बुटवलमा हुने प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलनको तयारी पूरा

बुटवल, चैत्र २३ गते । प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
यही चैत्र २४ र २५ गते प्रथम राष्ट्रिय बुटवलमा हुदै छ । बुटवलमा हुने राष्ट्रिय सम्मेलनको उद्घाटन चैत २४ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको प्रगतिशील पत्रकार संघ, नेपालका संयोजक श्यामलाल पोखरेलले जानकारी गराउनु भएको छ ।
बुटवलस्थित होटल मेरिगोल्डमा आयोजना हुने दुई दिने राष्ट्रिय सम्मेलनले संघको विधान र घोषणा पत्र पारित गर्नेछ भने नयाँ नेतृत्व चयन गर्नेछ ।

‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनको उद्घाटन सत्रमा विभिन्न जनवर्गीय संगठन तथा भाइचार संघसंगठनहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।

सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहने प्रगतिशील पत्रकार संघ, नेपालका सचिव प्रकाश थापाले जानकारी गराउनु भएको छ ।