पूर्खाले जंगलमा पशुपालन गरी जीवन विताएका गोठक्ना अवलोकन

ज्ञामुराम न्यौपाने
प्यूठान, कार्तिक १३ गते । हाम्रा पूर्वजहरूले झण्डै आधा सताब्दीसम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । खास गरी प्यूठानस्थित पूंजाबासीको गोठजीवनबारे अध्ययन गर्न खाबाङ र स्याउलीवाङ एरियाका जंगली गोठक्नाहरुको अवलोकन गरिएको छ ।

स्थानीय राजनीतिक कर्मी तथा सामाजिक व्यक्ति ज्ञामुरा न्यौपानेसहितको ११ जनाको टोलीले हाम्रा पुर्खाहरुले लामो समय जीवन विताएका पाखा पखेरामा रहेका गोठक्नाहरुको अवलोकन तथा निरिक्षण गरेका हुन् ।

झण्डै ४० किलो मिटर पैदल यात्रा गरी जंगल भित्रका पुराना पुराना गोठहरुको अवलोकन गरिएको लोकबहादुर केसी र चुडामणी शर्माले नयांदिशालाइ बताएका छन् ।
प्यूठानको गौमुखि गाउंपालिकाको देउराली, मालिंगा, तोसल्मारे, टेक्का, धन्द्रेङ, दसुलढुंगा, फुर्सेगोठक्ना, गौथलेडांडा, कुकुर्चेन, भोल्टाताछे(भोल्टा; हातमा लगाउने एक प्रकारको काठको बालो) तौर,पुनाखोर्रे , घोरेढुंगा, गौडापात्ला, भेडाखोर, ठूलापात्ला, साईविस्नाका गोठक्नाहरुको अवलोक गरिएको छ ।

कैयौं गोठक्नाहरुबाट गोठहरु हटेपछि आजकल उक्त ठाउंमा जंगल र झाडिले ढाकेको ज्ञामुराम न्यापानेले बताए ।
उक्त ठाउंमा गोठबस्ने संस्कृति विगत ३०–४० वर्षदेखि लोप भएर गएकाले हाम्रा पुर्खाहरुको इतिहांस राख्नका लागि पनि उक्त ठाउंका गोठाक्नाहरु स्थानीय सरकारले सम्भव भएसम्म संरक्षण गर्न आवश्यक रहेको स्थानीयको माग छ ।

गोठवस्ने समयमा रुख–भिरबाट लोटेर कैयौं गोठालाको ज्यान गएको थियो। लैसारे बलराम शर्मा–२०१०, अखटेङका लोकु पाध्य–२०२४, डोहाबारी कान्ता खत्री २०३१, सात्काचौरे भोपलाल शर्मा–२०३५, को अकाल ज्यान गएको ठाउँहरु हेर्दा हामीहरू भावुक बन्यौं । जंगलमा ज्यान गुमाएका सबैको विवरण छैन । उनीहरुको सम्झलनामा गौथली खोलामा एक अवलोकनको टोलीली एक मिनेट मौनधारण गरेर पुर्खाहरुको समझाना गरेका छन् । साईबिसौनामा पोरे खाएर गौडा ठगिन्द्रका चुमानसिंहका १४ वटा भैंसी एकैदिन मरेका थिए । उक्त ठाउंमा अहिले बांझ, खर्सु, सरी, चांप, कटुस, फुर्से, गुरांस, अयर, दबदबे, चन्दन, पाङो,चिन्ने, सौरका घना जंगलले भरिएको छ । गाईवस्तुको दाम्ला बाट्न प्रयोग हुने गोलो, काली ऐशलु र जाईको झाडीले पहिलाका गोठाक्ना भएको ठाउं पुरै भरिएको छ ।

गोठबस्नेहरुका अनुभव सुन्दा बाघ भालु र सिकारीको डर, गाईबस्तु लोटेर मर्ने, घाइते पशुलाई ठाडा बोकेर गोठ ल्याउनु पर्ने, जंगलमा पशु हराउने गरेको बुढा पाकाहरु बताउछन् ।
बुढा पाकाका अनुसार खाने खर्च सक्किने÷ चोरी हुने, बच्चा र गर्भवतीहरुको दुःख, आगो निभेर टाढा आगो माग्न जानु पर्ने, जाडो महिनामा एउटा काम्लाको भरमा रात बिताउनु पर्ने, दैनिक रुखभिर गर्नु पर्ने, ठेका वा थुन्सेमा महिदही बोकेर घर गोठको लामो यात्रा भै रहने जस्ता थुप्रै समस्या जंगलमा बस्ने गोठालाहरुले भोग्नु पर्ने थियो रे ।

जीवनका सबै इच्छा, शिक्षा र सुविधा भुलेर पसुपालनको लागि घना जंगलका बीचमा रहने गोठक्नाहरुमा खालीखुट्टा, फाटेको टोपी,एउटा भाङो र लंगौटी लगाएर सिंगो जीवन बिताउने हाम्रा पूर्वजहरू वास्तवमै फरक विशेषता सहितका ऐतिहांसिक पात्र थिए ।