डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित

झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड ९डीएनए० परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए । संसदीय समितिले डीएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ, उनी भन्छन्, दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डीएनएन, केही अत्तोपत्तो छैन ।

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डीएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए । डीएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डीएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डीएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिका–का जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिनु भएको छ । धान खेत मासेर उनले डेढ बिघामा सुपारीखेती गरेका छन् । बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्, किसान पाण्डेले समस्या सुनाउँदै भन्नुभयो, दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।

मेचीनगर–४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे । बाहुनडाँगीमा ज¬ङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डीएनए परीक्षणमा अल्झिन नहुने बताउँछन्छ । सरकारले दानाको डीएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डीएनए सम्भव नहुने उनले बताए ।