लामो प्रक्रिया पुरा गरेपछि मसालको पार्टी सदस्य भए

राम कार्की
कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहनविक्रम सिंहसंग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकाले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको बताउनु हुन्छ, नेता कार्की ।

आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुंदापनि आफू सदस्यताको लागि संघर्ष गरिरहनु परेको उहां बताउनुहुन्छ – पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया पुरा गरेपछि मात्र यसको सदस्य बन्न सफल भए ।

जनवादी मोर्चामा चेग्वेरा र माओका केही रचनाहरू पढेपनि नेता कार्की भन्नुहुन्छ, मसाल मेरो माक्र्सवाद अध्ययन गर्ने पहिलो विश्वविद्यालय हो ।

वि.सं.२०३८ साल तीर नेता राम कार्कीसंगै, कुमार पौडेल, शोभाखर धनञ्जय, दिलीप चौधरी लगायतका नेताहरू रामराजा प्रसाद सिंहले नेतृत्व गरेको जनवादी पार्टीबाट विद्रहो गरेर नेकपा(मसाल)मा प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेश गरेसंगै दिल्लीमा रहेको हरकेश नगरको एकता समाजको कार्यालय रहेर मजदुर संगठनको बिचमा तथा नेपाली एकता पत्रिकामा जोडिएको बताउनुहुन्छ, नेता कार्की ।

नेता राम कार्की भन्नुहुन्छ विभिन्न पार्टीका प्रशिक्षणहरुमा गइरहन्थे । सोनीपतको एउटा कार्यक्रमले मलाई निकै आर्कषित बनायो । त्यो कार्यक्रममा सहभागी हुने हैसियत अझ बनिसकेको थिएन । फरिदाबादको एउटा कार्यक्रममा गोविन्दसिंहले अनुरोध गरेर एउटा भाषण गर्ने अवसर पाएको र त्यही भाषणबाट मजदुरहरूको बिचमा चिनिएको उहां बताउनुहुन्छ– फरिदावादको भाषणपछि विभिन्न कारखाना र मजदुरहरुको बिचमा गएर प्रशिक्षण चलाउने अवसर पाइयो ।

नेता राम कार्की नुवाकोटमा स्कुलको मास्टर पनि भइसक्नुभएको थियो । मजदुरहरूको बिचमा काम गर्दा, चौकीदारको पनि नोकरी गर्नु परेको उंहा बताउनुहुन्छ ।

कमरेडली व्यवहार बिर्सन सक्दैन

दिल्ली क्षेत्र वरिपरी मजदुर साथीहरुको कमरेडली व्यवहार, अहिले पनि बिर्सन नसकेको उहां बताउनुहुन्छ ।दिल्लीको हरकेश नगर कार्यालय बस्दाको दुःख कष्टका साथै संगठनको उत्साहको त्यो पुरानो दिन सम्झदै उहां भन्नुहुन्छ, हरकेश नगर कार्यालयमा पानी, बिजुली केही थिएन । पातलो टिनको छत हुन्थ्यो । गर्मीमा एकदमै पोल्थ्यो । दिसा–पिसाब गर्न बोतल लिएर रेलको लिक वा जंगलतर्फ जानु पर्दथ्यो । पुरुष कहां जाने ? महिला कहां जाने ? केही थाहा हुदैन्थ्यो । पानी खोज्दै गएर २÷३ दिनमा नुहाउन पाइन्थ्यो ।

नेता कार्की भन्नुहुन्छ, नेपाली एकताको सम्पादक नभएपनि सम्पादकीय हेर्ने गर्दथे । परदेशीको चिठी लगायतका स्तम्भ थपेको थिए । त्यो स्तम्भ निकै लोकप्रिय भयो । मजदुर जीवनको कष्टकर अवस्थासंग त्यो सम्बन्धित थियो । पुराना इतिहास कोट्याउंदै भन्नुभयो, १५ दिन पत्रिकाको काम र १५ दिन संगठनकोे काम गर्थे । पत्रिका बेचेपछि मात्र खान अवस्था सिर्जना हुन्थ्यो । पत्रिकाको बिक्री अनुसार के खाने ? भन्ने कुराको निर्धारण हुन्थ्यो । मासु खानु प¥यो भने अलि बढी पत्रिका बेच्नु पर्दथ्यो । हिसाब किताब एकदम प्रस्ट हुन्थ्यो ।

दरियागंजमा नेपाली एकता छापिन्थ्यो । तर संगठनको पैसा बढी खर्च हुन्छ भनेर कहिले ट्याम्पोमा पत्रिका हालेर नल्याएको भन्नुभयो– पत्रिकाको मुठो टाउकोमा बोकेर दिल्लीको डिटीसीको बसमा बोकेर ल्याउने गरिन्थ्यो ।

त्यति बेलाको साथीहरुसंग अहिले पनि भेट्दा जीवन्त क्षणको अनुभूति हुने उहां बताउनुहुन्छ – प्रत्येक दिन संगठन बन्थ्यो । यती साथी संगठित हुन्थे कि हामीलाई भ्याइ नभ्याई हुन्थ्यो । मजदुर साथीहरुको यती हार्दिकता हुन्थ्यो की आफु बाहिर सुतेर हामीलाई मच्छेडदानी भित्र सुताउनु हुन्थ्यो । कतिले त ठुलो मच्छेडदानी भित्रसंगै सुताउनुहुन्थ्यो ।

