कवितामा माक्र्सवादी सौन्द्रयको प्रयोग

बुटवल, जेठ १२ गते । प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीको आयोजनामा शनिबार बुटवलमा कवितामा माक्र्सवादी सौन्दर्यको प्रयोग र नेपाली छन्द कविता सम्भावना र चुनौती विषयक विचार गोष्ठी भएको छ । कार्यक्रममा बोल्ने साहित्य स्रष्टाहरुले समाज परिवर्तनका लागि लेखकीय भूमिका महत्वपूर्ण हुने भएकाले कवितामा माक्र्सवादी सौन्द्रयको प्रयोग गर्नुपर्ने बताए ।

समाजमा उपभोगबाद र व्यक्तिबाद हावी भएकाले त्यसका विरुद्व साहित्यकार तथा लेखकहरुले लेखकीय भूमिकाबाट खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि लेखक तथा साहित्यकार दिल साहानीले लेखनको सन्दर्भ तथा कविताको रूप पक्षभन्दा पनि आन्तरिक पक्षको सबलीकरणमा कविले ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ समालोचक कवि प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले कवितामा भएको माक्र्सवादी सौन्दर्यको प्रयोगका कारण साहित्य क्षेत्रबाट परिवर्तन सम्भव हुने बताए । बर्गिय समाजलाई साहित्य तथा कविताले चिन्नु पर्ने बताउंदै उनले भने – त्यसका लागि कवि तथा साहित्यकारहरुले चनाखो भएर कलम चलाउनु पर्छ।

वरिष्ठ छन्दवादी कवि प्राध्यापक डाक्टर देवी नेपालले समाजको परिवर्तनका लागि छन्द कविताको अवस्था राम्रो भएको उल्लेख गर्दै छन्द कवितामा सैद्वान्तिक पक्षलाई अगाल्नु पर्ने बताए । साहित्यको क्षेत्रमा छन्द कवितामा धेरै अवसर र केही चुनौती रहेकाले सम्भावना बाटोबाट अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

साहित्यकार ऋषिराम भुसालले साहित्य लेखन समाज परिवर्तनको आंखा भएको बताए । कार्यक्रममा कवि रञ्जु घिमिरे गौतम, गंगा भण्डारी र दिवान पुनले कविता वाचन गरेका थिए ।

प्रगतिशील लेखक संघ रुपन्देही अध्यक्ष कवि कविराज पौडेलको अध्यक्षता, उपाध्यक्ष श्यामलाल पोखरेलको सञ्चालन र सदस्य हुमराज भुसालको स्वागतमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा प्रगतिवादी कवि डा.मुरारी पराजुली, प्रलेस केन्द्रीय केन्द्रीय सदस्य हृदय लेकाली, प्रलेस, लुम्बिनी प्रदेशका उपाध्यक्ष तिलक लामिछाने,लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, छन्दवादी समाज नेपालका केन्द्रीय सचिव चन्द्रकान्त डुम्रे,संस्कृतिविद् राजेन्द्र आचार्य, वरिष्ठ कवि गिरिश्रीस मगर, लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका संरक्षक लक्ष्मण ज्ञवाली, सिसासका पूर्व अध्यक्ष छवि ज्ञवाली र नारायणप्रसाद भण्डारी, लेखिका ज्ञानु के. सी, कवि दुर्गा थापा मगर, शङ्कर भण्डारी, यज्ञलाल सुवेदी, प्राध्यापक मुकुन्द पोखरेल, दिवाना पुन मगर, माधव गौतम, सिर्जना खनाल, सरु ज्ञवाली, हरि ज्ञवाली र कुलानन्द पाण्डे, हिरा शर्मालगायतको सहभागिता रहेको थियो ।