संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ – राजमो

बुटवल, चैत्र १३ गते । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ ।
संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरुले बताएका छन् ।
सोमबार रुपन्देहीको बुटवलमा संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।

विभिन्न नारासहित बुटवलको वसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको वताउंदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।
संघीयता विरुद्दको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने – संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन् ।

महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई सांझ विहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रुपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैमा बेठिक नभएपनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रुपमा सानो देश नेपालले आर्थिक रुपमा संघीयता थेग्न नसक्ने बताउंदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।

हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी,मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।
इन्द्रिरा अर्यालको अध्यक्षता र रुपन्देही सचिव टानबहादर केसीको सञ्चादनमा कार्यक्रम भएको थियो ।