प्रकृतिका धनी गाउंघरका डांडापाखा

सत्ता र शहरको चासो छैन

प्यूठान, माघ २२ गते । नेपालका गाउंहरु प्रकृतिका धनी छन् । सरकारको विकास बजेटले नदेखे पनि गाउंघरको आफ्नै प्रकारको शान र मान छ । शहर बजारसंगै तराई क्षेत्रमा बढी विकास र गाउंघरमा विकास नहुंदा बसाई सराईका कारण गाउंहरु रित्तिदै गएपनि गाउंघरका डाडापाखा धनी नै छ ।

सत्ता सञ्चालकहरुले गाउंघरका डांडापाखालाई नचिनेपनि प्रकृतिले भने साथ दिएको छ, गाउं घरका डांडापाखाहरुलाई । गाउंघरमा शिक्षा, स्वास्थ्य, सडक र सामान्य रोजगारीका अवसरहरु नहुंदा केही वर्षदेखि गाउंका पाखाका घरहरु मानिस बिनाका छन् । तर पनि गाउंघरको आफ्नै शान र आफ्नै मान छ । प्रकृतिले भरिपूर्ण बनाएको छ । धन्य प्रकृति । सत्ताले नदेखेपनि प्रकृतिको भरिपूर्ण मायां छ ।

यस्तै प्रकृतिले साथ दिएको प्यूठान गौमुखि गाउंपालिका तत्कालि पुंजा गाविसका गाउंहरु अति रमणीय र सुन्दर छन् ।
यी सुन्दर लाग्ने फोटाहरु उत्तरी प्युठान डाँडाकटेरीका हुन् । पुजा गाउँको साविक नौं नम्बर वार्ड भित्र पर्ने तारेभीर, गोद्रे, ठूला, गैराखर्क, खाल, मर्रबाय, लैसरा, पासाबाङ, फप्रेटा,अखटेङ दाँतेबारी समेटेको डाँडाकट्टी…। यहाँका अधिकांश घर गोठका छाना ढुङ्गाले छाएका चिटिक्क र सुन्दर लाग्छन । यो गाउँमा दुई जना ९४ वर्षका तुलसा गिरी र उहाँका देवर गोकुल गिरी ईतिहासका ज्युँदा साक्षी हुनुन्छ।

यहाँ १८७ घरधुरीको बसोबास रहेको छ । तर यहाँबाट कामको खोजीमा सपरिवार मुग्लान गएकोले २२ घरहरु रित्ता भएका छन् । ६२ घरमा श्रीमान श्रीमती दुईजना मात्र बस्दछन् । यहाँका जग्गाहरू वर्षै पिच्छे बाझिँदै र युवाहरू बिदेसिदै गएका छन ।

दुःखद संयोग केही महिना भित्र यहाँका आठ जना आफन्तहरूको मृत्यु भयो। माधु गिरी, गोठी गिरी, क्वारी खत्री, केसरा उपाध्याय, जीवलाल उपाध्याय, काली खत्री… । जसमा मेस बहादुर खत्रीको अरिङ्गालले टोकेर र रबिन सर्माको अठ्ठाईस वर्षको कलिलो उमेरमा इन्फेक्सनबाट मृत्यु भयो । दुःख र सुखमा जुट्नु हाम्रो गाउँको साझा संस्कृति नै हो ।
मेरो बाल्यकाल सँगैका दुई दसक उमेर यही गाउँमा बितेको थियो। जन्म गाउँ र आफन्त सबैलाई प्रिय लाग्ने गाउं ।