बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्वको इन्ट्री


बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट निर्वाचित संघको नयाँ नेतृत्वले शुक्रवार पदभारग्रहण गरेको छ ।

बुटवलमा सम्पन्न अधिवेशनले संघको अध्यक्षमा उपेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । यसैगरी संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ ।
नवनिर्वाचित नयाँ कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रमाण वितरण गरेका थिए, भने विशिष्ठि अतिथि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गरेका थिए ।

सो अवसरमा संघकातर्फबाट उत्कृष्ठ उद्योगका रुपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रालिलाई छनौट गरि सम्मान गरिएको थियो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई प्रदान गरे ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरु स्थापना भएका छन् भने ६६ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । उद्योगहरुमा करिब ३ हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् । निर्वाचन कार्यतालिका अन्र्तगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नयाँ कार्यसमिति निर्विरोध निर्वाचित छ ।
सो अवसरमा बोल्दै मन्त्री ढकालले आफुहरु मुलुकलाई आर्थिक समृद्धिको बाटो अगाडी बढाउने दिशामा अगाडी दावी गरे ।
उनले राजनीतिक रुपमा उठेका विषयलाई सहि रुपमा लैजान औद्योगिक विकासमा जोड दिनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष रामहिरा पाठकले विभिन्न कारणले नेपालको औद्योगिक वातावरण समस्या देखापरेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगहरुले नीतिगत तथा भौतिक विकासका अप्ठयारा समाधानका लागि राज्यको ध्यान जानुपर्ने जिकिर गरे ।
लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउदै त्यसको भौतिक विकासमा जोड दिन आग्रह गरे।
संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउँदै उद्योग बिस्तारका लागि जग्गाको कमी भईरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन अपिल गरे ।






















