भारतमा रेल दुर्घटनामा निधन भएका नेपालीको पहिचान खुल्यो


बुटवल, माघ १२ गते । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।

यही माघ नौ गते भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । त्यसमा कमला नवीन भण्डारी, लछिराम पासी रहेका छन् ।
यस्तै अछामका चार जनाको निधन भएको छ ।

हिन्दुराम विश्वकर्मा, नन्दराम पद्य विश्वकमा, मैसारा कामी विश्वकमा र जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राधको निधन जानकारी गराईएको छ ।
मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय भैरहेको जानकारी गराईएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको बताईएको छ ।























