स्व. उपाध्यायको स्मृतिमा श्रद्धाञ्जली सभा

बुटवल । राष्ट्रिय जनमोर्चाले पार्टी सदस्य तथा अखिल नेपाल महिला संघकी नेतृ दमयन्तादेवी उपाध्यायको निधन भएको १३ औ दिनको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ७५ वर्षिय दमयन्तादेवी उपाध्यायको मंसिर ८ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा स्व. उपाध्यायको निवास बडहरामा बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

सभामा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले स्व.उपाध्यायको निधनले कम्युनिष्ट आन्दोलनमा अतुलनिय क्षती पुगेको बताउँदै योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए । उनले थपे, नेकपा मसालले योग्यवान र कुशल पार्टी सदस्य गुमाएको चर्चा गर्दै स्व. उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्व. उपाध्यायको निधनप्रति दुख व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सदा सम्मान गरिने र अरुले अंगिकार गर्नुपर्ने औंल्याए । दमयन्तादेवी सच्चा र निष्ठावान पार्टी सदस्य हुनुहुन्थ्यो, चर्चा गर्दै अध्यक्ष केसीले भने, समाज रुपान्तरणका लागि कम्युनिष्ट पार्टीलाई अगाडी बढाउन एउटा महिलाको ठूलो हात रहने बताउँदै आफ्ना श्रीमान रश्मीराज नेपालीलाई कम्युनिष्ट पार्टीको नेता बनाउनमा स्व. दमयन्तादेवीले गहिरो योगदान रहेको छ । अन्धविश्वासले समाज अड्किएको बताउँदै अध्यक्ष केसीले अधिकारी परिवारको प्रगतिशील काजक्रिया देख्दा आफुलाई खुसी लागेको र केही परिवर्तनको संकेत देखिएको बताए ।

स्व. उपाध्यायका श्रीमान राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा संविधानसभा सदस्य रश्मीराज नेपालीले जीवन साथी दमयन्तादेवीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जीवन साथी दमयन्तादेवीका कारण आफु कम्युनिष्ट पार्टीमा लाग्न सजिलो भएको स्मरण गरे ।