एमालेद्धारा कार्की आयोग प्रतिवेदन अस्वीकार, पुनः छानबिन समिति गठन गर्न माग

काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगको प्रतिवेदन अस्वीकार गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि आकस्मिकरुपमा बसेको सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखेरलकाअनुसार कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायीक सिद्धान्त विपरीत रहेको ठहर गर्दै अस्वीकार गरेको हो। बैठकले बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा अर्को न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको पनि पोखरेलले बताए।

कार्की नेतृत्वको आयोगको सिफारिसमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित आ(आफ्नो निवासबाट पक्राउ गरेको थियो। उनीहरुको पक्राउलाई एमालेले लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत रहेको ठहर गरेको छ। उनीहरूको पक्राउविरुद्ध एमालेले देशभर प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

पार्टीले प्रदर्शनसँगै अन्य राजनीतिक दल, नागरिकसमाजसँग छलफल गरेर कानुनी र राजनीतिक लडाई लड्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिए। जसका लागि नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ। जसअनुसार राजनीतिक दलसँग संयोजन गर्न उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ।

संसदीय दलहरुसँग सम्वाद गर्न अर्का उपाध्यक्ष रामबहादुर थापा बादललाई जिम्मेवारी तोकिएको छ भने कानुनी प्रतिकारका लागि उपाध्यक्ष गोकर्ण विष्टलाई जिम्मोवरी दिइएको छ। साथै जनपरिचालनको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयबाट हुने पोखरेलले बताए।