कोदाको माग बढ्दै, उत्पादन घट्दै

बुटवल, मंसिर २ गते । कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्वन गर्न लागिएको छ । २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष मनाउन सुरु गरिएको छ। नेपालले पनि यसलाई विशेष प्राथमिकता दिंदै देशव्यापी कोदोजन्य बाली वर्ष मनाउने भएको छ ।

खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणका लागि कोदोजन्य बाली नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउन लागिएको हो । स्वास्थ्यवद्र्धक रैथाने बालीहरू लोप हुंदै जान थालेपछि कोदोदलाई प्रवद्र्वन गर्न लागिएको हो । कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले रैथाने बालीको प्रवद्र्वन गर्ने गरी कार्यक्रम गर्ने भएको छ । विशेष गरी पहाडी क्षेत्रमा बढी मात्रमा फल्ने कोदो उत्पादन घटेपछि किसानदेखि उपभोक्ता र सारोकारवालाहरुले रैथाने बाली कोदाको संरक्षणका लागि आवाज उठाउन थालेका छन् ।

 

सरकारले केही वर्षदेखि स्थानीय तहलाई लक्षित गर्दै रैथाने बाली कोदो उत्पादनलाई प्राथमिकता दिएपनि कोदो फल्ने ठाउंमा कोदो उत्पानमा कमी आएको छ । पोषिलो, स्वादिलो, गुणस्तर र पञ्चगुण तत्वले भरिपूर्ण कोदो स्वास्थ्यका लागि उपयुक्त हुंदा अहिले कोदाको माग बढेको छ । सरकारले १३३ गाउंपालिकालाई कोदो खेतीका लागि अनुदान दिएपनि माग अनुसार कोदो उत्पादन भएको छैन ।

परम्परागत रूपमा कोदो मुख्यतः ढिंडो, रोटी र पशुको आहारमा प्रयोग हुन्छ। अहिले होटेल तथा रेष्टुरेण्ट व्यवसायीले कोदोलाई मःमः, पिजा, हलुवालगायतका परिकार बनाउन थालेपछि कोदाको झनै माग बढेको हो । मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडा पखालाका लागि उपयोगी हुने र बोसो कोलेस्टोरोलको मात्रा घटाउने भएकाले कोदाको पिठो सबैका लागि हितकर हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

पहिला – पहिला गरिब र निम्न वर्गकाले खाने मान्यता रहेको कोदोको ढिडो यतिबेला शहरमा पनि निकै खपत हुन लागेको छ । स्वास्थ्यका दृष्टीकोणले निकै फाइदाजनक हुने पुष्टि भएर कोदोको माग बढेको हो । शहरका तारे होटलदेखि साननातिना होटलमासमेत ढिडो खानेहरुको संख्या बढेपछि गाउंमा नै कोदाको अभाव हुनथालेको पाल्पाका राजनीतिक कर्मी तथा किसान विशाल दर्लामीले बताए ।

सरकारी तथ्यांक अनुसार नेपालमा कोदो बालीको क्षेत्रफल पहिलेभन्दा घटेको छ । देशको कुल खाद्यान्नको क्षेत्रफको ७.७ प्रतिशत कोदो बालीले ओगटेको सरकारी तथ्यांकले देखाएको छ । समुद्री सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो फल्ने गर्दछ । लुम्बिनी प्रदेशको रोल्पा, रुकुम, प्यूठान, गुल्मी, अर्घाखांची र पाल्पामा कोदाको खेती गरिन्छ । विश्वमा कोदो उत्पादन गर्ने देशमा नेपाल १३ स्थानमा पर्दछ ।