बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता

बुटवल, चैत १६ गते । सोमबार बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा ५५ प्लस सिगलमा मनोज राणाले विष्णु चापागाईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन । यसैगरि ५५ प्लसमा नै मछिन्द्र थापाले पदम गुरुङलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेका छन । ५५ प्लसकै अर्को खेलमा पदम गुरुङले गोपाल ज्ञवालीलाई ६–३, ३–६, १०–२ को सेटमा पराजित गरेका छन ।

मेन्स सिगलमा बिबेक गर्बुजा वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन । नेहाल जेबी थापाले बिष्णु दिओलाई ६–०, ६–० को सेट, प्रनव खनालले बिबेक कुवरलाई ६–०, ६–० को सेट, आयुषमान एच घलेले सश्वात बज्राचार्यलाई ६–३, ६–३ को सेट तथा प्रनव मानन्धरले दर्शिल श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि मेन्स डबल्सतर्फ सश्वात बज्राचार्य र दर्शील श्रेष्ठको जोडीले सन्दिप बिक र बिबेक गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

३५ प्लस डबल्समा नबिन श्रेष्ठ र राज गुरुङको जोडीले जितेन्द्र एम र रोशन पि को जोडीलाई ६–०, ६–० को सेटमा पराजित गरेका छन् । ४५ प्लसमा पुकार बस्नेतले प्रकाश बस्नेतलाई ७–५, ६–३ को सेटमा पराजित गरेका छन ।

मनोज ढुगानाले वाक ओभर पाएका छन्, भने अर्जुन गुरुङले मनोज नेपाललाई २–६, ६–१, १०–७ को सेट, राजन पौडेलले रामु बिकलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । ३५ प्लसमा मदन थापाले सागर थापालाई ६–०, ६–३ को सेट, अनिल सेन्चुरीले दिपक पौडेललाई ६–१, ६–१, कमल भण्डारीले कुमार तामाङलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसअघि प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै सरोकारवालाहरुको अगुवाईकै कारण नगर खेल पूर्वाधारमा अघि बढेको बताए । खेल क्षेत्रको विकासका लागि स्थानिय सरकारको प्रतिवद्धता जनाउदै खेल क्षेत्रमा गरिएको लगानीको परिणाम देखिनुपर्ने उनले बताए ।

खेल क्षेत्रको संवद्र्धन र संरक्षणका लागि खेल संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताउदै संघहरुमा देखिने विवाद र बैमनश्यताबाट खेल क्षेत्र धाराशाही हुने उनले बताए । बुटवल क्षेत्रमा खेलग्राम निमार्णको थालनी अब छिटै गर्ने जनाउदै त्यसका लागि ठाउ छनौटको काम अगाडी बढेको समेत उनले बताए ।

कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले नेपालमा लन टेनिस खेलको विकासका लागि ग्रासरुटबाट युवा खेलाडीको उत्पादनमा जोड दिनुपर्ने बताए । उनले यस खेलमा नया खेलाडीको कमी देखिएको अवस्था प्रति गम्भिर बन्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष विष्णु प्रसाद चापागाईले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रमा लन टेनिस खेलको विकास प्रबद्र्धन तथा नयाँ युवा खेलाडीहरुका लागि रुचि बढाउने बातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणाले रुपन्देही लन टेनिस संघलाई एक कार्टुन बल हस्तान्तरण गरे ।

बुटवल देविनगरस्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष तथा महिला एकल र डबलमा १ सयभन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिष्पर्धा गराईने संघका कोषाध्यक्ष डा. प्रकाश बस्नेतले बताए ।

एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा रहने छ भने डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा रहेका छन् ।

प्रतियोगितामा पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका सचिव मनोज नेपालले बताए ।

पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यही चैत्र २० गतेसम्म चल्ने प्रतियोगिता सम्पन्नका लागि २६ लाख ६७ हजार ५ सय रुपैया खर्च लाग्ने लन टेनिस संघका अध्यक्ष विष्णु चापागाईले जानकारी गराएका छन् ।