बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गर्नुपर्छ – मसाल


बुटवल, माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा सामेल गर्न माग गरेको छ ।
यी दुई जिल्लालाई लुम्बिनी प्रदेशमा सामेल गर्ने निर्णयको विरोध गर्दै आएको मसालले भौगोलिकता, परम्परा, पारस्परिक सम्बन्धको आधार र सबै दृष्टिकोणबाट ती जिल्लालाई कर्णाली प्रदेशमा नै सामेल गर्नुपर्ने बताएको हो ।

प्रवक्ता रामप्रकाश पुरीद्वारा मंगलबार ( २०८१ माघ १५ गते) जारी वक्तव्यमा कर्णाली प्रदेशमा सामेल हुन बाँके र बर्दियाका जनताले गरिरहेको आन्दोलनप्रति समर्थन जनाइएको छ । मसालले स्थानीय तहलाई बलियो बनाउनेगरी विकेन्द्रीकरणसहितको प्रशासनिक प्रादेशिक संरचनाको माग गर्दै आएको छ ।
वक्तव्यको पूर्ण पाठ
पहिले बाँके र बर्दिया जिल्लालाई लुम्बिनी प्रदेशमा सामेल गरिएकोप्रति हाम्रो पार्टीले गम्भीर असहमति प्रकट गर्दै आएको छ । भौगोलिकता, परम्परा, पारस्परिक सम्बन्धको आधार र सबै दृष्टिकोणबाट ती जिल्लालाई कर्णाली प्रदेशमा नै सामेल गर्नुपर्छ भन्नेमा हामीले दृढतापूर्वक मत प्रकट गर्दै आएका छौँ र अहिले पनि हाम्रो त्यो मत कायम रहेको छ । अहिले ती जिल्लालाई कर्णाली प्रदेशमा सामेल गर्नुपर्छ भनेर त्यहाँका जनताको आवाज उठ्नुको साथै माग पनि बढ्दै गइरहेको छ । हामीले जनताको उक्त आवाज र मागलाई न्यायपूर्ण ठान्दछौँ र त्यसलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौँ ।
२०८१ माघ १५ गते ।
प्रवक्ता
रामप्रकाश पुरी
























