जगदिशपुरमा तालमा लोपोन्मुख चराको संख्या घट्दै

कपिलवस्तु, माघ ७ गते । कपिलवस्तुको जगदीशपुर ताल अजीव चराहरुको घर मानिन्छ । यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु बासस्थानका लागि आउने गर्दछन् । आफैंमा अजीव चराहरुको घरको रुपमा चिनिएको तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे, पानी हांस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला, सेतो गरुड जस्ता ४३ जातीका लापोन्मुख चराहरु आउने गर्छन् ।

विश्मा नै लोपोन्मुख चराहरुको बासस्थान जगदिशपुर तालमा यो वर्ष भने चराहरको संख्या घटेको छ । नेपाल पंक्षी संरक्षण संघका प्रतिनिधि तथा चरा विज्ञहरुले गणना गर्दा चराहरको संख्या घटेको हो । गत वर्ष गणना गर्दा ११ हजार चरा भेटिएकोमा अहिले ८ हजारमा केही बढीको संख्यामा मात्रै चराको संख्या रहेको चरा विज्ञ तथा नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत इश्वरी प्रसाद चौधरीले बताए ।

मानवीय गतिविधिका कारण नै चराहरको संख्या घट्न सक्ने चरा विज्ञ चौधरीले बताए । विकास निर्माण र डुंगा चलाउंदा पनि चराहरुलाई तालमा बून असहज भएको चरा विज्ञहरुको भनाइ छ । जगदिशपुर तालमा साइबेरिया, ट्रकी विशेष गरी उत्तरी धुर्वबाट चसो छल्न बिदेशी चराहरु आउने गर्दछन् । विभिन्न प्रजातिका लोपोन्मुख चराहरु बस्ने भएकाले मानव निर्मित जगदीशपुर तालको महत्व बढेको हो । एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ जगदीशपुर ताल ।

नेपाली भन्दा बाहिरबाट धेरै चराहरु आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चराहरु आउने सिमसार क्षेत्र हो । अहिले रहेका कूल १० सिमसार क्षेत्र मध्येको एक यसलाई सन् २००३ मा विश्व सिमसारको सूचीमा राखिएको थियो ।
तालबाट चराहरको चोरी निकासी हुंदा पनि चराहरु बस्नका लागि सहज वातावरण नभएको चरा विज्ञहरुको भनाइ छ ।