शान्ति नमुना माविले मनायो वार्षिकोत्सव, पत्रकार भट्टराई पुरस्कृत


बुटवल, माघ ९ गते । रुपन्देहीको सबै भन्दा पुरानो मध्येको विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तिलोत्तमास्थित मणिग्राममा २००३ सालमा स्थापना भएको शान्ति नमुना माध्यमिक विद्यालयले शुक्रबार विविध कार्यक्रम गरी ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

२००३ सालमा स्थापाना व्यक्तिको घरबाट सञ्चालन गरिएको विद्यालयले केही वर्षपछि मात्रै सरकारबाट स्वीकृत पाएकाले अहिले ६७ औं वार्षिकोत्सव मनाईएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जानकारी गराए ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शान्ति नमुुनाले शिक्षामा पुराएको उच्च योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए । उनले हरेक सरकारी विद्यालयहरु शान्ति नमुना जस्तै बनाएर शिक्षालाई निः शुल्क र व्यबहारिक बनाउनुपर्ने बताउंदै तिलोत्तमाका सबै सरकारी स्कुलहरु सुधार गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्दता जनाए ।

प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशकै उत्कृष्ट विद्यालय भएतापनि विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दीको अभाव रहेकाले यस विषयमा गमभीर बन्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । शैक्षिक गुणस्तर कायम गर्नका लागि सिमित साधन स्रोतबाट विद्यालय अगाडी बढिरहेकाले शिक्षामा लगानी बढाउन सरकारसंग माग गरे ।
कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक हरिलाल अर्याल, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थी, मदन पुरस्कार विजेता निलम कार्की निहारिका, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी लगायतले विद्यालयलाई अझै राम्रो बनाउन सुझाब दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षता र शिक्षक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको उक्त वार्षिकोत्सव कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईलाई नगद १० हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ। रुपन्देहीलाई कर्मथलो बनाएर विगत ३० वर्ष यतादेखि पत्रकारितामा सक्रिय नेपाल पत्रकार महासंघ रुपन्देहीका सलाहकार भट्टराईलाई स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
त्यसतै एसएलसी, एसइइ र आधारभूत तहको अन्तिम परीक्षामा शतप्रतिशत नजिता दिन सफल ३७ जना शिक्षक, विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ३४ जना शिक्षक कर्मचारी र वार्षिक कार्यदक्षताको आधारमा १३ जना शिक्षकलाई सम्मान गरिएको छ ।
यस्तै ७ जना अक्षयकोषदाता, २० जना विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक समितिका पूर्व पदाधिकारीहरु, ४ जना वर्तमान विद्यालय व्यवस्थापन एवम् शिक्षक अभिभावक सघंका पदाधिकारीहरु र २ जना पूर्व प्रधानाध्यापकलाईसमेत सम्मान गरिएको विद्यालयले जानकारी गराएको छ । विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ७४ जना विद्यार्थीलाई सम्मान गरिनुका साथै कक्षा १२ को परीक्षामा ए प्लस ल्याउने ५९ जना विद्यार्थीलाइ विशिष्ट श्रेणी पदकसहित पुरस्कृत गरिएको छ ।
यस्तै एस.इ.इ.मा जिपिए ४ ल्याउने १४ जना विद्यार्थीलाई उत्कृष्ट श्रेणी पदकसहित र ए प्लस ल्याउने १३६ जना विद्यार्थीहरुलाई विशिष्ट श्रेणी पदक सहित सम्मान गरिएको शिक्षक दिनेश खड्काले जानकारी गराए । विद्यालयले २५ जना उत्कृष्ट अभिभावक, २७ जना वर्ष उत्कृष्ट विद्यार्थी, २५ जना अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी र विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये आइसिटि क्लव, एन्ट्रयाक्ट क्लव र पञ्चे बाजा क्लवलाई सम्मान गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने अक्सफोर्ड माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने सुनगाभा बोर्डिङ स्कुललाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त ग्रिनप्लान्ट बोर्डिङ स्कुललाइ नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडलसहित पुरष्कृत गरिएको छ ।
सात हजार विद्यार्थीले अध्ययन गर्ने बान्ति नुमना माध्यमिक विद्यालयमा अटिजम, दृष्टिबिहिन विद्यार्थीका लागि कक्षा सञ्चालन गरिएको छ । शान्ति नमुना विद्यालयमा २९ जिल्लाका विद्यार्थीले पढ्नेको गरेको विद्यालयले बताएको छ ।





















