नेकपाको हिरक जयन्ती र आन्दोलनको अवस्था

गणेश आचार्य
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ बर्ष भएको छ । यो हिसाबले अहिले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हिरक जयन्तीको बर्ष हो । यो बिचमा नेपाल कम्युनिस्ट पार्टीमा धेरै टुटफुट र बिभाजनहरु भए । विभिन्न अति र भडकाबका सिकार पनि भए । कम्युनिष्ट कै जनमतबाट बहुमत र नेतृत्वमा दुइतिहाइका सरकार पनि बने । तर किन आजपनी जनमुखी शासन ब्यबस्था हुन सकेन ? किन आमजनताको जीवनस्तर माथी उठन सकेन ? जातीय, क्षेत्रीय, लैङ्गिक र बर्गिय बिभेदको अन्त्य किन हुन सकेन ? ती तमाम सबालहरु अनुत्तरित छ्न । यसै सबालमा यहाँ थोरै चर्चा गरीने छ ।

 

नेपाल कम्युनिष्ट पार्टी मसाल र राष्ट्रिय जनमोर्चाले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाइराखेको छ । गत बैशाख मा उदघाटन गरेर आगामी बैशाखमा समापन गर्ने गरि बर्षभरीको हिरक जयन्तीको कार्यक्रम गरिहेको छ । उसले यो कार्यक्रमको मुल नारा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तर्ण गरौ भन्ने तय गरेको छ ? आखिर किन यस्तो नारा तय गर्नु पर्यो ? कम्युनिस्ट आन्दोलन आफैमा क्रान्तिकारी आन्दोलन होइन र ? अनि कम्युनिस्ट पार्टी ले क्रान्तिकारी रुपान्तरणको कुरा किन ? यो पनि एउटा जायज सबाल नै हो । यो विषयमा पनि चर्चा र व्याख्या हुन जरुरी छ । त्यो विषयमा पनि यहां केही चर्चा गरिनेछ ।

सर्बप्रथम पहिलो प्यारामा उल्लेखित सबालहरुको चर्चा गरौ । सबैभन्दा दुखको विषय नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत हुन सकेन । कम्युनिष्ट सिद्धान्त र आदर्शमा रहन सबैलाइ गारो भएका कारण विभिन्न समयमा कम्युनिष्ट आन्दोलनमा बिभाजन भयो । नेपालमा राणा, पन्च र मुख्य जिम्मालहरुको प्रभाव कुनै न कुनै रुपमा कम्युनिष्ट आन्दोलनमा पनि पर्यो । जसका कारण कम्युनिष्ट नेताहरुमा पनि सासक बन्ने भुत सबार भयो । त्यसैको कारण कम्युनिष्ट पार्टी, आदर्श र नैतिकतालाई तिलान्जली दिएर भएपनि सासक बन्नेक्रम सुरु भयो ! त्यसले जुन सुकै नैतिकता बेचेर भएपनि सत्तामा जान पर्छ भन्ने भाबना बिकसित भयो । त्यसले कम्युनिष्ट आन्दोलनलाई ठूलो स्तरमा स्खलन गरायो र बिभाजन पनि भयो । यो संगै अर्को दुखको कुरा नेपाली जनताको कम्युनिस्ट बिचार र दर्सन प्रतिको आकर्षणका कारण कम्युनिष्ट नाम छोडन पनि नसक्ने र आफुलाई वास्तविक कम्युनिष्टको रुपमा बचाउन पनि नसक्ने भयो । पटक पटक कम्युनिस्ट नाम राखेका पार्टीहरुको नेतृत्वम सरकार बन्यो तर उसले काङ्ग्रेसले भन्दा फरक केही गर्न सकेन । त्यसैका कारण त्यो “कम्युनिस्ट सरकार“ ले कम्युनिस्ट कै बदनाम गर्यो । कम्युनिष्ट पनि केही फरक रहेन्छन , यिनिहरुको नारा मात्र राम्रो रहेछ , यिनिहरुपनी भ्रष्ट र नैतिकताहिन हुदारहेछ्न भन्ने भाबनाको बिकास भयो । कम्युनिष्टको लोगोलाइ नै उनिहरुले ट्रेडामर्क को रुपमा प्रयोग गरे । भन्दा समाजबाद र समानताको कुरा गर्ने, कम्युनिष्ट आदर्शकै कुरागर्ने तर व्यबहारमा पूंजीवादी भन्दा पनि पिछडिएको सामन्ती व्यबहार गर्ने भयो ।“ जनयुद्ध“ गरेको पार्टीले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय चिन्ह हसिया हतौडालाइ नै चुनाब चिन्हको रुपमा प्रयोग गरेर रणनीतिक उदेश्य नै यहि संसदीय ब्यबस्था बनायो । यसरी कम्युनिष्ट आन्दोलनलाई बदनामित गर्ने काम भयो ।

नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो कारणले मात्र हैन, जान अन्जनानमा बहिय बिचार र राणनितिको सिकार पनि भयो । जातीय अन्तर्घुलन कम्युनिष्टको उदेश्य हो , जातिय विभेद र असमानताको अन्त्य हो । तर कम्युनिस्ट पार्टी भित्रै जातीय पहिचान र अस्तित्वका कुरा जबर्जस्त रुपमा स्थापित गराउने प्रयत्न भयो । सामाजिक रुपमा र सामाज बिकासको चेतना स्तर वृद्धि हुँदै जादा बिस्तारै कम्जोर बन्दै गइरहेको जातिय विभेद र अन्तरको कुरालाइ झनै जगाउने काम भयो । यो कम्युनिस्ट बिचार बिरोधि कुरा थियोे । यति सम्मको सुषुप्त बन्दै गैराखेको जाती विभेद पनि वृद्धि भएर गयो । कम्युनिष्टहरुको उद्देश्य कथित ठुला जातले कथित सानाजात माथी गरेको बिभेदको अन्त्य गर्ने कुरा हो । त्यो क्रमश बिकाश हुँदै गइरहेको थियोे । तर जातिय राज्य र पहिचानको कुराले कथित माथिल्लो जातमा पनि हाम्रो पहिचान त यहि हो भनेर अन्तर कायम गर्न पाउनु पर्छ भन्ने प्रतिगामी भावना पनि किकसित भए । बिचारहरु हचुवाका आधारमा बनाउदा त्यस्ले उल्टै आफैलाइ क्षती पुराउने काम समेत भयो । त्यसैले कमरेड माओ ले दस पटक नाप एक पटक काट भन्ने कुरामा जोड दिनु भएको थियोे ।

कम्युनिष्ट आन्दोलन भित्रै र कम्युनिष्टको जनमत धेरै भएको बेला साम्प्रदायिक भावना यसरी विकसित भयो कि त्यो कम्युनिष्ट आन्दोलनलाई लज्जित गर्ने स्तरको भयो । पछाडि परेको समुदायको समस्या पहिचान गर्ने ,उनिहरुलाइ अधिकार सम्पन्न गर्ने र समानता कायम गर्ने भन्दा जाती र लिङ्गका आधारमा त्यो समुदायका केही अगुवाहरुलाइ अबसर दिने भन्दा अरु हुन सकेन । कम्युनिष्ट पार्टीले सहभागीतामा भन्दा सम्पूर्णको अधिकारमा ध्यान दिनु पर्ने हो । यसको अर्थ सहभागीता हुनु हुदैन भन्ने हैन । सकेसम्म पछाडि परेको बर्ग समुदायबाट नै सम्पूर्ण सहभागी गराउनु पर्छ । तर मुख्य कुरा एकाध मान्छेको सहभागी होइन सम्पुर्ण पछाडि परेको बर्ग समुदायको मुक्ती र समानताको कुरा हो । पछाडि परेको बर्ग समुदायको सहभागीता हुने तर त्यही बर्ग हितको योजना कार्यक्रम बनाउन नसक्ने हो भने त सहभागीको केही अर्थ भएन । हाम्रोमा राजनीति लाई सेबा होइन ब्यापार बनाएको कारण सहभागीतामा मात्र जोड भयो । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुंदासमेत सबैभन्दा ज्यादा मान्छेको राजनीतिमा आकर्षण किन भयो ? किनकी त्यसलाई व्यापार बनाइयो । कम्युनिष्ट पार्टी नेतृत्वको सरकार हुदा धेरै मान्छेको आकर्षण राजनीति होइन उत्पादनमा हुनुपर्ने थियोे ।

