नेतृत्वको गलत कार्यशैलीले एमाले स्कुटरमा अटाउने भयो – पाण्डे


बुटवल, चैत ७ गते । नेकपा एमालेको नेता सुरेन्द्र पाण्डेले पार्टीको स्कुलिङ गलत भएको पुष्टि हुदै गएको बताएका छन् । एमालेले कार्यकर्तालाई जे सिकायो त्यो गलत रहेछ भन्ने अहिले पुष्टि हुंदे गएको बताए ।

एमालेले पार्टीका कार्यकर्तालाई बन्द हड्ताल गरेर अधिकार खोज्न सिकायो तर पूंजी विकास गरेर समाजबाद ल्याउनुपर्छ भन्ने सिकाएन जसले गर्दा अहिले हाम्रो पार्टीको स्कुलिङ गलत रहेछ भन्ने पुष्टि भएको उनले बताए ।
चिन्तन अभियान नेपालले शनिबार बुटवलमा आयोजना गरेको राजनीति परिदृष्य कार्यक्रममा बोल्दै एमालले कार्यशैली परिवर्तन नगरे अर्को चुनाबपछि स्कुटरमा अटाउने पार्टी बन्ने बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले नेतृत्वको गलत कार्यशैली, म भन्दा अरु कोही छैन र होइन भन्ने अहमताका कारण आज पार्टीले ठूलो भोग्नु परेको बताउंदै उनले भने – उही कार्यशैली र पार्टी सदस्यता वितरणमा नेतृत्वको शाह वंशीय हुकुमी साशन कायमै रहे एमाले इतिहांसमा सिमित हुन्छ ।

घुमाउरो पारामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै नेता पाण्डेले अब पार्टीलाई फरक तथा नयां ढंगले अगाडि बढाउनु पर्ने तर्क गरे । उनले पार्टी नेतृत्वकै गलत कार्यशैलीका कारण गत फागुन २१ के प्रतिनिधि सभा निर्वाचनबाट पार्टीलाई ठूलो क्षती भएको उल्लेख गर्दै उनले भने – बाउ आमाले छोरा छोरीलाई सही बाटो देखाएपो छोरा छोरी सही बाटो हिड्छन् ।
उनले पार्टीलाई सही ढंगले अगाडि बढाउन र कम्युनिष्ट शैलीको पार्टी बनाउनका लागि पार्टी भित्र बाहिर निर्मम ढंगले छलफल तथा बहसहरु चलाउन जरुरी छ, पुरानै शैली, पुरानै नेतृत्वको ढर्राले अब एमाले बन्दैन र रहदैन भने । नेता पाण्डेले एमालेसहित पुराना सबै दलहरुको नेतृत्व, विचार र कार्यशैली परिवर्तन गरे दलहरु विघटनको अवस्थामा पुग्न सक्ने भन्दै सबै दलमा सुधारको खांचो छ, भने ।
पुरानै ढर्राबाट अब कुनै पनि दलहरु चल्नै नसक्ने र जनताले पनि अब नपत्ताउने उल्लेख गर्दै नेता पाण्डेले भने नयां ढंगले रुपान्त्रणको बाटो नहिडे सिद्दिनुको अर्को विकल्प छैन । नेता पाण्डेले अब बन्ने नयां सरकारलाइ घमण्ड, दम्भ र महत्वकांक्षा नराखी काम गर्न सुझाव दिए ।
चिन्तन अभियान नेपालका अध्यक्ष बसन्तराज खनालको अध्यक्षता, माधव पौडेल र कृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।




















