रामकथाको विषयमा लुम्बिनीमा विवाद, माघ २४ गतेदेखि सञ्चालन हुने रामकथाको तयारी पुरा 

बुटवल, माघ २३ गते । भोली माघ २४ गतेदेखि बुद्व जन्मस्थल लुम्बिनीमा शुरु हुने रामकथाको विषयमा विवाद हुंदा सोमबार लुम्बिनी क्षेत्र अशान्ति जस्तै बन्यो ।
विश्व शान्तिको मुहान भनेर चिनिएको लुम्विनीमा रामकथा हुने विषयले लुम्बिनी अशान्त जस्तै बनेको हो ।

लुम्विनीमा आयोजना गरिएको रामकथा वाचनका बिषयमा केही बौद्ध समुदायले बिरोध जनाएपछि विवाद भएको हो ।माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन बिरोधको संकेत पाएपछि आयोजकले ३ दिनपछि सारेर भोली माघ २४ गतेदेखि फागुन ३ गतेसम्म रामकथा सञ्चालन गर्ने तयारी छ ।
श्रद्धालुको सहभागिता रहने गरी तयारी गरिएकोमा उक्त कार्यक्रम हिन्दु धर्मसंग सम्वन्धित भएको र बुद्धको जन्मस्थलमा गर्न नहुने भन्दै नेपालका केही बौद्धधर्म जोडिएका केही व्याक्ति र संस्थाहरुले बिरोध जनाउंदै आएका थिए ।

सोही क्रममा सोमबार बिहानैदेखि बिभिन्न स्थानबाट व्यानरसहित लुम्विनी पुगेको टोलीले बिरोधमा उत्रेपछि स्थानीय त्यसको प्रतिकारमा उत्रेका थिए ।
स्थानीय प्रतिकारमा उत्रेपछि केही समय लुम्बिनी क्षेत्र तनाव ग्रस्त भएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमती दिएको बताए ।

धार्मिक कार्यक्रम तथा रामकथाको कार्यक्रमबारे पत्रकार सम्मेलनबाट जानकारी गराएपछि जनजाती महासंघका नेता आङकाजी शेर्पा र बिशवेन्द्र पासवानले रोक्न दवाव दिएको लुम्विनी बिकासकोष श्रोतले जानकारी गराएको छ ।
विरोधका वावाजुद पनि रामकथा भोली माघ २४ गतेबाट शुरु हुने र सबै तयारी पुरा भएको आयोजकहरुले बताएका छन् ।