निकोलस भुसाल पक्राउ

काठमाडौँ । केही दिनअघि हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ ।

उनलाई राजधानीबाट आइतबार साँझ पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो उनले सार्वजनिक गरेका थिए । फोटो सार्वजनिक भएपछि उनले स्वयं आफूले नै तस्बिर खिचेको र सजाय भोग्न तयार रहेको बताएका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट पक्राउ गरेको हो । उनी आइतबार नै बुटवलबाट काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानूनको उल्लंघन गरेको बताएको थियो ।

निकोलस मानसिक चिकित्सक हुन् । सरकारी कोटाबाट पढेका उनले गत प्रतिनिधि सभाको चुनावमा रुपन्देन्ही २ बाट चुनाव लड्नका लागि उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।