शान्त बन्दै तनावग्रस्त बनेको बबरमहल क्षेत्र


काठमाडौँ । केपी शर्मा ओली पक्राउ गरेको विरोधमा सरकारविरुद्ध एमाले जनवर्गीय संगठनहरुले प्रदर्शन गर्दा दिउँसो तनावग्रस्त बनेको काठमाडौँको बबरमहल क्षेत्र शान्त बन्दै गएको छ। दिउँसो ३ बजेदेखि माइतीघरसँगै बबरमहल क्षेत्रमा प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका थिए। एउटा निजी कारमाथि तोडफोड भएको थियो।

साथै सडकमा राखिएका डिभाइडरहरुसमेत तोडफोड भएको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपमा प्रहरीले लाठी चार्ज गर्यो। प्रहरीको लाठी चार्जबाट एक जना घाइते भएका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले घाइते भएकोबारे जानकारी नभएको बताए।
उनले निषेधित क्षेत्र तोड्ने खोज्ने सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले निषेधित क्षेत्र तोड्न खोज्ने सात जनालाई नियन्त्रणमा लिएका छौँ। घाइते भएकोबारे जानकारी छैन, उनले भने। एमालेका कार्यकर्ता प्रदर्शन गर्दै सिंहदबार छिर्न खोजेका थिए।

जेनजी आन्दोलनको घटनाकाबारेमा दोषि देखाउँदै सरकारको दबाबमा प्रहरीले शनिबार एकाबिहानै भक्तपुरबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। ओली त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा छन् भने कांग्रेस नेता लेखक प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा रहेका छन्।
उनीहरुको प्रकाउको विरोधमा एमालेले भोलि आइतबार देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। हालसम्म कांग्रेसले भने लेखक पक्राउलाई लिएर बोलेकोसमेत छैन। कांग्रेसको भातृ संगठन तरुण दलले भने ओली(लेखकको विरोध गरेको छ। उनीहरुको पक्राउलाई लिएर कतिपय जानकारहरुले विरोध गरेका छन् भने कतिपयले स्वागत गरेका छन्।























