बैशाख १५ गतेबाट सनिबार र आइतबार बिदा हुने

बुटवल, चैत २२ गते । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा विषयमा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको बताएका छन् ।

प्रवक्ता पोखरेलका अनुसार आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सातामा दुई दिन बिदा सुरु हुने छ ।
अबदेखि कार्यालय समय ९ बजेदेखि ५ बजे बनाइएको छ । शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको पोखरेलले बताए ।
पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु ।

–डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

–डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।