आसन्न पत्रकार महासंघ काठमाडौँको नेतृत्वमा प्रेस युनियनको दाबी

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले पत्रकार महासंघ काठमाडौँ शाखाको नेतृत्वमा दाबी गरेको छ। आज बसेको जिल्ला कार्यसमिति बैठकले २८ मंसिरमा हुने महासंघको निर्वाचनमा महासंघ काठमाडौ शाखाको अध्यक्ष पदमा दाबी गर्ने निर्णय गरेको हो ।

प्रेस युनियन काठमाडौँ शाखाका उपाध्यक्ष रोमन आचार्यले महासंघ काठमाडौँको नेतृत्वमा युनियनका तर्फबाट दाबी पेश गर्ने निर्णय भएको जानकारी दिए । बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार शाखा अध्यक्ष महेश्वर गौतमलाई दिएको छ। यस्तै उपाध्यक्ष आचार्य, सचिव सन्तोष अधिकारी र कोषाध्यक्ष प्रदिप कार्कीलाई अध्यक्षसँग आवश्यक समन्वय गर्ने अधिकार बैठकले दिएको छ।

अध्यक्ष गौतमको नेतृत्वमा महासंघको निर्वाचन तथा उम्मेदवारका विषयमा आवश्यक छलफल अघि बढाउने बैठकको निर्णय भएको सचिव अधिकारीले जानकारी दिए।

महासंघको प्रदेश कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन २४ मंसिरका लागि तोकिएको छ भने जिल्ला कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन २६ गतेका लागि तोकिएको छ। केन्द्रीय कार्यसमितिका लागि २१ मंसिरमा उम्मेदवारको मनोनयन दर्ता तोकिएको छ।