स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन् ।

बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने स्पष्ट पारे । उनले खाद्य स्वच्छता विभागसँग जोडिएर आएका बेरुजुबारे अहिले नै यकिन नभए पनि साविकको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजुको अवस्था यस्तो रहेको बताए ।
मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षणका लागि तयारी गरिरहेको उनले जानकारी दिए । यो परीक्षण प्रक्रिया सकिएपछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फर्स्यौट हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

गत वर्षहरुमा बेरुजु फर्स्यौटको दर ५० प्रतिशतभन्दा कम हुने गरेको भए तापनि चालु आर्थिक वर्षमा भने ६० प्रतिशतसम्म बेरुजु फर्स्यौट गर्ने लक्ष्य लिइएको सचिव देवकोटाले जनाए ।























