श्रम वजार सूचना कार्यशाला गोष्ठी सम्पन्न

श्रम बजार तथ्यांक सार्वजनिक

 

 

बुटवल/उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष कामदारको माग र अवस्था सम्बन्धी श्रम बजार तथ्यांक सहित तयार पारिएको सर्वेक्षण प्रतिवेदन बुधवार रुपन्देहीमा सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, तथा होटल संघ नेपालको साझेदारीमा सञ्चालित श्रम वजार सूचना परियोजनाले श्रम बजार सूचनाको व्यवस्थित एवं एकीकृत ढंगले पहिचान गर्ने योजना सहित तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।


लुम्विनी प्रदेश उद्योग परिसंघ र रुपन्देही उद्योग संघको संयुक्त स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा नेपालमा रहेको श्रम शक्तिको अभाव र दक्ष जनशक्तिको पलायन रोक्नका लागि आवश्यक रणनीतिमा राज्यले ध्यान दिनु पर्ने कुरामा जोड दिइएको थियो ।
निजी क्षेत्रको माग अनुुसारको सिपयुुक्त जनशक्तिको उत्पादन एवं आपुुर्तिका लागि आवश्यक नीतिगत सुुधार एवं व्यवस्थातर्फ ध्यान दिन सकेमा आर्थिक समृद्धिका साथै औद्योगिक विकासमा नयाँ ढंगको परिवर्तन आउने विश्वास सहित निजी क्षेत्रका छाता संगठनहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले विश्व वजारसँगको प्रतिस्पर्धा र गुणस्तरिय उत्पादनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव झेल्दै आएका नेपाली उद्योगी व्यवसायीहरुले आफैले थालकोे श्रम सूचना परियोजनाले राज्यलाई नीतिगत सुधार गर्न आधार बन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले विभिन्न कमजोरीका कारण आश्रित, आयातित र परनिर्भरबाट माथि उठ्न नसकेको हाम्रो अर्थतन्त्रलाई सहि दिशामा अगाडि बढाउनका लागी सबैमा परिवर्तनको विजारोपण हुनुपर्ने कुरामा जोड दिनु भयो ।
अर्थमन्त्री खड्काले अधुरो र अपुरो शीप रहेको जनशक्तिले आफ्नो जिवन जोखिममा मात्र नपारेर आर्थिक उत्पादनमा पनि असर पारेको प्रति चासो व्यक्त गर्दै दक्ष जनशक्तिको अभावलाई हटाएर रोजगारी सिर्जना गर्ने काममा प्रदेश सरकार गम्भिर बनेको बताउनु भयो । उहाँले परम्परागत शिप र शैलीको हाम्रो जनशक्तिलाई बर्तमान आवश्यकता अनुसार दक्ष बनाउनका लागि कुन प्रकारको तालिम र शिप चाहिने हो त्यो रोजगारदाताहरुले माग गर्न आग्रह गर्नु भयो ।
राष्ट्र निर्माणका लागि सोंचमा परिवर्तन नआउँदासम्म आर्थिक समृद्धिको सपना पुरा हुन नसक्ने धारणा राख्दै मन्त्री खड्काले त्यस प्रकारको परिवर्तनको वाहकको नेतृत्व नीजि क्षेत्रलाई गर्न आग्रह गर्नु भएको थियो । हामीले हाम्रा पूर्खाको आत्मनिर्भरताको गौरवपूर्ण इतिहासलाई थोरै भए पनि बचाउन नसकेको भन्दै लुम्विनी प्रदेशलाई आफ्नै पहिचान र सामर्थमा अगाडि बढाउने प्रस्ताव ल्याउन उद्योगी व्यवसायीहरुलाई आहुवान गर्नु भयो ।


कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले लुम्बिनी प्रदेशको आर्थिक विकासमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई थप बृद्धिका लागि श्रम क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा जोड दिनु भयो । उहाले स्वदेशमा रोजगारको अवसरहरु बढदै गएमा औद्योगिक विकास पनि बढ्ने हुँदा त्यसका लागि श्रम क्षेत्रका समस्याहरुको पहिचान गरी त्यसको समाधानमा राज्यले ध्यान दिने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्नुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रोजगारी अभिबृद्धि, शिपयुक्त जनशक्ति उत्पादन र बजारीकरणका लागि स्थानीय सरकारले नीतिगत सुधार गरी दीर्घकालीन योजना तयार गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा परियोजनाका पि.सि.सि. सदस्य विरेन्द्रराज पाण्डेले श्रम वजार सूचना परियोजना उद्योगी व्यवसायीहरुको कार्यक्रम नभएर उद्योग व्यवसायमा रहेको श्रमको समस्याको पहिचान गर्ने तथा श्रम बजार सूचना सर्वेक्षणबाट प्राप्त दक्ष जनशक्तिबारे सरकार तथा सम्बन्धित निकाय एवं सरोकारवालाहरुलाई नीति तयार गर्न सहयोगी बन्ने औजार भएको स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा स्वागत गर्दै लुम्विनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले नेपालमा चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि राज्यलाई विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै सुुझाव दिने काम नीति क्षेत्रबाट सुरु गरिएको स्पष्ट पार्दै निजी क्षेत्रको माग अनुुसारको शिपयुुक्त जन शक्तिको उत्पादन एवं आपुुर्तिमा नीतिगत सुुधारमा जोड दिनु भयो ।


कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उद्योग क्षेत्रमा रहेको दक्ष कामदारहरुको आवश्यकता पुरा गर्नका लागि तालिम प्रदायक संस्था र सरकारले रोजगारी र रोजगादातासँग जोडेर काम गर्दै नीति बनाउन आग्रह गर्नु भयो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेको अध्यक्षता, कार्यक्र संयोजक एवं रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदी, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव दिपकराज नेपाल, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुवेदी, लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल होटल संघका केन्द्रीय सदस्य गोपाल राना र युवराज श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय एवं परियोजनाका फोकल व्यक्ती रविन कुमार श्रेष्ठ, लुम्विनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्विनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारी, निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, रुपन्देही उद्योग संघका महासचिव हरि बहादुर खत्री, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने लगायत बोल्दै नेपालमा रहेको श्रम र रोजगारको समस्यालाई सही रुपमा पहिचान गरी समाधान गर्न आग्रह गरिएको थियो ।


कार्याशालामा परियोजना प्रमुख चन्द्रकान्त अधिकारीले श्रम र रोजगारको अवस्था र आवश्यकताका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवदेनमा वहाँले प्रदेशमा आवश्यक दक्ष जनशक्तिको अभाव र उद्योग प्रतिष्ठानहरु सञ्चालनमा त्यसले पारेको प्रभावलाई तथ्याङक सहित प्रस्तुत गर्नु भएको थियो । पेश गर्नु भएको सहित राख्नु भएको थियो । परियोजना अन्तरगत रोजगारका प्रमुख ३ वटा क्षेत्रहरु निर्माण, कृषि र पर्यटन क्षेत्रमा नमुनाको रुपमा गरिएको अनुसन्धानमा आधारित समग्र देश र लुम्बिनी प्रदेशको वर्तमान अवस्था र आगामी कार्यदिशाको बारेमा गोष्ठीको अवसरमा बृहत् छलफल गरिएको थियो ।