एकता समाजका मजदुर साथीहरुको सादगी, दुःख–कष्ट र कमरेडली शैली गौरवयुक्त रहेको नेता कार्की बताउनु हुन्छ, – साच्चीकै कमरेडली व्यवहार त्यति बेला नै देख्न पाएको त्यसका साथै निस्वार्थ, निष्कपट भावनाले एउटा ठुलो मुक्ति आन्दोलनमा लागेको अनुभूति हुन्थ्यो ।

हरेक सिर्जनापछि उपलब्धिमा आनन्द आउंछ । त्यो बेला नेपाली एकता र पछि माओवादी आन्दोलनमा लागेपछि माओवादी बुलेटिन आदि प्रकाशन गर्दा तथा आफ्नो विचार प्रवाह गर्दा एकदमै खुसी तथा आनन्दित हुने गरेको नेता कार्की बताउनु हुन्छ ।

उडिसा र बंगालमा पनि संगठनको जिम्मेवारी लिएको नेता राम कार्की बताउनुहुन्छ– पश्चिम बंगालमा पैसा कर्जा लिएर पान पसल खोले । पान पसल त डुब्यो तर त्यो बेलासम्म संगठन बनी सकेको थियो । त्यहां संगठन बनी सकेपछि मोहनविक्रम, बाबुराम भट्टराई, जीवन शर्मा लगायतका नेताहरू त्यहाँ गएको’ वहाँले बताउनु भयो– कानपुरको एकता समाजको राष्ट्रिय सम्मेलनमा एउटा ठुलो शक्ति, पश्चिम बंगालबाट पनि सहभागी भएको थियो ।

व्यक्तिगत रूपमा म सांसद भए, मन्त्री भए । अहिले सत्तामा भएको पार्टीको केन्द्रयी सचिव छु, उहां भन्नुहुन्छ – एक प्रकारको आन्दोलन, तीव्रताका साथ अगाडी बढ्यो र त्यही गतिमा समाप्त पनि भयो । अहिले एक प्रकारको निराशाको अवस्था हो । यस प्रकारको निराशाको अवस्थामा पनि निरन्तर रूपमा आफ्नो उद्देश्यमा खटिरहेका साथीहरुको कथा र .इतिहास पढ्दा आनन्दित हुने उहांले बताउनुभयो, –को कहां छ ? के गर्दै छन् ? उनीहरूको बारेमा सुन्दा पढ्दा म आनन्दित हुन्छु । वैचारिक धार फरक–फरक भएपनि आफ्नो धारमा निरन्तर लागिरहेको देख्दा खुसी लाग्छ ।

प्रेम, सम्बन्ध र जाडरक्सी

त्यति बेलाको मजदुर संगठन अहिलेजस्तो उपभोक्तावादको सिकार नभएको उहां भन्नुहुन्छ, – जाड रक्सी खानु हुंदैन भन्ने होइन तर मसालको संस्कृतिले कहिले जाड रक्सी खाइएन । रक्सी खाने कम्पनी नै नभएपछि कसरी जांड रक्सी खानु ।

मूल्य प्रणालीको बारेमा प्रस्ट पार्दै नेता कार्की भन्नुहुन्छ,स्त्री–पुरुष सम्बन्ध, प्रेम लगायतका विषयहरूमा मेरो राम्रो अध्ययन थियो । त्यस कारण कम्युनिष्टहरुमा आम रुपमा पाइने संकिर्णता मभित्र थिएन । चेग्वेरा, लेटिन अमेरिकाको साहित्यलाई मैले राम्ररी अध्ययन गरेको थिए । मोहनविक्रमका विरुद्ध प्राय त्यही कुरा आउंथ्यो । तर त्यो कुनै तर्क हो जस्तो लागेन । उहांतर्क गर्नुहुन्छ, केटा र केटीको आपसी सहमतिमा सम्बन्ध हुन्छ । तर अरु मानिसलाई खुल्दुली लाग्ने । को कहां बस्यो ? कसरी बस्यो ? पार्टीका नेताहरुको व्यक्तिगत चिया चर्चो गर्ने संस्कृति विकास भयो ।

चौथो महाधिवेशनको स्कुलमा मूल्य प्रणाली र जीवन संस्कृतिको बारेमा राम्ररी बहस हुन नसक्दा मोहनविक्रम र निर्मल लामा, आफै त्यसको सिकार हुनुभयो । मोहनविक्रमलाई महिलाको आरोप लाग्यो र निर्मल लामालाई रक्सीको नेता कार्की भन्नुहुन्छ ।

बनिबनाउ संस्कृतिमा रमाउनु हुंदैन

नेपालको जीवन संस्कृतिमा एक प्रकारको संस्कृति हाबी छ । त्यही संस्कृतिले सबैलाई प्रभावित गरेको अवस्था छ तर कम्युनिष्ट पार्टी, त्यही संस्कृति हराउनु हुंदैन । बनिबनाउ संस्कृतिमा रमाउनु हुंदैन । अनुभव तथा व्यापक बहसका साथ कुन संस्कृति ठिक हो ? त्यो छान्न सक्नुपर्दछ । नेता राम कार्कीले बताउनु भयो ।

चराले पखेटा फेरे जस्तै, सर्पले कांचुली फेरे जस्तै कम्युनिष्ट पार्टीहरूलार्ई अद्यावधिक गर्नुपर्ने नेता कार्कीको तर्क छ – त्यो अद्यावधिक गर्ने कार्य, महाधिवेशनले गर्दछ । तर अहिलेका कम्युनिष्ट पार्टीका महाधिवेशनमा बहस छलफल गरेर अगाडी बढेको अवस्था नै छैन । परम्पराको निर्वाह मात्र भइरहेको अवस्था छ ।
कार्कीसंगको कुराकानीको आधारमा
–समीर सिंह