खेलकुंद पत्रकारिता पुरस्कारबाट पत्रकार अधिकारी पुरस्कृत


बुटवल, चैत १७ गते । पत्रकार महासंघ रुपन्देहीले खेलकुंद पत्रकारिता पुरस्कारबाट पत्रकार सुमन अधिकारीलाई नगदसहित सम्मान गरेको छ । रुपन्देहीलाई कर्मथलो बनाएर ३० वर्ष यतादेखि पत्रकारिता गर्दै आएका अधिकारीलाई मंगलबार अक्षयकोषबाट नगद २५ हजारसहित सम्मान गरिएको हो ।

गत वर्षको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरेको थियो । सोही अक्षयकोषबाट पत्रकार अधिकारीलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगिताको अवसरमा पत्रकार अधिकारीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सम्मान गरेका हुन् । महासंघ रुपन्देहीले आयोजना गरेको मिडिया फुटसल प्रतियोगितातर्फ ग्लोबल आवाज र कर्पोरेट फुटसल तर्फको उपाधि नेपाल युवा उद्यमी मञ्च रूपन्देहीले जितेका छन् ।

मंगलबार सम्पन्न भएको फाइनल खेलमा ग्लोबल आवाजले बुद्ध सामुदायिक टेलिभिजनलाई ३–२ गोल अन्तरले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । जितसँगै ग्लोबल आवाजले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ ।
यस्तै कर्पोरेट फुटसलतर्फ गत वर्षको विजेता नेपाल ईन्जिनियरीङ एसोसिएसन रूपन्देही लई २–० को गोल अन्तरले पराजित गर्दै यस पटकको उपाधि नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले हात पारेको छ ।
जितसँगै नेपाल युवा उद्यमी मञ्चले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । साथै प्रतियोगितामा उपविजेता बनेको नेपाल ईन्जिनियरीङ एसोसिएसनले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित बुझाएको छ ।























