कोरोना महामारीमा पनि आवाजले हासिल गर्यो लक्ष्य, सबै सुचक सकारात्मक

बुटवल । आवाज बचत तथा ऋण सहकारी संस्था लि.बुटवलले गत वर्ष लिएका वित्तीय तथा कार्यक्रमगत लक्ष्य हासिल गरेको छ । गत वर्ष कार्तिक ३० गते सम्पन्न एघारौँ साधारण सभाबाट स्वीकृत भएको वित्तीय लक्ष्य गत असार मसान्त सम्ममा प्राप्त गरेको हो । कार्यक्रम गत उपलव्धी समेत हासिल गर्न सफल भएको सहकारीको प्रतिवेदनले देखाएको छ ।

सहकारीले गत वर्ष तीन करोड बराबरको शेयर पूजीको अनुमानित बजेट स्वीकृत गरेको थियो । गत आर्थिक वर्षको असार मसान्त सम्ममा सहकारीले २ करोड ९२ लाख ७३ हजार बराबरको शेयर पूँजी निर्माण गर्न सफल देखिएको छ । ‘तीन करोडको अनुमानित शेयर पूँजीमा रहेर काम गरिरहेका छौँ,’ सहकारीका अध्यक्ष बाबुराम बन्जाडेले भने, ‘कोरोना महामारीकाबीचमा पनि उपलव्धीहरू हासिल गरेका छौँ । यो सकारात्मक पक्ष हो ।’

सहकारीले लक्ष्य भन्दा बढी बचत संकलन गर्न सफल देखिएको छ । १ हजार सेयर सदस्य रहेको सहकारीले असार मसान्त सम्ममा १४ करोड १७ लाख ७४ हजार ८९७ बचत संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । अघिल्लो बर्ष ९ करोड ६१ लाख ८० हजार ९१५ बचत संकलन गरेको थियो । सहकारीले सेयर सदस्यहरु समेत बृद्धि गरेको छ । ८५२ जना सेयर सदस्य रहेकोमा असार मसान्त सम्ममा १ हजार पुर्याइएको सहकारीका व्यवस्थापक मनोज खड्काले बताए ।

सहकारीले कर्जा लगानी गर्न समेत सफल भएको छ । गत वर्षको साधारण सभाबाट १५ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको संस्थाले असार समान्त सम्ममा १४ करोड ४४ लख ६५ हजार ४७४ रूपैया कर्जा लगनी गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ३१ प्रतिशत हो । सहकारीले अघिल्लो वर्ष ११ करोड ९ लाख ९३ हजार ५५७ कर्जा लगानी गरेको थियो । सेवा विस्तार तथा सकृयता नै आर्थिक उपलव्धीको प्रमुख कारण भएको सहकारीका कोषाध्यक्ष अच्युत पन्थ बताउँछन् । –‘हामी कोरोना महामारीमा पनि सकृय रुपमा लागिरहर्यौँ । त्यसैको परिणाम स्वरुप लक्ष्य हाँसिल गरेका छौँ ।,’ उनले भने ।

सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक स्वतन्त्रता दिने लक्ष्यका राखेको छ । सहकारीले सेवा केन्द्रहरूको विस्तार, सेयर सदस्यहरूलाई तालिम तथा सहकारी शिक्षा, चेक मार्फत सदस्यहरूलाई कारोबारको सुविधा, बचत प्याकेज जस्ता सेवाहरु दिइरहेको व्यवस्थापक खड्काले बताए । सहकारीको बुटवल ६ नेपालगन्जरोडमा केन्द्रिय कार्यलय रहेको छ ।