कुवेतका नेपालीलाई फिर्ता गर्न एकता समाजको माग

बुटवल, चैत १७ गते । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले कुवेतका नेपालीलाई साउदी अरबको कुस्मा विमानस्थल उपयोग गरी सहुलियत टिकटका साथ स्वदेश फिर्ता गर्न माग गरेको छ ।

अध्यक्ष शक्तमान बुढाथोकीले मंगलबार विज्ञप्ती जारीगरी कुवेतमा रहेका नेपालीलाई नेपाल बोलाउन सरकारसंग माग गरेका हुन् ।
यही चैत १५ गतेको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी गराउँदै समाजले खाडी मुलुकको युद्धजन्य परिस्थितिमा राहत र उद्धार कार्यमा ध्यान दिन सम्बन्धित निकायसित अनुरोध गरेको छ ।

त्यसैगरी, युद्धमा घाइते भएका वा पक्राउ परेका नेपालीको उपचार तथा रिहाइमा ध्यान दिन वक्तव्यमा माग गरिएको छ । खाडी मुलुकमा नेपालीलाई सतर्क रहन, कूटनीतिक निकायसित सम्पर्क गर्न आग्रह गर्दै वक्तव्यमा खाडीका नेपालीको खाद्यान्न, आवास र सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका निम्न छन् ।

१. खाडी मुलुकमा रहेका नेपालीमाथि अझै पनि युद्धको गम्भीर सन्त्रास व्याप्त छ । कुनै पनि बेला कुनै पनि प्रकारको बिपत्ति आइपर्न सक्ने खतरालाई मध्यनजर गरेर उद्धार र राहतको विषयमा ध्यान पु¥याउन नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका दूताबाससित गनुरोध गर्दछौँ ।

२. खाडीका विभिन्न देशका नेपालीलाई सम्बन्धित देशले पक्राउ गरेको जानकारी हुन आएको छ । त्यस्तै, कैयौँ नेपालीहरू युद्धको चपेटामा परी घाइते हुन पुगेका छन् । पक्राउ परेका नेपालीलाई तत्कालै रिहाइ तथा घाइते नेपालीको समुचित उपचार र सम्बन्धित व्यक्तिको इच्छाअनुसार स्वेदश फिर्तीको पहल गर्न नेपाल सरकारसित माग गर्दछौँ । नेपाल नफर्किंदासम्म सम्बन्धित देशमै खान, बस्न र सुरक्षाको व्यवस्था मिलाइयोस् ।

३. खाडी मुलुकमा युद्धका कारण कैयौँ देशका विमानस्थल गम्भीर प्रकारले प्रभावित भएका छन् । त्यसले गर्दा एकातिर नेपाल फर्किनका लागि सहज र सुलभ प्रकारले हवाई उडानको व्यवस्था हुन सकेको छैन भने अर्कोतर्फ हवाई यात्रा अत्यन्त महँगो हुन पुगेको छ । अहिलेको विषम परिस्थितिमा नेपाल सरकारले सम्बन्धित पक्षसित सम्पर्क राखेर सहुलियत दरको हवाई टिकटको व्यवस्थापन गर्न माग गर्दछौँ । हाल कुवेतस्थित एयरपोर्टबाट कुनै पनि हवाई उडान हुन नसक्ने अवस्था भएकोले कुवेतबाट पायक पर्ने साउदी अरबको कुस्मा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली उडानमार्फत सहुलियत दरमा उडान सञ्चालन गर्न र भिसा प्रक्रियाका लागि आवश्यक समन्वय र सहजीकरणका लागि तत्काल पहल गर्न माग गर्दछौँ ।

४. युद्धको स्थितिमा खाडी मुलुकमा रहेका नेपाली कामदार साथीहरूसित आवश्यक सतर्कता अपनाउन, सम्बन्धित देशका सुरक्षासम्बन्धी निर्देशन पालना गर्न र सम्बन्धित देशका एकता समाज, विभिन्न नेपाली सङ्घसंस्था तथा नेपाली दूताबास वा कूटनीतिक नियोगसँग प्रत्यक्षमा सम्पर्कमा रहन आग्रह गर्दछौँ ।”