अर्घाखांची खांचीकोटको चुनढुंगा उत्खनन रोक्न स्थानीयको माग

अर्घाखांची, चैत्र १९ गते । अर्घाखांचीको सन्धिखर्क नगरपालिका खांचीकोटस्थित तिनपानेमा भइरहेको चुनढुंगा उत्खनन रोक्न स्थानीयले माग गरेका छन् ।
स्थानीय सरोकारवालाले उत्खननको काम तत्काल बन्द गर्न कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । चुनढुंगा उत्खनन् शुरु हुने भन्ने थाहा पाएदेखि स्थानीयले उत्खनन्को विरोध गर्दै आएका छन् ।
वन जंगल नष्ट हुनुका साथै पर्यावरणमा असर पर्ने र पानीका मुहान सुक्ने भएकाले चुन ढुंगा उत्खनन् रोक्न लागिएको स्थानीय शेरबहादुर विसीले बताए ।
भूगर्भ सिमेन्टको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा पर्यटकीय सम्भावनालाई पनि ख्याल नगरी उत्खनन गरी कुरुप बनाउन खोजिएको स्थानीयको आरोप छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदमबहादुर केसी, नेपाली कांग्रेसका जिल्ला सदस्य गोपाल भुसाल, एमाले नगर कमिटी सदस्य दुमान थापा, राजमो सन्धिखर्क नगर सचिव वसन्त खड्का, स्थानीय विष्णु थापा लगायत विभिन्न दलका नेताहरुले चुनढुंगा उत्खनन तत्काल रोक्न माग गरेका छन् ।
सम्बन्धित पक्षले चुन ढुंगा उत्खनन् तत्काल नरोक स्थानीयले आफै बन्द गराईदिने चेतावनी दिएका छन् ।

स्थानीय जनताको समस्यालाई बेवास्था गरेर चुनढुंगा उत्खन्नबाट ठूलो आर्थिक लाभलिने चलेखेल भएकाले उत्खनन् कार्य तत्काल नरोकिए आन्दोलनमा उत्रने स्थानीय टेकराज भुसालले बताए ।
भुगर्व सिमेन्ट प्रालिले २०६७ सालदेखि चुन ढुंगा उत्खनन् गर्न लागेपछि वन जंगल नष्ट हुंदै गएको, खानेपानीका मुहान सुकेका र जंगली जनावर र चराचुरुङी विस्थापित भएको स्थानीयले बताएका छन् ।
त्यस्तै अर्घाखांचीमा रहेको धार्मिकस्थल सुपादेउराली मन्दिरपनि चुनढुंगा उत्खनन् भैरहेको ठाउंबाट एक किलो मिटरको दुरीमा भएकाले उक्त धार्मिकस्थल तथा मन्दिर पनि प्रभावित हुने छ ।