बुटवलको जीतगढी किल्लामा विजय उत्सव

बुटवल, बैशाख ७ गते । नेपाल–अंग्रेज युद्धमा नेपालले विजय प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर आज बुटवलस्थित जीतगढी किल्लामा विजय उत्सव मनाईदै छ ।प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी विजयोत्स कार्यक्रम गरिदैछ ।

विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्र्रेजलाई सो गढीमा भएको युद्धमा पराजित गरेको थियो । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेजज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला मानिन्छ । किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित अंग्र्रेज फौजलाई परास्त गरेको थियो । बुटवलको जितगढी लगायतका देशका कैयौं भागमा अंग्र्रेज फौजले आक्रमण गरेको थियो । जीतगढीमा अंग्र्रेज लाई हराएको नेपाल अरु किल्लामा भने आफैं हारेको थियो ।

सम्पदास्थलमा भएको कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ । किल्ला संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुरुपका काम अहिले धमाधम भइरहेका छन । जीतगढीको महत्व र गरिमा नयंँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा यो विषयलाई समावेश गरेको छ । जीतगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्णकदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने काम सम्पन्न भइसकेको छ ।

सानाकाजी अमरसिंह थापा, सरदार सुर्जे थापा, लेप्टेन अम्बर अधिकारी, कुम्भेदान वृषशुर थापा, कुम्भेदान कृपासुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानियां, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियां, शमशेर रानामगर, काजी वीरभञ्जन पांडे र जुठे बस्नेत लगायतका वीर नेपाली घरेलु हतियार लिएर तत्कालीन अंग्र्रेज सेनासंग जाइलागेको इतिहास रहेको छ । जीतगढीमा उजिरसिंहसहित १३ नेपाली वीर सपुतको शालिक निर्माण गरिएको छ ।