लाहुरे टांसिएको भिर, सुपा मन्दिरप्रति धार्मिक पर्यटक आर्कषित

सुपा देउराली मन्दिरको भेटिबाट वार्षिक ८० लाखदेखि १ करोड आम्दानी

श्यामलाल पोखरेल

बुटवल, पुस १६ गते । धर्ममा आस्था राख्नेहरुका लागि अर्घाखांचीको सुपा देउराली मन्दिर धार्मिक पर्यटकीय केन्द्र मानिन्छ । सुपा देउरालीलाई भाकल गरेपछि मनोकामना पूरा हुन्छ भन्ने परम्परादेखिको धार्मिक विश्वास छ । फूल चढाएर देउरालीप्रति धार्मिक सद्भाव राख्नेहरुको दैनिकजसो भीडभाड हुन्छ सुपा मन्दिरमा ।

अर्घाखांची सन्धिखर्क नगरपालिका–७ र शितगंगा नगरपालिका २ को सीमाना खांचीकोटमा पर्ने सुपा देउराली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ । नरपानी र फलामे दुई अग्ला महाभारतबीचको खोंचमा अवस्थित मन्दिरमा एकादशी, औंसी र पूर्णिमाबाहेकका दिनमा भाकल चढाउने चलन छ । शनिबारका दिन भाकल चढाउनेहरूको भिड लाग्ने गर्दछ । सुपा मन्दिरका कारण अर्घाखांचीमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ ।

धार्मिक आस्थाको केन्द्र सुपा देउराली मन्दिरको आम्दानी शैक्षिक क्षेत्रमा लगानी गरिएको छ । मन्दिरको भेटीबाट अर्घाखांचीका दुईटा विद्यालयका शिक्षकलाई तलब खुवाउने गरिएको छ । खांचीकोटको आदर्श माध्यमिक विद्यालयका पांच र सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका सात जना शिक्षकलाई मन्दिरकै आम्दानीबाट तलब खुवाउने गरिन्छ ।

सुपा देउराली मन्दिर दर्शनका लागि दैनिक रुपमा १ कजारदेखि ७ हजारसम्म भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । अध्यक्ष केसीका अनुसार वार्षिक ८० लाख देखि १ करोडसम्म भेटिबाट आम्दानी हुने गर्दछ ।

भेटीबाट संकलन भएको ७५ प्रतिशत रकम विद्यालायमा जाने र २५ प्रतिशतले मन्दिरको व्यवस्थापन गर्ने गरिएको स्थानीय नारायण खनालले बताए । भेटीको आम्दानीबाटै गरीबलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा वृद्धवृद्धालाई सहयोग र सडक विस्तारमा सहयोग गरिएको छ । सुपा देउराली मन्दिर समुन्द्री सतहबाट ४ हजार ५ सय फिटको उचाइमा रहेको छ । भारतदेखि सुपा देउराली आसपासका जिल्ला गुल्मी, प्यूठान, रुपन्देही, पाल्पा, दाङ, रोल्पा लगायतका आन्तरिक पर्यटकको रोजाईमा छ सुपा देउराली पर्दछ ।

सुपा देउरालीको रोचक किंवदन्ती

सुपा देउरालीको आफ्नै रोचक र लामो किंवदन्ती छ । सुपा मन्दिरको निर्माण वि.स. १६ सय सालमा खांचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको कुरा धार्मिक इतिहांसमा उल्लेख गरिएको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कादा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएको भन्ने किंवदन्ती छ ।
देवीले भाकल गर्नेलाई भिरमा टांसिदिएको किम्बदन्ती रहेको छ। अहिले पनि उक्त भिर यथावत् रहेको छ। जुन लाहुरे टांसिएको भिरको नामले निकै नै प्रसिद्ध छ । मन्दिर परिसरबाट हिमाल, पहाड र तराई एकैसाथ देख्न सकिन्छ ।

बाइसे–चौविसे राजाको पालामा खाँचीकोटका राजकुमार र भारत बलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने टुँगो भएछ। लगनको दिन दुलही लिएर अर्घाखाँची फर्कने बेला बाटोमा जन्तीलाई भोज खुवाउने योजना बनेछ। भोज खाने क्रममा जन्तीबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलहीतर्फको जातको प्रसंग निकाल्दा जन्तीहरूका बीचमा विवाद भएछ।

भोजमा जेजस्तो विवाद भए पनि दुलही खाँचीकोटसम्म पुर्याउनुपर्ने हुँदा जन्तीहरू अघि बढेछन्। बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ। जन्तीहरू आत्तिएर तामदानमा हेर्दा दुलही मृतावस्थामा देखेछन्। अनि सबै जन्ती शोकाकुल भएछन्। दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न भएछ।

भोलिपल्टबाट गाउँमा रोगव्याधि उत्पन्न हुन थालेछ। गाउँघरमा मानिसको समेत मृत्यु हुन थालेछ। सबै मानिस आत्तिन थालेछन्। गाउँका धामीझाँक्री र जोखाना हेर्ने जैसीको खैलाबैला भएछ रे । त्यसैबेला एक जना झाँक्रीले विवाह गरेर ल्याएकी राजकुमारी देवीको स्वरूप उत्पन्न भएकाले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताए छन् रे ।

त्यसपछि गाउँलेहरू दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान भन्ज्याङमा आएर सुपादेउरालीको प्रतिमा राखी पूजा शुरु भएको भन्ने किंवदन्ती छ ।