मनाईयो शहीद लखन थापाको स्मृति दिवस

बुटवल, फागुन २ गते । शहीद लखन थापा मगरको १ सय ४६ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
नेपाल मगर संघ, रुपन्देही र प्रथम शहीद लखन थापामगर अक्षयकोष रुपन्देहीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै स्मृति दिवस मनाउंदै आएका छन् ।
रुपन्देहीको बुटवलमा सबै जस्तै अहिलेपनि विशेष कार्यक्रमको आयोजना गरी शहीद लखन थापा मगरको स्मृति दिवस मनाईएको छ ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शहीदको सपना साकार पार्नुको विकल्प नभएको बताए ।

 


परिवर्तनलाई संस्थागत गर्नका लागि शहीदको वलिदानलाई आत्मसाथ गर्नुपर्ने बताउंदै शहीद लखन थापा मगर जनताको शासन व्यवस्था ल्याउनका लागि वलिदान दिएको उहांले बताए ।
वि.स.१८९१ सालमा गोर्खा बुङ्कोटमा जन्मिएका थापा मगरले तत्कालिन समयमा जहानीया राणा शासनविरुद्ध विद्रोह गरेका थिए ।
जहानीया राणाशासन विरुद्व जनतालाई संगठित गर्दै लखन थापा मगरले आन्दोलनको अगुवाई गरेका थिए ।

वि.स. १९३३ साल फाल्गुण २ गते गोर्खाको बुङ्कोटमै जङ्गबहादुर राणाको निर्देशनमा खटिएको फौजले खिर्राको रुखमा झुन्ड्याएर लखन थापा मगरलाई फांसी दिएको थियो ।
लखन थापा मगरलाई २०७२ असोज ३ गतेको मन्त्रीपरिषद्को बैठकले नेपालको प्रथम शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्को बैठकले शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गर्ने निर्णय गरेपनि उक्त निर्णय व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिएको छ ।