पाल्पाको अमलावास सुन्तला गाउंबाट परिचित


श्यामलाल पोखरेल
बुटवल, मंसिर १५ गते । पश्चिम पाल्पाको रैनादेवी छहराको अमलावास गाउंको नाम नै सुन्तलाले परिवतन गराएको छ । परापूवर्क कालदेखिको अमलावास गाउं अहिले सुन्तलावास गाउंको रुपमा परिचित हुन थालेको छ । अमलावासको पूरै गाउं सुन्तला खेतीले ढाकेको छ ।

अमलावासका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । गाउंमा २०४० सालमा पहिलोपटक सुन्तला लगाएर चर्चामा आएका गाउंका अगुवा कृषक यमलाल कोइराला सुन्तला खेतीको प्रेरणा हुन् । मकै, कोदो र गहुं आदि फल्ने बारीमा सुन्तला रोप्दा आफुलाई गाउंमा पागल भनिएको बताउनुहुनछ कृषक यमलाल कोइराला । तर सुन्तला लगाएको तीन वर्षमै कोइरालाले सुन्तलाबाट २० हजार आम्दानी गर्न सफल भएपछि गाउंका अन्य व्यक्तिले सिको गरी सुन्तला खेती गर्न थालेका थिए। अहिले प्रत्येक परिवारले एक सयदेखि पांच सयसम्म सुन्तलाका बोट लगाएका छन् । प्रशस्त आम्दानी भएपछि अमलावासी अन्य खेती छोडेर सुन्तलातिर आर्कषित भएका हुन् ।
अमलावासमा ५० घरपरिवारले मुख्य पेशा सुन्तला खेती बनाएर आम्दानी गर्ने गरेका छन् । अमलावास क्षेत्रमा एक कृषकले दुई लाखदेखि १५ लाख रुपैयांको सुन्तला बिक्री गर्दै आएका सुन्तला व्यवसायी चेतनारायण न्यौपानेले बताउनुभयो । २५ वर्षदेखि भारतमा गर्दै आएको काम छोडेर गाउंमा सुन्तलाको विरुवा रोपेको र विगत १५ वर्षदेखि निरन्तर सुन्तला खेतीवाट आम्दानी गर्दै कृषक चेतनारायण न्यौपानले बताए । सुन्तलाको आम्दानीबाट घरखर्च चलाएर ४ जना छोरा छोरीलाई बढाएर बिवहादान पनि सकेको बताउने कृषक न्यापानेले यस वर्ष करिव १० लाखको सुन्तला बेच्ने योजनामा छन् ।

रोग निम्त्याउने किराको व्यवस्थापन समयमै भएकाले सुन्तलाको उत्पादन राम्रो भएको अमलावासका कृषकको भनाइ छ । उत्तरतर्फ फर्केको जमिन, ओसिलो जमिन, हिमालका प्रशस्त भूभाग देखिने स्थान भएकाले सुन्तला खेतीलाई आवश्यक पर्ने हावापानी सुहाउंदो भएकाले सुन्तला उत्पादन राम्रो हुने अमलावास सुन्तला तथा फलफुल समुहका अध्यक्ष कृषक शरोज पोखरेलले बताए ।
गाउंमा अचेल बुढाबुढीको पेन्सन भनेकै सुन्तला भएको स्थानीयको भनाइ छ । व्यपारीले किसानको बारीमा पुगेर प्रति किलो ६० रुपैयांदेखि ९० रुपपैया सम्म सुन्तला खरिद गर्ने गरेका छन् । अमलावास गाउं अहिले सुन्तला गाउंको रुपमा परिचित हुन थालेपछि गाउंमा पछिल्लो समय अन्य ठाउंका सुन्तला कृषकहर सुन्तला बगैचाको अवलोकनमा आउने गरेका छन् ।
पश्चिम पाल्पाको सुन्तला राम्रो ठुला दाना र सफा भएकै कारण बिर्की गर्न कुनै कठीनाइ नहुने सुन्तला व्यापारीहरुको भनाइ छ । अमलावासमा उत्पादन भएका सुन्तला पाल्पाको तानसेनसंगै बुटवल, भैरहवा नेपालगञ्ज सम्ममा निर्यात गरिएको छ । पाल्पाबाट मात्रै वार्षिक १८ करोडको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले बताएको छ ।