लम्बुसागर ताल संरक्षण गर्दै लुम्बिनी विकास कोष

राज्य र राजनीतिक दलहरुले ध्यान नदिएको स्थानीयको गुनासो

श्यामलाल पोखरेल

बुटवल, माघ १४ गते । कपिलवस्तुको सगरहवा तथा लम्बुसागर ताल ऐतिहांसिक, पुरातात्विक महत्वको पर्यटकीय स्थल हो । धार्मिक रुपले पनि महत्वपूर्ण मानिन्छ सगरहवा तथा लम्बुसागर ताल । सगरहवा बौद्वकालिन सम्पदा मध्ये एक महत्वपूर्ण सम्पदा हो ।

५८ विघा क्षेत्रफलमा फैलिएको सगरहवा ताल आकारको हिसावले पूर्व– पश्चिम लामो स्वरुपमा फैलिएकाले यो ताललाई स्थानीयले लामो सागर अर्थात लब्मुसागर ताल पनि भन्दछन् । सगरहवा ताल एक वर्ष अघिसम्म सगरहवा सामूदायिक बनले हेर्दै आएको थियो ।ऐतिहांसिक, पुरातात्विक महत्व बोकेको ताल पुरिदै जान थालेपछि स्थानीयले संरक्षणको माग गर्दै आवाज उठाएपछि लुम्बिनी विकास कोषले तारबार गरी संरक्षणमा लागेको छ । अहिले लुम्बिनी विकास कोषले ताल क्षेत्रको सिमाना छुट्टाएर तारबार गरेको छ ।

आन्तरिक र बाह्य पर्यटक ताल अवलोकन गर्न आउन थालेको स्थानीय विपी भुसालले बताए । २५ सय वर्ष अघिको बुद्वकालिन समयको ताल संरक्षणका लागि राज्यले ध्यान नदिंदा पुरिदै गएको स्थानीय विपी भुसाल बताउछन् । पुरातात्विक विभाग र जिल्ला वन कार्यालयले ताल क्षेत्रको जग्गा नापजाच गरेर छुट्टाएको थियो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा पर्ने सगरहवा तथा लम्बुसागर तालमा साइबेरिया, ट्रकी विशेष गरी उत्तरी धुर्वबाट चिसो छल्न बिदेशी चराहरु आउने गर्दछन् । ७७ हजार शाक्यको सामूहिक वध गरिएको स्थल रहेको बौद्व साहित्यहरु र चिनिया यात्रीहरुको यात्रा बृतान्तमा सगरहवा क्षेत्र र सगरहवा तालबारे उल्लेख गरिएको छ । अहिले सगरहवा तथा लम्बुसागर ताल क्षेत्र शाक्यहरुको पृतिमोक्ष स्थलको रुपमा परिचित छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरुले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुपहरु निर्माण गरेको चिनिया यात्री हुयन्साङको सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरेको पाहिन्छ । जगदीशपुर ताल नजिकै रहेको ऐतिहासिक सगरहवा तालप्रति राजनीतिक दल र राज्यले ध्यान नदिंदा ओझेलमा परेको स्थानीयको भनाइ छ ।
सगरहवा ताल क्षेत्रमा ३ हजार वर्ष अघिका पुरातात्विक वस्तुहरू रहेको बताइन्छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज ट्टराईले तालको उपल्लो भागमा पर्खाल लगाईएको र सुकुम्वासीको व्यवस्थापन गरेपछि तालको उचित संरक्षण गर्ने योजना बनेको बताए ।

संरक्षणको अभावका कारण ऐतिहांसिक महत्व बोकेको ताल पुरिदै जान थालेपछि चिसो छल्न आउने विदेशी चराहरु पनि बस्न छोड्दै गएपछि स्थानीयले ताल संरक्षणका लागि केही वर्षदेखि आवाज उठाउंदै आएका थिए ।
अहिले लुम्बिनी विकास कोषले संरक्षण गर्न थालेपछि र लुम्बिनी विकास कोषको अगुवाईमा नै सगरहवामा मूर्तिकार्यशाला आयोजना गरेपछि समग्र सगरहवाको संरक्षण हुनेमा स्थानीय विश्वस्त छन् ।

पुरिदै गएको सगरहवा तथा लम्बुसागर ताल लुम्बिनी विकास कोषले संरक्षणका लागि केही काम गरेकाले तालको उचित संरक्षण हुने र सगरहवामा अब विदेशी र स्वदेशी पर्यटक आउने आशा जागेको स्थानीय विनोद परियारले बताए ।

लुम्बिनीसंग जोडिएको बुद्वकालिन सभ्यता बोकेको समग्र सगरहवाको विकासले नेपालमा विदेशी पर्यटक भित्राउन सकिने र अर्थतन्त्र बलियो बन्ने लुम्बिनी प्रदेशका सांसद तथा नेकपा एमालेका नेता विष्णु पन्थीको भनाइ छ ।