बुटवलको नगर गान रचे डिल्लीनारायण पाण्डेयले

बुटवल, पुस १८ गते । बुटवल उपमहानगरपालिकाले आफ्नै नगर गान बनाएको छ । नगर गान नगरसभाबाट अनुमोदन भैसकेको छ । बुटवल उपमहानगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरेको हो ।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट बनेको छ ।

स्याडजाको विर्गाका डिल्लीनारायण पाण्डेय शैक्षिक व्यक्तित्ववका साथै लोकदोहोरी क्षेत्रका नामुद कलाकार हुन् । सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी गराएका छन् ।

नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश गरिएको छ । बुटवलका लोकदोहोरी क्षेत्रका कलाकार तथा भजनमा बढी मात्रमा दख्खल कमाएका डिल्लीनारायण पाण्डेयले रचना गरेको बुटवलको नगर गान यसप्रकार छ ।

यस्तो छ बुटवलको नगर गान

चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल

रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।

बहु भाषा, धर्म संस्कार, थरिथरि जाति

वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।

मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो

घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

 

कृषि, उद्योग, व्यापार र पर्यटनको लहर

देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।

प्राकृतिक सम्पदा र सभ्यताको खानी

सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।

हाम्रो खस्यौली

राम्रो बटौली

प्यारो बुटवल ।