बुटवलमा मनाईयो अटिजम दिवस

बुटवल, चैत २० गते । मंगलबार विभिन्न कार्यक्रम गरी १७ औ विश्व अटिजम दिवस मनाईएको छ । अपांगता भएका व्यक्तिको हक, अधिकार र सुविधाको माग गर्दै विश्व अपटजम दिवस मनाउन थालिएको हो ।

अटिजम भएका व्यक्तिहरूलाई सहज जीवन प्रदानका लागि संयुक्त राष्ट्र संघको महासभामा अटिजम सम्बन्धी १८ डिसेम्बर २००७ मा स्वीकृत भएको थियो । त्यसैले हरेक वर्ष अप्रिल २ अर्थात चैत २० गते नेपालमा पनि विश्व अटिजम दिवस मनाउन थालिएको हो ।
विश्व अटिजम दिवस बुटवलमा पनि मनाईएको छ । मंगलबार बिहान बुटवलमा अटिजमबारे सचेतनामूलक र्याली निकालिएको थियो । इनरह्वील क्लव अफ बुटवलको आयोजना सचेतनामूलक र्याली निकालिएको हो । र्यालीपछि बुटवलस्थित दीप वोर्डिङ स्कुलमा अटिजमबारे कार्यक्रम गरिएको थियो ।

डाक्टर शतिष रुपाखेतीले अटिजमबारे जानकारी गराउंदै अटिजम स्नायुसम्बन्धी समस्या भएको बताउंदै जुन बालबालिकाको विकासका क्रममा देखिने हुंदा अभिभावकलाई सचेतहुन आग्रह गरे । अटिजम कुनै प्रकारको रोग नभएको र मस्तिष्कको विशेष अवस्था मात्र भएको हुंदा अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या, सिकाइको क्षमता कमी हुनुका साथै व्यवहार एकोहोरो हुने डाक्टर शतिषले जानकारी गराए ।

अहिलेसम्म ठ्याक्कै यही कारणले अटिजम भएको हो भन्न सकिंदैन । तर पहिलो सन्तानमा अटिजमको समस्या भएमा दोस्रो सन्तानमा पनि अटिजम हुनसक्ने भएकाले अभिभावक गम्भीर बुन्नु पर्नेमा जोड दिए ।

कहिलेकाहीं गर्भावस्थामा केही समस्या भएमा, नौ महिना नपुग्दै शिशु जन्मिएमा र कम तौलको शिशु भएमा पनि अटिजमको समस्या हुनसक्छ, तर यसबारे आधिकारिक पुष्टि नभएको डाक्टर शतिष रुपमा खेतीले बताए ।

बच्चामा उमेरअनुसार बोली नफुट्ने, बच्चा एक्लै खेल्न मन पराउने, आंखा जुधाएर बोल्न नसक्ने, आफू समान उमेर समूहका साथीसंग घुलमिल हुन मन नपराउने, एकोहोरो बस्न मन पराउने, कुराकानी नगर्ने, एउटै कुरा दोहो¥याइरहने, बोलाउंदा पनि प्रतिक्रिया नदिने, अस्वाभाविक रूपमा हास्ने वा कराउने अटिजमका लक्षण हुन् ।
अटिजमको अहिलेसम्म कुनै औषधि उपचार नभएको र अटिजमको लक्षण व्यवस्थापन वा कम गर्न विभिन्न थेरापी गर्न सकिने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।