तिलोत्तमाको भ्यूटावर प्रयोगविहिन, सञ्चालन गर्न माग

श्यामलाल पोखरेल

बुटवल, माघ २२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वनवाटिकामा निर्माणधिन भ्यूटावर प्रयोगमा आएको छैन । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले बनाएको बहुउद्देश्य भ्यूटावर प्रयोगविहिन हुंदा सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
२०७४ सालको चैत्रमा निर्माण शुरु भएको भ्यूटावर २०७८ साल चैत्र १५ गते एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । शंकरनगर वन बिहार तथा वन वाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेण्यका अनुसार ओलीले उद्घाटन गर्दा भ्यूटावरको ९० प्रतिशत निर्माणको काम सकिएको थियो । ग्राउण्ड फ्लोरमा केही मात्रमा काम बांकी हुंदाहुंदै उद्घाटन गरिएको थियो ।

तत्कालिन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफुले भ्यूटावर बनाएको भन्ने पार्नका लागि जबरजस्त उद्घाटन गरेपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तिलोत्तमा नगरपालिकामा चुनाब जित्नका लागि पार्टी अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री ओलीलाई एमालेको योजनामा उद्घाटन गराईएको थियो ।

०७९ सालको चुनाब आउन लागेको र स्थानीय तहका जनप्रतिनिधिहरुको समय अबधी सकिनै लागेको बेला हतार हतारमा उद्घाटन गराईएको भ्यूटावर प्रयोगविहिन हुंदा यसबारे चौतर्फी कुरा उठेका छन् ।
१० तलाको बहुउद्देश्यीय भ्यूटावर निर्माणका लागि तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लगानीमा भ्यूटावर निर्माण गरिएको उक्त भ्यूटावरका लागि शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रले १ करोड ५ लाख भुक्तिानी दिईसकेको छ ।

उद्घाटन भएको झण्डै तिन वर्षसम्म हुनै लाग्दापनि सञ्चालनमा नआएको उक्त भ्यूटावरमा लगाईएको रंगरोगन उत्रिन थालेको छ ।
सञ्चालन नुहँदै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको भ्यूटावर अहिले अलपत्रको अवस्थामा ठडिएको छ । कुल २५ हजार १२२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भ्यूटावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालयका संरचना छन् ।

भ्यूटावर सञ्चालन भएपछि मासिक ३ लाख ५० हजार आम्दानी हुने र उक्त मासिक आम्दानीबाट ६० प्रतिशत तिलोत्तमा नगरपालिका र ४० प्रतिशत शंकर नगर वन बिहार तथा अनुसन्धानको हुने गरी नगरपालिका र अनुसन्धान केन्द्रबीच आपसीसहमतिसमेत भैसकेको थियो ।
तर पूर्ण निर्माण कहिले सकिने र आम्दानी कहिलेबाट होला भन्ने विषय अनुमान पनि गर्न सकिने अवस्था छैन ।

वन बाटिकामा देनिकजसो ५ सय बढी र एक हजारको हाराहारीमा पर्यटक आउने गर्दछन् । ति पर्यटकले बनेर पनि चल्न नसकेको भ्यूटावरसंग टिकटक बनाएर हाम्रो पालामा चल्ला की नाई भ्यूटावर भन्दै व्यगें गर्ने गरेका छन् ।
टोपबहादुर रायमाझी नाम गरेका ठेकदारले निर्माणको ठेक्का पाएका थिए । उक्त भ्यूटावर निर्माण गर्ने समय अबधी पनि सकिएको छ । अहिले तिलोत्तमा नगरपालिकाले नयां ठेकदारसंग अझै सम्झौता नगरेकाले भ्यूटावर निर्माणको बांकी हरेको केही काम कहिले सकिन्छ भन्ने अझै टुंगो छैन, भने सञ्चालनको विषय अझै अन्यालमा छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा पर्ने शंकरनगर वन बिहार तथा वन वाटिका रुपन्देहीमा ठूलै पर्यटकीयस्थल मानिन्छ । जहां वनभोज, विवहा गर्ने, अवलोकन गर्ने, चिडियाखाना हेर्न आउनेको संख्या दैनिक भीड लाग्ने गर्द छ ।
वन वाटिकामा भ्यूटावर बन्न लाग्दा हामी उत्साहित भएका थियौ । लामो समयसम्म सञ्चालनमा नआउंदा खल्लो लागेको पर्यटन व्यवसायी लालबहादुर केसीले बताए ।

पहिला पनि नगरपालिकाले कमजोरी गरेको र अहिले पनि नगरपालिकाले कमजोरी गर्दा भ्यूटावर समयमा सम्पन्न भएर सञ्चालनमा आउन नसकेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसद शर्माले बताए । नगरपालिकाले आफुले पनि गर्न सक्दैन र हामीलाई पनि दिदैन अध्यक्ष शर्माले भने । नगरपालिकालाई मासिक ३ लाख बढी आम्दानी हुने दावी गर्ने पूर्वमेयर हालका संघीय सांसद एमालेका नोतासमेत रहेका वासुदेव घिमिरेले भ्यूटावर सञ्चालन हुन नसकेको विषयमा कुनै चासो देखाएका छैनन् ।

शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा चिटिक्क परेको अग्लो भ्यूटावर देखिन्छ । उक्त ठाउंमा पुग्दा जो कोहीलाई पनि एकपटक माथि चढेर हेर्ने लाग्छ, तर भ्यूटावरको तलपट्ी चापी लगाएको देख्दा अवलोकन गर्न पुगेका पर्यटक हिस्स पर्ने गरेका छन् । भ्यूटावरमा ठूलो लगानी गरेर सञ्चालन नहुंदा स्थानीयले तत्कालिनदेखि अहिलेको नगरपालिका र राजनीतिक नेतृत्वको आलोचना गर्न थालेका छन् । राज्यको लगानी लामो समयसम्म खेरा गएकोप्रति नागरिकले कुरा उठाईरहेका छन् ।

भ्यू टावरको पुरा काम सम्पन्न गर्नका लागि तिलोत्तमा नगरपालिकाले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको छ ।
तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँणले बांकी नर्माणको कामलाई सम्पन्न गर्न १ करोड बजेट विनियोजन गरिएको र निर्माणकार्य सम्पन्न आगामी वैशाख भित्र सञ्चालन गर्ने बताए ।

भ्यूटावर प्रयोगमा नआउंदा जनगुनासो बढेको छ । यसको सञ्चालनमा किन ढिलाई भएकोे छ ? के कारणले हुन सकेको छैन ? कसका कारणले रोकिएको छ ? भन्दै नागरिकले चौतर्फी आवाज उठाएपनि सुनुवाई भएकोाा छैन ।