियो भने त्यो द्वन्द्वबाद विपरीत हुन जान्छ। साथीहरुलाई भ्रम कहाँ हुन गएको छ भने कार्यनीतिलाई रणनीतिक रूपमा बुझेर नै हो। यसर्थ कार्यनीति र रणनीतिक कार्यक्रमका बिच फरक गर्न सचेत बनौं नत्र जहिले पनि यस प्रकारको भ्रमको शिकार भई नै रहिन्छ। साथै इमान्दार साथीहरुलाई भ्रमको शिकारबाट मुक्त हुन जरुरी छ ।

जहाँसम्म चुनाव देखि चुनावसम्मको कुरो छ, चुनावलाई कुन रूपमा ग्रहण गरिएको छ, कार्यनीतिकी रणनीति ? जहाँसम्म राजमोले अपनाएको कार्यनीतिक रूपमा नै हो। ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै भाग लिने वा बहिष्कार गर्ने गर्दछ । यसमा भ्रम पाल्न आवश्यक छैन। मनोगत तरीकाले दक्षिणपन्थी भन्दैमा सही ठहर्दैन ।
लेखकको ग्रुपले पनि चुनावलाई कार्यनीति नै स्वीकारेको अवस्था छ । रणनीति भन्न नसक्ने, चुनाव बहिष्कार गर्ने तर रणनैतिक बहिष्कारको रूपमा ग्रहण गर्न डराउने । की त चुनावमा भाग लिनुहुँदैन भनेर निर्णय गरेर जान सक्नु पर्यो । एकातिर आफूहरुले चुनाव उपयोग गर्ने कार्यलाई कार्यनीति भनि निर्णय गर्ने तर भाग लिन सामर्थय न भएपछि अरुलाई दक्षिणपन्थी भन्ने आधार के हो? हेक्का राख्नु पर्दैन! स्वघोषित क्रांतिकारी घोषणा गर्दैमा क्रांतिकारी भईन्छ र ? यस प्रकारको भ्रमको खेती गर्न उचित हुँदैन ।
सरकारको समर्थनको कुरा जोडदार रुपमा उठाउने गरिएको छ, जतिबेला प्रचण्ड प्रतिगमन बिरोधी शक्तिको नेतृत्व गरेका थिए, हाम्रो समर्थन रह्यो तर जतिबेला प्रचण्ड प्रतिगामी खेमाको नेतृत्व गर्न पुगे राजमो ले समर्थन फिर्ता लियो। अहीले पनि पुनः प्रतिगामी शक्ति हरुको बिरूद्ध उभिएका शक्तिहरु नेतृत्वमा छन, हाम्रो समर्थन छ। यसबारे पक्कै पनि कमरेडलाई जानकारी हुनु पर्दछ। भ्रम छर्नु र भ्रमको खेती मात्र गरिरहनु उचित कार्य कदापि हुन सक्दैन।
जनसरोकार निकाय, संघ संस्था, विभाग, आयोग आदि जुन जनतासित प्रत्यक्ष सरोकार भएको हुनाले जनताको पार्टी जिम्मेवारीदेखि टाडा रहनु कति सान्दर्भिक हुन्छ ? जनसरोकार संस्थामा बसेर जनविरोधी कार्यगर्नु त्यो अपराध हो।

जहाँसम्म अनुशासनको कुरा गरिन्छ, जुनसुकै संघसंस्था र पार्टीमा अनुशासन हुन्छ र हुनुपनि पर्दछ । अझ कम्युनिष्ट पार्टी भित्र अनुशासन झन कडा हुने गर्दछ। जहाँसम्म हाम्रो पार्टीको अनुशासन त्यो लेनिनले प्रतिपादन गरेको प्रणाली,लेनिनवादी संगठनात्मक प्रणाली अनुसरण गरेको छ। छलफलमा स्वान्त्रता, कार्यमा एकता, सोही आधारमा टिकेको पार्टी, जनबादी केन्द्रीयतालाई आत्मसाथ गरेको पार्टीमाथि र त्यसका कार्यकर्ता माथिको अनावश्यक टिप्पणी अबान्छनिय छ। सच्चा कार्यकर्ताको उच्च मनोबल नै उसको अनुशासन हो। अनुशासनमा बस्नु र जिम्मेवारीलाई निरन्तर अगाडी बढाइ रहनु उसको स्वाभिमान हो। त्यस प्रकारको स्वाभिमान माथि कहि कतैबाट औंला उठाउने कार्य गरिन्छ त्यो कदापी कसैलाई सह्य हुँदैन। जुनसुकै पार्टीमा अनुशासन चाहिन्छ, अनुशासन बिनाको पार्टी, पार्टी न भै अराजक झुण्ड मात्र हुन सक्दछ, किनकी लौह अनुशासन बिनाको पार्टी आफ्नो गन्तव्यमा किमार्थ पुग्न सक्दैन।

जहाँसम्म ध्रुविकरणको कुरा उठाएर मोर्चाको विषयमा राजमोलाई जोडने प्रयत्न गर्न खोजिएको छ। स्पष्ट होस् , हाम्रो पार्टीले आफ्नो निहित स्वार्थको लागि कहिल्यै पनि नीति अख्तियार गर्ने गरेको इतिहाँस छैन, जहिले पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नै आफ्नो नीतिलाई अगाडि बढाउँदै आएको छ। अहिले जुन चार दलको मोर्चा बनेको छ त्यसले लिने नीतिमा निर्भर गर्छ। मोर्चाले गन्तत्र र धर्मनिरपेक्षता तथा जनआन्दोलन बाट प्राप्त उपलब्धिको रक्षाप्रति सकरात्मक वा नकारात्मक कस्तो प्रकारको नीति अपनाउ छ, त्यसले निर्धारण गर्नेछ।

राजमो कहिल्यै भविष्यबाणीमा बिश्वास गर्दैन, ठोस परिस्थितीको ठोस विश्लेषण कै आधारमा मात्र आफ्नो नीति देश र जनताको समग्र हितमा अगाडि बढाउँदै आएको छ र सधै बढाउँदै लैजाने छ। भ्रमबाट सावधान रहौ।

लेखक राष्ट्रिय जनमोर्चाका नेता- बद्रे आलम
२०८० असार २७ गते ।