सुस्ता बचाउ अभियानका गोपाल गुरुङ विरामी, उपचारका लागि आर्थिक अभाव

बुटवल, माघ २ गते । सुस्ता बचाउ अभियानका अभियान्ता गोपाल गुरुङ विरामी भएका छन् । भारतीय पक्षले गर्दै आएको अतिक्रमणविरुद्ध आन्दोलनको अगुवा गर्दै आएका थिए गोपाल गुरुङले ।
उनी बिरामी भएपछि उपचारका लागि आर्थिक समस्या भएपछि उपचारका लागि घरपरिवारले सहयोगको याचना गरेको छ ।
नवलपरासीको सुस्ता गाउं भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भूभाग हो । नेपाली भूमि रक्षाका लागि सुस्ता बचाउ अभियान मार्फत आन्दोलन गर्दै आएका ६२ वर्षिय गुरुङ अहिले सिकिस्त बिरामी छन् ।
विगत २४ वर्षदेखि भारतीय ज्यादतीविरुद्ध सुस्ताको नेपाली भूमि बचाउन लड्दै आएका गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार हुदै छ ।
अकस्मात मष्तिष्क घात भएपछि पोपाल गुरुङलाई अस्पताल भर्ना गरिएको उनको घरपरिवारले जानकारी गराएको छ । आर्थिक अवस्था कमजोर भएका गुरुङका परिवारले अहिलेसम्म सरसापट गरेर उपचारमा करिब ६ लाख बढी खर्चेका छन् ।आईसीयूमा उपचार हुंदै आएका गुरुङलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि गोपाल गुरुङी छोरी प्रसन्त गुरुङले सबैलाई आग्रह गरेकी छन् ।
सुस्ता बचाउ अभियानले पनि विज्ञप्ती निकालेर गोपालको उपचारमा सहयोग गर्न आव्हान गर्दै उनको नाममा बैंक खातासमेत खोलेको छ ।
अहिलेसम्म कुनै सहयोग नआएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन् ।
देशको भूमि बचाउका लागि लड्दै आएका गोपाल गुरुङ अहिले आफैलाई बचाउन आग्रह गरेकाले सरकारले उहांको उपचारमा सहयोग गर्नुपर्ने जयसवालको भनाई छ ।
नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लड्दै आएका छन् ।
२०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही २०६२ साल जेठ १७ गते गुरुङले सुस्ता बचाउ अभियान नामक समिति गठन गरेर अतिक्रमणविरुद्व अभियान चलाएका थिए ।
भारतीय अतिक्रमणबारे नेपाल सरकारलाई पटक– पटक खिखित रुपमा जानकारी गराएका गुरुङलाई भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो ।