नेपालमा बाघको संख्यावृद्दि, बर्दियामा बाघ दिवस


बुटवल, साउन १३ गते । नेपालमा पछिल्लो तथ्यांक अनुसार बाघको संख्या ३५५ छ । यसमध्ये लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियामा मात्रै १२५ बाघ छन् । तर, मानव र बाघबीच द्वन्द्व बढ्दै जाँदा वर्सेनी बाघले मानिसलाई आक्रमण गरेर मारिरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्षमा मात्रै ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाघको संख्या बढ्दै जाँदा मानवीय जोखिम बढ्दो छ । तर, मानवबाट पनि जोखिम उस्तै छ । बाघलाई आहार, पानी र वासस्थान राम्रो भए वस्ती पस्ने सम्भावना कम हुन्छ । मानिसले निकुञ्ज पस्दा केही कुरामा ध्यान दिने हो भने बाघ लगायत अन्य जनावरको आक्रमणबाट बच्न सकिन्छ ।
बाघको संख्या बढ्दै जानुले एकातर्फ संरक्षणकर्मीलाई खुशी बनाएको छ भने अर्कातर्फ मानव र बाघबबीच द्वन्द्व बढ्दै जाने भन्दै चिन्ता पनि थपिँदै गएको छ । बाघको बढ्दो संख्याको कारण उनीहरु आवश्यक सुरक्षित बासस्थान, आहारा एवम् पानीको खोजीमा बस्ती पस्ने गरेकाले घटना घट्ने गरेको हो । निकुञ्जले प्रत्येक २,२ किलोमिटरको दुरीमा ग्रिड बनाई हरेक ग्रीडमा ३ देखि ५ हेक्टरको घाँसे मैदान, त्यहाँ सौर्य उर्जाबाट चल्ने मोटरबाट २४ सै घण्टा पानीको ब्यवस्था गरेको छ । निकुञ्जमा ४२ वटा ग्रिड बनाएर सौर्य उर्जाबाट सञ्चालन हुने मोटर जडान गरिएको छ ।

अहिले बर्दिया निकुञ्जमा बाघको संख्या अधिक छ । बाघ र यसका आहारा प्रजातिको बासस्थान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको निकुञ्जमा बाघ, हात्ती, एक सिंगे गैंडा लगायत ६१ भन्दा बढि स्तनधारी प्रजाति रहेका छन् । निकुञ्जमा ५ सय १३ भन्दा बढि प्रजातिका चरा, ४२ भन्दा बढि प्रजातिका घस्रने वन्यजन्तु तथा १ सय २० भन्दा बढि प्रजातिका माछाहरुको महत्वपूर्ण बासस्थान छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत ३ वटा सेक्टर, ८ वटा रेञ्जपोष्ट र २४ वटा पोष्टहरुबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवा सम्बन्धी कार्यहरु हुँदै आएको छ । बर्दिया निकुञ्ज बाघ संरक्षणमा मुलुकमै अग्रस्थानामा छ । हरेक वर्ष बाघ दिवसमा बाजागाजासहित कार्यक्रम गरिन्छ ।
बर्दियामा बाघ दिवस
बर्दियामा विश्व बाघ दिवस–२०२३ मनाइएको छ । दिवसको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा ¥याली निकालिएको छ । बाघ चोकबाट निकालिएको बाघ संरक्षण सचेतना ¥याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा निकालिएको ¥यालीमा विद्यार्थी, पर्यटन व्यवसायी, संरक्षणकर्मी, स्थानीयबासी, कर्मचारीलगायतको सहभागीता थियो । त्यसअघि ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीलगायतले पूजा गनुएभएको थियो ।
¥यालीपश्चात आयोजित छलफल तथा अन्तरक्रियामा बोल्ने वक्ताले बाघको संख्यामावृद्धि हुनु सकारात्मक रहेको बताए । उनीहरुले बढ्दो बाघको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । बाघ र मानिसबीचको द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसंगै स्थानीयलाई आयआर्जनमा जोड्नुपर्ने उनीहरुको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीका अनुसार हाल बर्दियामा बाघको संख्या १२५ पुगेको छ ।