अहिले हामिले कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भनेर अभियान नै संचालन गरेका छौ । कम्युनिष्ट आन्दोलन आफैमा क्रान्तिकारी आन्दोलन हो । उसले त समाजलाइ क्रान्तिकारी रुपान्तरण गर्ने हो । तर यहाँ समाजमा भन्दा ज्यादा समस्या कम्युनिष्ट आन्दोलन भित्र नै रहयो । माथी उल्लेखित जति पनि समस्याहरु छ्न ती सबै कम्युनिस्ट आन्दोलन भित्रकै समस्या हुन । त्यसैले कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भन्नु परेको छ ।

कम्युनिष्ट आन्दोलनमा रुपान्तरण गर्ने वा कम्युनिष्ट पार्टीलाई राम्रो बनाउने भनेको भोटर संख्या वृद्धि गर्ने वा पार्टी लाई ठूलो बनाउने कुरा मात्र हैन । आन्दोलनलाई बलसाली बनाउन पार्टीको साइज बढाउने वा क्याडरहरु वृद्धि गर्नु पनि एउटा महत्त्वपूर्ण कुरा त हो । तर मुख्य कुरा कम्युनिष्ट चरीत्र निर्माण गर्ने कुरा हो । कम्युनिष्ट चरीत्र बेगरको कम्युनिस्ट पार्टी भनेको खहरे खोला जस्तै हो । जसले राम्रो भन्दा ज्यादा खराब काम नै गरेको हुन्छ । नेपालमा कम्युनिष्टको जनमत राम्रो हुदाहुदैपनी त्यसलाइ कमान्ड गर्नेहरुमा नै पंूजीवादी र नोकरसाहि सामन्ती प्रवृत्तिको बाहुल्यता हुदा कम्युनिष्ट आन्दोलन बदनामित भएको छ । अहिले पनि नेपालमा भएको कम्युनिष्ट जनमतका आधारमा कम्युनिष्ट चरित्र निर्माण गर्ने र देश बिकासको स्पष्ट खाका हुने हो भने अन्य अहिलेका विकसित देशहरू यो अबस्थामा आउन लागेको समय भन्दा कैयो छोटो समयमा हाम्रो देस समृद्ध र विकसित हुनेछ । तर नेताहरुमा त्यो सोच नै छैन । बरु आफू, आफ्नो समूह, आफ्नो पार्टी के गर्दा सत्तामा पुग्छ, कस्को दलाली गर्दा सत्तामा पुछ, कसरी आफुले राज्य श्रोतलाइ दोहन गर्न सकिन्छ । त्यो कुरामा मुख्य ध्यान छ ।

नेपालमा अहिले कम्युनिस्टको सरकार हो कि काङ्ग्रेसको भनेर छुट्याउने कुनै आधारह नै छैन । संविधानमा समाजबादको परिकल्पना छ तर व्यबहार पन्चायत र पन्चेहरुको भन्दा माथी छैन । कम्युनिस्ट नामका सत्ताको लागि मर्नेदलहरु कुनै पनि सत्ताको लागि साम्राज्यवाद , सामन्तवाद , पुजीवाद शीत दलाली गर्न र घाँटी जोड्न पछाडि पर्दैनन । यो अवस्था बाट देश र कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन हरेक कम्युनिस्ट पार्टी भित्रको क्रान्तिकारी तप्का , नया पुस्ता र निष्ठा बचाइराखेका कम्युनिस्ट घटकहरुले गम्भीर रुपमा सोच्नै पर्छ । हैन भने कम्युनिस्टको नाममा केही मान्छेको जिबनलाइ निष्ठा र आदर्शको मन्त्रभित्र रोमलेर जीवन कष्टकर बनाउने , रोगी बनाउने र देश छोडन बाध्य पार्ने भन्दा अरु केही हुने छैन । अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा उज्ज्वल ताराहरु छ्न ती तराहरुलाइ निभाउने हैन अझै चम्किलो बनाउदै अगाडी बढने हो ।

लेखक – राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष ।

२०८० असोज ८ गते ।