महाराजगंजमा धार्मिक विवाद चर्किएपछि अनिश्चितकालीन निषेधाज्ञा

बुटवल। कपिलवस्तुको महाराजगंजमा हिन्दू र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। शनिबार बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो ।

झडपमा प्रहरी, हिन्दू र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित छ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटना नियन्त्रणमा लिन सात राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।

महाराजगन्जको वडा न- २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दूहरूको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। विवाद साम्य पार्न व्यापक प्रहरी परिचालन गरिएको छ।