बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिने

बुटवल, चैत्र १९ गते । सिद्दार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि यही चैत्र २१ गते मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।

 


निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुंगाहरु पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउंसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आईतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने र सडकमा एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने बताईएको छ ।